राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीलाई ३ प्रश्न

मंगलबार, २७ असोज, २०८३
प्रिन्ट संस्करण

डेढ महिनामा आएका तीन ठुला प्राकृतिक विपत्ले के संकेत गरेका छन् ?
नेपाल प्राकृतिक विपत्जन्य जोखिमयुक्त स्थानमा रहेको देश हो । त्यसैले, हामी जहिल्यै सचेत रहनुपर्छ । जलवायु परिवर्तनका कारण हाम्रा हिमाल तात्दै गएका छन् । हिमालको हिउँ व्यापक परिमाणमा पग्लिँदै गएको छ । यसबाट अहिले भइरहेका हिमतालमा पानीको मात्रा निकै बढ्दै गएको छ भने नयाँ–नयाँ हिमताल बन्ने क्रम पनि बढेको छ । यस्ता हिमताल विस्फोटबाट नदीमा ठुलो पानी एकैसाथ आउँदा त्यसले तल्लो तटीय क्षेत्रमा निकै ठुलो क्षति पुर्याउँदै आएको छ । यसले गर्दा हामीले हिमालतिर निरन्तर सूक्ष्म निगरानी गरिरहनुपर्ने संकेत गरेको छ । साथै, सीमापार सूचना आदानप्रदान प्रणालीलाई पनि प्रभावकारी बनाउनुपर्ने देखिन्छ । 

यस्ता विपत्बाट हामीले कस्तो पाठ सिक्नुपर्छ ? 
यस्ता ठुल्ठुला प्राकृतिक विपत्का घटनाबाट पनि हामीले समयमै पाठ सिक्न सकेनौँ भने भविष्यमा ठुलो मूल्य चुकाउनुपर्ने अवस्था आउन सक्छ । त्यसैले, हिमाली क्षेत्रमा चौबिसै घण्टा अनुगमन गर्ने प्रणाली स्थापित गर्नुपर्छ । साथै, नदीकिनारका बस्तीको अवस्थाबारे ‘रिस्क म्यापिङ’ गरी जोखिमयुक्त स्थानका बस्ती स्थानान्तरण गर्नुपर्छ । जलविद्युत् आयोजनाको सुरक्षाबारे हामीले ठुलो सतर्कता अपाउनुपर्ने हुन्छ । बनिसकेका आयोजनाको सुरक्षा पनि चुनौतीपूर्ण छ । साथै, बनिरहेका र भविष्यमा बन्ने विद्युत् आयोजनाहरूको सुरक्षाबारे पनि विशेष सचेत हुनुपर्छ ।  

विभिन्न नदीकिनारमा रहेका ठुला बस्ती स्थानान्तरण गर्न कति सम्भव होला ?
मानव सभ्यताको विकास नै नदीकिनारमा भएको हुनाले संसारभर नै प्रायः नदीनालाका किनारमा ठुल्ठुला बस्ती बसेका छन् । हामीकहाँ पनि अवस्था त्यस्तै छ । तर, हाम्रा नदीनाला हिमालदेखि बग्ने भएकाले तिनले कुनै पनि वेला विनाशकारी रूप धारण गर्न सक्छन् । त्यसैले, जोखिम नक्सांकन गरी अति जोखिममा रहेका बस्ती स्थानान्तरण गर्ने, अन्य बस्तीमा प्रभावकारी पूर्वसूचना प्रणाली जडान गर्ने र त्यस्ता स्थानमा नयाँ बस्ती नबसाउनेतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।

सुझावित समाचार