काभ्रे । राष्ट्रिय दिगो पर्यटन क्लब बागमती प्रदेशको दुईदिने क्षमता अभिवृद्धि तथा गन्तव्य प्रवर्द्धन कार्यक्रम होटल सारथी, धुलिखेलमा सम्पन्न भएको छ। यो क्लब नेपाल पर्यटन बोर्ड तथा पर्यटन अनुसन्धान तथा प्रशिक्षण संस्थाको सहकार्यमा विद्यालय तथा कलेजहरूमा स्थापना गरिएको हो।
पर्यटन अनुसन्धान तथा प्रशिक्षण संस्थाको आयोजनामा नेपाल पर्यटन बोर्ड, दिगो पर्यटन परियोजना तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम र ग्लोबल ट्राभल एण्ड टुरिजम पार्टनरसिप नेपालसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिएको थियो।
कार्यक्रममा होटल सारथी आतिथ्य साझेदारका रूपमा रहेको थियो। कार्यक्रममा बागमती प्रदेशका विभिन्न विद्यालयका क्लब पदाधिकारी, पर्यटन विज्ञ, नेपाल पर्यटन बोर्डका प्रतिनिधि तथा होटल सारथीका पदाधिकारीहरूको सहभागिता थियो।
कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै धुलिखेल नगरपालिकाका कार्यवाहक नगर प्रमुख निराजन जङ्गमले राष्ट्रिय दिगो पर्यटन क्लबको पहलले विद्यार्थीहरूमा पर्यटन, वातावरण, संस्कृति तथा सम्पदा संरक्षणप्रतिको चेतना अभिवृद्धि गर्दै नेतृत्व र जिम्मेवारीको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेलेको बताए। उनले धुलिखेलका विद्यालयहरूमा समेत यस अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाउन स्थानीय तहबाट सहकार्य गर्ने बताए।
कार्यक्रममा क्लबको हालसम्मको प्रगति, क्लब सञ्चालन तथा सुशासन, विद्यार्थी नेतृत्व, पर्यटन शिक्षा, दिगो पर्यटन, गन्तव्य अनुभव तथा समुदायसँगको सहकार्यका विषयमा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएका थिए। सहभागीहरूले आफ्ना अनुभव, चुनौती र आगामी प्राथमिकतामाथि समूहगत छलफल गर्दै क्लबको मार्गचित्र २०२७ का लागि आवश्यक कार्यदिशा पहिचान गरेका थिए।
कार्यक्रममा पर्यटन विज्ञ डा. बसन्त जोशी, आइटा प्रशिक्षक प्रेम दनुवार र होटल सारथीका महाप्रबन्धक मिलन श्रेष्ठले आफ्ना सफलताका कथा सुनाउँदै सहभागीहरूलाई पर्यटन, नेपालमा पर्यटनको महत्व तथा विद्यार्थी र शिक्षकले विद्यार्थीहरूलाई पर्यटनका विषयमा सिकाउनुपर्ने विषयवस्तुका बारेमा जानकारी गराए।
सो अवसरमा सहभागीहरुले ‘धुलिखेल घोषणा’मार्फत राष्ट्रिय दिगो पर्यटन क्लबलाई अझ सक्रिय, दिगो, व्यवस्थित र विद्यार्थी–केन्द्रित बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका छन्। घोषणाले क्लबको संस्थागत सुदृढीकरण, नियमित पर्यटन तथा दिगो विकाससम्बन्धी गतिविधि, विद्यार्थी नेतृत्व विकास, सिकाइ तथा अनुभव आदान–प्रदान र स्थानीय समुदायसँगको सहकार्यलाई प्राथमिकता दिएको बताइएको छ।