श्रीलंकाका नयाँ अर्थमन्त्रीद्वारा एकदिनमै राजीनामा

मंगलबार, २२ चैत, २०७८
डिजिटल संस्करण

श्रीलंकाका नवनियुक्त अर्थमन्त्रीले एकैदिनमा राजीनामा दिएका छन्। सोमबार बेलुका अर्थमन्त्रीमा नियुक्त भएका अली साब्रीले २४ घन्टा पनि पूरा नहुँदै मंगलबार बिहान राजीनामा दिएका हुन्।

सोमबार उनीसँगै अन्य तीन मन्त्रीले शपथग्रहण गरेका थिए। तत्कालीन मन्त्रीहरूले राजीनामा दिएपछि राष्ट्रपति गोटाबाय राजापाक्षेले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए। अहिलेको संसदभन्दा बाहिरका व्यक्तिहरू सहभागी भएर स्वतन्त्र व्यक्तिहरूको अन्तरिम सरकार बनाउनुपर्ने माग राख्दै साब्रीले राजीनामा दिएका हुन्। त्यसका लागि संसद् सदस्य भएकाहरूलाई राजीनामा गराएर भए पनि जिम्मेवारी दिन सकिने उनको भनाइ छ।

तर, राष्ट्रपतिले भने अहिलेकै सरकारलाई पुनर्गठन मात्रै गर्न थालेपछि आफू त्यसमा सहमत नभएर राजीनामा दिएको साब्रीले स्पष्ट पारेका छन्। देशको अर्थतन्त्र चरम संकटमा पुगेपछि अभाव र समस्या सिर्जना भएको भन्दै आमनागरिक आन्दोलित भएका छन्। उनीहरूको आन्दोलनलाई दबाउन सरकारले संकटकालसँगै कर्फ्यु जारी गरेको थियो।

आर्थिक संकटसँगै राजनीतिक संकट पनि गहिरिँदै गएपछि तत्कालीन सबै मन्त्री र केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिइसकेका छन्। सरकारमा प्रधानमन्त्री मात्रै रहेपछि राष्ट्रपति राजापाक्षेले सरकारमा सहभागी हुन अन्य दलका नेताहरूलाई आह्वान गरेका थिए। उनकै आह्वानअनुसार संकट समाधान गर्ने अठोटसहित मन्त्री बनेका व्यक्तिले पनि राजीनामा दिने क्रम सुरु भएको हो। रासस/सिन्ह्वा

सुझावित समाचार