काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता गोविन्द थपलियालाई ३ प्रश्न

आइतबार, २५ असोज, २०८३
प्रिन्ट संस्करण

काठमाडौं उपत्यकाको चाडबाडलक्षित सुरक्षा योजना कस्तो छ ?
चाडबाडका वेला अन्य अवस्थामा भन्दा आपराधिक घटना बढी हुन्छन् । त्यसकारण पनि नेपाल प्रहरीले सरोकारवालासँग समन्वय गरेर हरेक वर्ष चाडबाडलक्षित सुरक्षा योजना तयार गरी लागू गर्दै आएको छ । यस वर्षको चाडपर्व सुरक्षा योजना पनि तय भइसकेको छ । सो योजना १८ असोजदेखि नै लागू भई प्रहरी परिचालन भइरहेको अवस्था छ । चाडबाडको वेला सम्भावित आपराधिक घटना रोक्न उपत्यकामा मात्रै आठ हजारभन्दा बढी ‘डेडिकेटेड’ प्रहरी परिचालन भएको अवस्था छ । अन्य अवस्थामा भन्दा यो अवस्थामा प्रहरी बढी खटिएका छन् । उनीहरूले सर्वसाधारणले ढुक्क भई चाडबाड मनाउने वातावरण सिर्जना गर्नतिर ध्यान दिइरहेको अवस्था छ ।

चाडबाडका वेला कस्ता–कस्ता आपराधिक घटना बढी हुने गरेका छन् ?
चाडबाडमा विशेषगरी चोरी, लुटपाट, ठगीजस्ता घटना बढी हुन्छन् । अझ चर्को मूल्यमा सामान तथा वस्तु बेच्ने, बजारमा कृत्रिम अभाव सिर्जना गर्ने, लामो तथा छोटो दूरीका सार्वजनिक यातायातमा आवतजावत गर्ने यात्रुलाई दुःख दिनेलगायत घटना बढी हुने गरेका देखिन्छन् । यसबाहेक जुवातास र झैझगडाका घटना पनि हुन्छन् । अझ पछिल्लो समय त अनलाइनका माध्यमबाट ठगी गर्ने क्रम पनि बढेको छ ।

त्यस्ता घटनालाई रोक्न प्रहरीको तयारी कस्तो छ त ? 
एयरपोर्टदेखि उपत्यकाका तीनवटै जिल्लामा गरी ३७ वटा हेल्प डेस्क स्थापना भइसकेका छन् । यातायात व्यवसायीसँग आवश्यक समन्वय तथा सहजीकरण पनि गरिरहेका छौँ । ड्रोन र सिसिटिभी मनिटरिङ बढाएका छौँ । तालिम प्राप्त कुकुर परिचालन पनि भइरहेका छन् । साइबरसम्बन्धी अपराध, स्क्यामका घटना, आर्थिक अपराधका घटना रोक्न साइबर ब्युरोको टोली पनि परिचालन भइसकेको छ । टोलीले विशेषगरी अनलाइनमार्फत निगरानी राख्ने गरेको छ । 

सुझावित समाचार