सुनको अवैध तस्कर गर्ने समूह वा व्यक्तिले नयाँ–नयाँ तौरतरिका अपनाउने क्रम जारी रहेपछि त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले पनि आयात हुने मालवस्तुको निरीक्षण गर्ने शैली तथा रणनीतिलाई परिष्कृत गर्न थालेको छ ।
यसैक्रममा आज मिति ०७९ असार २० गते सोमबार बिहान करिब ११ बजे दुवईबाट काठमाडाैं आएका एकजना यात्रुले आफ्नो साथमा लिएर आएको लगेज चेकजाँच गर्ने क्रममा उक्त लगेजभित्र राखिएको नाबालकले लगाउने सिंगल पिस पोसाक पाँच थानको टाँक (स्टिल बटन) भित्र लुकाइछिपाई राखिएको ६० वटा सुनका रिङ फेला पारेको छ । त्यस्तो मालवस्तुसहित सम्बन्धित यात्रुलाई भन्सार कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जनाएको छ। त्यसरी नियन्त्रणमा लिएको सुनको तौल करिब एक सय २५ ग्राम रहेको छ ।
सुमन दमाईं नाम गरेका ती यात्रु भिजिट भिसामा दुवई गएको र काम गर्ने अवसर नपाएर नेपाल फर्कने क्रममा दुवई एयरपोर्टमा अपरिचित व्यक्तिले आफन्तको बच्चाका लागि उपहारको रूपमा उक्त पोसाकहरू नेपालसम्म पुर्याइदिन अनुरोध गरेको हुँदा ल्याइदिएको बताएका छन्। त्यसरी फेला पारेको सुन स्टिल बटनको भित्री भागमा फिट गरी राखिएको र झट्ट हेर्दा फलामको टुक्राजस्तै देखिने किसिमको रहेको छ। सामान्यतया एउटा धातुभित्र अर्को धातु लुकाइछिपाई ल्याउँदा पहिचान गर्न कठिन हुन्छ भनेर नै योजनाबद्ध ढंगबाट बटनभित्र सुनलाई फिट गरी पठाइएको हुन सक्ने कार्यालयले जनाएको छ । हाल नियन्त्रणमा रहेका यात्रु सुमनको मात्र घटनामा संलग्नता छ वा अन्य व्यक्तिको पनि संलग्नता छ भन्नेबारे अनुसन्धान भइरहेको छ ।
भन्सार कार्यालयले सामान्य परिचित तथा अपरिचत मानिसले टर्चलाइट, आइरन, मिक्सचर, रेडियो, स्पिकर, पानी तान्ने मोटरलगायतका सामग्री पठाउँदा सावधानी अपनाउनसमेत अनुरोध गरेको छ । त्यस्तो मालवस्तुमा अन्य कुनै अवैध वस्तु लुकाइएको छैन भन्ने सुनिश्चित नभएसम्म अरू कसैको मालवस्तु नलिन र नल्याउन यात्रुहरूलाई भन्सार कार्यालयले अनुरोध गरेको हो।