वासिंटन डिसी/ विभिन्न अमेरिकी सञ्चार माध्यमका अनुसार शान्ति वार्ता पुनः सुरु गर्ने अन्तिम प्रयासस्वरूप अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईलाई पत्र पठाएका छन् । ‘द वाल स्ट्रिट जर्नल’का अनुसार इरानले भान्सको पत्रलाई ‘सकारात्मक रूपमा लिएको’ संकेत पठाएको छ ।
पत्रको उद्देश्य अमेरिका र इरानबिचका मतभेदलाई सकेसम्म कम गर्ने र इरान युद्ध पुनः चर्किने सम्भावना रोक्ने रहेको बताइएको छ । भान्सको कूटनीतिक पहल निकै संगीन समयमा आएको छ । ट्रम्पले भर्खरै खाडी क्षेत्रका अमेरिकी सहयोगी देशलाई अर्को हप्तादेखि नै इरानमाथि अमेरिकाले तीव्र सैन्य आक्रमण गर्न लागेकाले सतर्क रहन चेतावनी दिएका छन् । ट्रम्पले नोभेम्बर ३ को मध्यावधि निर्वाचनलगत्तै इरानमाथि छोटो तर तीव्र सैन्य अभियान सञ्चालन गर्ने सम्भावना उच्च रहेको उच्च स्रोतले बताइरहेका छन् ।
इरानले भने अमेरिका र इजरायलले नयाँ आक्रमण गरेमा पहिलेभन्दा आक्रामक जवाफ दिने चेतावनी दएको छ । इरानले आफूमाथि फेरि आक्रमण गरिए खाडी देशका तेल प्रशोधन केन्द्रहरू, समुद्रमुनिका इन्टरनेटका तारदेखि खाडी देशमा रहेका डाटा सेन्टरदेखि एआई सुविधासम्मलाई निसाना बनाउने संकेत गरेको छ ।
भान्सले रेजाईलाई पठाएको पत्रमा के छ ?
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख रेजाईलाई भान्सले पठाएको पत्रका विषय सार्वजनिक त गरिएको छैन, तर अमेरिकी सञ्चार माध्यमले यसमा उल्लेख केही सामग्रीबारे लेखेका छन् । वाल स्ट्रिट जर्नलले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार पत्रमा शान्तिका लागि कुनै निश्चित सर्त नभई वार्ता पुनः सुरु गर्न एउटा साझा सहमतिको खाका उल्लेख गरिएको छ । अर्को एक स्रोतले जर्नललाई बताएअनुसार ‘पत्रको मुख्य उद्देश्य तेहरान र वासिंटनबिच एउटा साझा आधारमा सहमति गरेर ट्रम्पलाई आगामी हप्ता इरानमाथि छोटो तर तीव्र आक्रमण गर्ने अन्तिम आदेश दिनबाट रोक्न मनाउने रहेको छ ।’ उता अर्को अमेरिकी मिडिया न्युयोर्क टाइम्सका अनुसार भान्सको पत्रमा अमेरिकी र इरानी अधिकारीबिच छिट्टै भेटवार्ता गर्ने प्रस्तावसमेत उल्लेख छ । अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व भान्स स्वयंले गर्नेसमेत उल्लेख रहेको टाइम्सले लेखेको छ । यसअघि जुन महिनामा भएका अघिल्लो अमेरिकी–इरानी वार्तामा पनि भान्स सहभागी भएका थिए ।
न्युयोर्क टाइम्सका अनुसार यो पत्र आइतबार कतारी मध्यस्थकर्तामार्फत रेजाईसम्म पुर्याइएको थियो । मिडियामा उद्धृत अमेरिकी र इरानी अधिकारीका अनुसार भान्सले प्रत्यक्ष वार्ता छिट्टै सुरु गर्नुपर्ने र त्यसमा इरानको आणविक कार्यक्रम सुरुदेखि नै वार्ताको एजेन्डामा हुनुपर्ने बताएका छन् । इरानले प्रस्तावलाई स्वीकार गरेमा अर्को हप्ता नै वार्ता सुरु हुन सक्ने टाइम्सको समाचारमा उल्लेख छ । वार्ताका लागि सम्भावित स्थान कतार वा टर्की हुन सक्ने बताइएको छ । न्युयोर्क टाइम्स पत्रिकाले जनाएअनुसार इरानी नेतृत्वले यसलाई ‘सकारात्मक रूपमा लिएको’ छ । विश्लेषकले भान्सले पत्र रेजाईलाई सम्बोधन गरेर पठाउनु आफैँमा महत्वपूर्ण भएको बताएका छन् । यसले तेहरानमा वास्तविक प्रभाव कसको छ भन्नेमा वासिंटनको दृष्टिकोणमा सम्भावित परिवर्तन आएको संकेत गर्ने तिनले बताएका छन् ।
(अलजजिराबाट)