काशीराम भण्डारीले ल्याए परदेशीको पीडा र गाउँको सम्झना बोकेको ‘देशै पियारो’

सोमबार, १९ असोज, २०८३
डिजिटल संस्करण

काठमाडौं/ बाध्यताले आफ्नो गाउँ, घर–आँगन र मातृभूमि छोडेर परदेसिनुपरेका नेपालीहरूको पीडा, संघर्ष र जन्मभूमिप्रतिको प्रेमलाई समेटिएको गीत ‘देशै पियारो’ सार्वजनिक भएको छ। 

सर्जक काशीराम भण्डारीको प्रस्तुतिमा आएको ‘देशै पियारो’ ले परदेशमा रहेर परिवारको सुख, भविष्य र जीवनयापनका लागि दुःख तथा पसिना बगाइरहेका नेपालीहरूको भावनालाई गीतमार्फत प्रस्तुत गरेको छ।

गीत भण्डारीकै युट्युब च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो।  


गीतकार तथा कलाकार काशीराम भण्डारी नेपाल कल्याण समाज जापानका वरिष्ठ उपाध्यक्षसमेत हुन्। जापानमा रहेर सामाजिक क्षेत्रमा समेत सक्रिय भण्डारीले आफ्नो सिर्जनामार्फत परदेशी नेपालीको भावना, गाउँघरको सम्झना र मातृभूमिप्रतिको आत्मीयतालाई अभिव्यक्त गर्ने प्रयास गरेका छन्। 

परदेशमा जति नै धन–दौलत कमाइए पनि आफ्नै गाउँको माटो, घर–आँगन र बाल्यकालका सम्झनाहरू मनबाट टाढा नहुने भाव गीतमा समेटिएको सर्जक भण्डारी बताए। विशेष गरी आटो ढिँडो, रोटी, गुन्द्रुकको झोल र गाउँघरको आत्मीयतालाई परदेशी जीवनको सम्झनासँग जोडिएको उनको भनाइ छ।

‘देशै पियारो’मार्फत परदेशी जीवनको भौतिक संघर्षसँगै मनभित्र सधैँ जीवित रहने गाउँ, आफ्ना मान्छे र माटोको मायालाई प्रस्तुत गरिएको छ। 

गीतमा गायक सरोज  विरही कार्कीको आवाज रहेको छ। संगीत संयोजन पनि कार्कीको नै रहेको छ भने यस्को मिक्सिङ मनोज परियारले गरेका छन्। मिलन श्रेष्ठले निर्देशन गरेको म्युजिक भिडिओको मुख्य अभिनयमा काशीराम भण्डारी र समीक्षा सापकोटालाई देख्न सकिन्छ।

सुझावित समाचार