गठबन्धन सरकारसँग काम गर्ने क्षमता र इच्छाशक्ति छैन : योगेश भट्टराई

बुधबार, ४ जेठ, २०७९
डिजिटल संस्करण

एमालेका सचिव योगेश भट्टराईले वर्तमान सरकार जति समय रह्यो त्यति नै समयको बर्बादी हुने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै भट्टराईले यस्तो बताएका हुन्। 

उनले वर्तमान गठबन्धन सरकारसँग काम गर्ने  क्षमता र इच्छाशक्ति दुवै नभएको आरोप लगाए। भट्टराईले सरकारलाई राज्य संयन्त्रले समेत नपत्याएको आरोप लगाए। उनले अर्थमन्त्री जनार्दन शर्माले प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने भनेर निर्देशन गरे पनि १० महिनामा ३० प्रतिशतभन्दा बढी खर्च गर्न नसकेको बताए। भट्टराईले अर्थमन्त्री शर्मालाई अबको तीन महिनामा पुँजीगत खर्चको लक्ष्य कसरी निर्धारण गर्न सक्नुहुन्छ भनेर प्रश्नसमेत गरे।

उनले संविधानले समाजवादउन्मुख अर्थतन्त्रको कुरा गरे पनि सरकारको प्राथमिकता समाजवादकेन्द्रित नदेखिएको बताए। अर्थमन्त्रीले सिद्धान्तहीन बजेटको तयारी गरेको भन्दै भट्टराईले सार्वजनिक शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन माग गरे। भट्टराईले अघिल्लो सरकारले तीन सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि बजेट छुट्याएको, तर अहिलको अर्थमन्त्री त्यसबारे केही बोल्न नसकेको आरोप लगाए।

उनले अर्थमन्त्री  समाजवादको गफ दिने र काम अर्कोतिर गर्ने गरेको आरोप लगाए । अघिल्लो सरकारले ल्याएका राष्ट्रिय गौरवका आयोजना, ठूला पूर्वाधार निर्माण र रोजगारी सिर्जना गर्ने कार्यक्रमलाई सरकारले नजरअन्दाज गरेको भट्टराईले बताए। उनले कोभिडका कारण धराशायी बनेको पर्यटन क्षेत्रलाई नयाँ शिराबाट सुधार गरेर विदेशी मुद्राको सञ्चिति बढाउन सकिने धारणा राखे। 

गठबन्धन सरकारले एमसिसी र बिआरआई जस्ता परियोजनालाई गिजोल्ने काम गरेर अन्तर्राष्ट्रिय विश्वास घटाएको भट्टराईको आरोप छ। युवालाई रोजगारीको अवसर दिनेभन्दा ‘मलेसिया पठाइदिने’ नीति सरकारले लिएको भन्दै उनले अर्थतन्त्र सुधार्न सरकारले कुनै उपाय दिन नसकेको बताए। 
 

सुझावित समाचार