‘हरियो रङ नितान्त प्राविधिक’

शुक्रबार, २७ फागुन, २०७८
डिजिटल संस्करण
‘हरियो रङ नितान्त प्राविधिक’

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्याल

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा निर्वाचन चिह्नको रङ हरियो राख्ने निर्णय ‘नितान्त प्राविधिक’ विषय भएको बताएको छ । निर्वाचन मतपत्रमा चिह्न, विवरण तथा सुरक्षण चिह्नहरू हरियो ‘एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रिन’ मसीले छपाइ गर्ने निर्णयमा एमालेले प्रश्न उठाएपछि आयोगले यसलाई सरोकारवालाको सुझावमा लिइएको प्राविधिक विषय भएको बताएको हो । 

निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले हरियो राख्ने निर्णय नितान्त प्राविधिक भएको र कुनै औपचारिक गुनासो नआएको बताए । ‘आयोगको उद्देश्य चुनावचिह्न र स्वस्तिक छापको रङमा भिन्नता गर्ने हो । निर्वाचन अधिकृत तथा अनुगमन अधिकृत र गणनामा खटिएका कर्मचारी तथा विभिन्न सरोकारवालाले दिएको सुझावका आधारमा निर्वाचन चिह्न हरियो राख्ने निर्णय गरिएको हो,’ उनले भने, ‘यो निर्णय नितान्त प्राविधिक विषय हो । कसैलाई अन्यथा लागे आयोग यसबारे प्रस्ट पार्न सदैव तत्पर छ ।’

आयोगले २३ फागुनमै आगामी वैशाख ३० गते एकै चरणमा हुने निर्वाचनका चिह्नहरू हरियो ‘एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रिन’ मसीले छपाइ गर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले यस्तो निर्णय मान्य नहुने भन्दै आयोगले आफ्नो निर्णय सच्याउनुपर्ने बताएका छन् । 

०७४ सालको निर्वाचनमा निर्वाचन चिह्न र स्वस्तिक छाप दुवैको रङ नीलो भएकाले राति मतगणना अप्ठ्यारो भएको पनि उनले सुनाए । आयोगको निर्णयलाई लिएर विभिन्न सञ्चारमाध्यममा टीकाटिप्पणी भए पनि त्यसबारे आयोगलाई औपचारिक जानकारी नआएको उनले बताए । 

सुझावित समाचार