क्यान एक्स्पोमा चार लाख आउने अनुमान छ : नवराज कुँवर

बुधबार, ७ बैशाख, २०७९
डिजिटल संस्करण

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान)ले प्रत्येक वर्ष क्यान इन्फोटेक आयोजना गर्दै आएको छ । क्यानले सन् १९९५ देखि एक्स्पोको सुरुवात गरेको हो । कोरोनाको कारणले गत दुई वर्ष क्यानले महोत्सव गर्न सकेन । विश्वभरि सूचना प्रविधिमा कस्तो खालको परिवर्तन र विकास भयो भन्ने कुरालाई एउटै थलोबाट जानकारी दिने उद्देश्यले क्यानले एक्स्पोको सुरुवात गरेको हो । प्रवेश शुल्क एक रुपैयाँ तोकेर आयोजना हुन लागेको क्यान इन्फोटेकको विविध विषयमा क्यानका अध्यक्ष नवराज कुँवरसँग नयाँ पत्रिकाकर्मी मुना कुँवरले गरेको कुराकानी :
 
दुई वर्षपछि हुन लागेको क्यान इन्फोटेकमा नयाँ केही आउँछ कि परम्परागत नै हो ?  
विश्वमा प्रविधि मात्रै यस्तो चिज हो, जुन दिन–प्रतिदिन परिवर्तन भइरहन्छ । विशेष गरी प्रविधिको सफ्टवेयर र हार्डवेयरमा भएको परिवर्तन देख्न सकिन्छ । हार्डवेयरको बनावट र क्षमतामा फरक पाउन सकिन्छ । साइजमा पनि फरक भेटिन्छ । हिजो एउटै हार्डडिक्स ब्यागमा बोकेरे हिँड्नुपर्ने थियो भने आज पकेटमा बोकेर पनि जान मिल्छ । सफ्टवेयरको सन्दर्भमा भने अपडेटेड भर्सन र फिचरहरूमा धेरै फरक छ । कतिपय कुराहरू प्रयोग गरेपछि मात्र थाहा हुने हो । हार्डवेयरमा भने फिचरबेसमा नयाँ प्रविधि यस मेलामा देख्न पाइन्छ । त्यसैले प्रविधि मेला परम्परागत भन्ने हुँदैन ।

एक्स्पोले विशेष गरी दुईवटा कुरालाई केन्द्रित गरेको छ । जसले सूचना प्रविधि प्रयोग गरिरहेको छ, उसले आफू अपडेट हुन पाउँछ भने अर्को सूचना प्रविधिबारे जानकारी पाएर पनि प्रयोग गर्न पाएको छैन, उसले प्रविधिको प्रयोग कसरी गर्ने, कुन–कुन क्षेत्रमा के–के विकास भएका छन् भन्ने कुराहरू पनि उसले देख्न पाउँछ र आफूले पनि सिक्न पाउँछ । 

नेपालमा सूचना प्रविधिका कुनै उद्योगहरू छैनन् । हामीले तेस्रो मुलुकमा नै निर्भर रहनुपर्ने हुन्छ । यहाँ भएका हार्डवेयरका सामानहरू पनि विदेशी नै हुन् । सबै बाहिर नै बनेर आउने हुन् । तर, स्वदेशीको सन्दर्भमा भने पछिल्ला दिनहरूमा नेपालमा सफ्टवेयर कम्पनीहरू धेरै स्थापना भएका छन् । स्टार्टअप र इन्नोभेसन पनि धेरै सुरु गरेका छन् । स्टार्टअप र इन्नोभेसनबाट बनाइएका सफ्टवेयरलाई भने सुरक्षित रूपमा हेर्न सकिन्छ । हार्डवेयरको सन्दर्भमा भने नेपालमा कुनै उद्योग तथा कम्पनी नभएको हुनाले सबै विदेशी नै रहेका छन् । 

यस वर्षको मेलामा एक सय ७० स्टल हुनेछन् । अहिलेको इन्फोटेकमा ब्रान्डिङलाई महत्व दिएका छाैँ । भित्रको हलमा ब्रान्डिङ स्टलहरू रहनेछन् । बाहिर स्टार्टअप र इन्नोभेसनलाई पनि महत्व दिएका छौँ । भित्रतिर सफ्टवेयर, हार्डवेयर र पेमेन्ट गेटवेलगायतका ठूला हलमा ६५ वटा स्टलहरू रहनेछन् । कतिजनाले अवलोकन गर्ने अनुमान छ ? 

यस वर्ष चार लाखले अवलोकन गर्ने अनुमान गरेका छौँ । २६औँ इन्फोटेकमा करिब तीन लाख ५० हजारले अवलोकन गरेका थिए । त्यो तथ्यांकलाई आधार मान्दा अहिले त्यसभन्दा बढी नै हुने अनुमान गरेका हौँ । यो इन्फोटेक दुई वर्षपछि हुन लागेको र कोरोनाको बीचमा सूचना प्रविधि के हो भन्ने कुरा आममानिसले पनि बुझिसकेकाले अवलोकनकर्ता पक्कै बढ्छन् । पहिले सूचना प्रविधि प्रयोग नगर्नेले पनि कोरोनाको समयमा यसको महत्व बुझेर प्रयोग गर्न थालिसकेका छन् । त्यसकारण उनीहरूले आफूलाई अपडेट गर्नका निम्ति पनि यो एक्स्पोलाई अवलोकन गर्ने अपेक्षा गरेका छौँ । 

२६औँ इन्फोटेकमा करिब तीन लाख ५० हजारले अवलोकन गरेका थिए । त्यो तथ्यांकलाई आधार मान्दा अहिले त्योभन्दा बढी नै हुने अनुमान गरेका हौँ । यो इन्फोटेक दुई वर्षपछि हुन लागेको र कोरोनाको बीचमा सूचना प्रविधि के हो भन्ने कुरा आममानिसले पनि बुझिसकेकाले अवलोकनकर्ता पक्कै बढ्छन् ।

नेपालमा सूचना प्रविधिको क्षेत्रमा पनि पर्याप्त रोजगारी नभएको हो ?  
अहिलेको परिपे्रक्ष्यमा सूचना र प्रविधिसँग सम्बन्धित जनशक्ति नेपालमा पर्याप्त छन् । तर, नेपालमा रोजगारी सिर्जना हुन नसक्दा यस्ता दक्ष जनशक्ति बिदेसिएका छन् । हामीले सरकारसँग सूचना प्रविधिसँग सम्बन्धित उद्योग नै सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थियौँ । विदेशी कम्पनीहरूलाई पनि सरकारले कर छुटदेखि लिएर अन्य सुविधा दिएर नेपालमा भित्र्याउन सकिन्छ । ती कम्पनीहरूमा नेपालको जनशक्तिले पनि रोजगारी पाउन सक्छन् ।

यसका साथै सरकारले सरकारी कामकाजमा पनि नेपाली सफ्टवेयरलाई प्रयोग गर्नुपर्छ । यदि भनेजस्तो सफ्टवेयर छैन भने सरकारले लगानी गरेर भए पनि उत्पादन गर्नुपर्छ । त्यसकारण नेपालको पैसा बिदेसिनबाट पनि रोकिन्छ र देशमा स्वरोजगार पनि गर्न सकिन्छ । अहिलेको अवस्था हेर्ने हो भने नेपालले सूचना प्रविधिको क्षेत्रमा धेरै नै रोजगारीको सिर्जना गर्न सक्छ । तर, निजी क्षेत्रलाई पनि सूचना प्रविधिमा आबद्ध गराउन सरकारले लगाम लगाउने र सरकारी कार्यालयहरूमा पनि सूचना प्रविधिलाई प्रयोगमा बढी ल्याउने हो भने दक्ष जनशक्ति र रोजगारी सिर्जना गर्न सकिन्छ । 

यो क्षेत्रप्रति सरकारको दृष्टिकोण कस्तो छ ?
सरकारले अझै पनि प्रविधिलाई अत्यावश्यक रूपमा लिएजस्तो लाग्दैन । कोरोना संक्रमणमा प्रविधिले खेलेको भूमिकाले आममानिसमा यसको महत्व बढेको वास्तविकता त सरकारले पनि बुझेको हुनुपर्छ । तर, यो क्षेत्रमा राज्यले खेल्नुपर्ने भूमिका खेलेको छैन । सरकारले अरू विकासको बजेट छुट्याएजस्तो सूचना प्रविधिका लागि भनेर ठूलो रकम विनियोजन गरेको छैन । 

क्यान महासंघले चाहिँ के गर्छ ?
क्यान महासंघको मुख्य उद्देश्य भनेको आममानिसमा प्रविधिसम्बन्धी जनचेतना नै फैलाउने हो । सरकारले बनाएको नीति–नियमको क्षेत्रभित्र रहेर हामीजस्ता संघ–संस्थाले आमजनता, उद्योगी, शिक्षा र पर्यटनको क्षेत्रको बीचमा कसरी सूचना प्रविधिलाई प्रयोग गर्न सकिन्छ भन्नेबारे सचेत गराउने हो । क्यान महासंघले ७७ वटै जिल्लामा शाखा विस्तार गरेको छ । हरेक जिल्लामा केही न केही सूचना प्रविधिका गतिविधि गर्दै आएको पनि छ । 

सरकारले के गर्नुपर्छ ? 
सरकारले दिने सेवाहरूलाई डिजिटलाइजेसन गर्ने र सेवा लिनेहरूलाई पनि डिजिटल शिक्षाबारे बताउनुपर्छ । त्यसरी नै ज्येष्ठ नागरिकहरूमा सूचना प्रविधिको विकास गर्नका निम्ति स्थानीय तह, प्रदेश सरकार र संघले जसले गरे पनि डिजिटल शिक्षा र सूचना प्रविधि साक्षरता अभियान सञ्चालन गर्नुपर्छ ।

सुझावित समाचार