नेप्से र धितोपत्र बोर्ड प्रमुखसँग अर्थमन्त्रीको भेट, पुँजीबजारमा देखिएको समस्या समाधानबारे छलफल

बुधबार, १८ फागुन, २०७८
डिजिटल संस्करण

अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखसँग पुँजीबजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन् । बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेन्ज (नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाएर पछिल्लो समय पुँजीबजारमा देखिएका समस्याको विषयमा छलफल गरेका हुन् । पुँजीबजारसम्बन्धी छलफलमा बोल्दै अर्थमन्त्री शर्माले पुँजीबजारमा देखिएका समस्या समाधान गर्न नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताए ।              

मन्त्री शर्माले भने, ‘त्यो सबैको परिमाण के गरियो भने एउटा सक्षम र योग्य नेतृत्व चयन गरियो । नियमनकारी संस्थाको नेतृत्वले सेयर बजारमा भएका समस्याको समाधानमा उहाँहरूको कामकारबाहीबाट देखिनेछ ।’

कार्यक्रमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताए । उनले पुँजीबजार सुधारका लागि केही कानुनमा सुधार गर्नुपर्ने बताए । अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नुपर्ने देखिएकाले बोर्ड लागि परेको जानकारी दिए । 
उनले भने, ‘सेयर बजारमा देखिएका समस्या समाधान गर्न बोर्डले काम अगाडि बढाएको छ । सुधारको लागि कानुन सुधार गर्नुपर्छ । त्यसमा ‘टिएमएस प्रणाली’ सुधार गर्नुपर्ने देखिएको छ । त्यो सुधार गर्न बोर्ड लागिरहेको छ ।’

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पुँजीबजारसम्बन्धी ऐन समयसापेक्ष नभएको धारणा राखे । उनले पुँजीबजार सुधारका लागि अहिले भएका नीतिगत व्यवस्थाहरूलाई संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताए ।  कार्कीले सेयर बजारलाई प्रभावकारी बनाउन प्रविधिको अध्ययन गर्नुपर्ने पनि बताए । 

उनले भने, ‘कसरी प्रभावकारी रूपमा हाम्रो मन्त्रालय र सरकारको स्पेस बढाउन सकिन्छ भनेर विभिन्न पक्षहरूसँग छलफल भइरहेको छ । केही भएका प्रावधनहरू र नेप्सेमा जडान गरिएका प्रविधिहरूको अध्ययन गर्ने काम भएको छ । मन्त्रीज्यूको निर्देशनअनुसार पुँजीबजारसम्बन्धी नीतिगत सुधारका लागि पुँजीबजार ऐन, २०६३ रहेको छ । यो ऐन समयसापेक्ष छैन । त्यसलाई पनि हामीले सुधार गर्नुपर्छ ।’

अर्थ मन्त्रालयका राजूवसचिव कृष्णहरि पुस्करले पुँजीबजार आन्तरिक मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी देखाउनुपर्ने धारणा राखे । उनले अर्थ मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको काम गर्ने प्रणालीलाई अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग सहकार्य गर्ने काम अगाडि बढाएको जानकारी दिए । उनले भने, ‘सेयर बजार भनेको आन्तरिक रूपमा भन्दा पनि अन्तर्राष्ट्रिय ‘एपिएस लिंकेज’बाट प्रभावित हुन्छ । हाम्रा कारोबारहरू अन्तर्राष्ट्रिय र आन्तरिक रूपमा कम्फर्टेबल हुनुपर्छ ।’

अर्थमन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिइओलाई मोबाइल एपबाटै सेयर कारोबार हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।  उनले पुँजीबजार नबुझीकन कारोबार गर्नेलाई शिक्षित गराउनुपर्ने पनि बताए । 

सुझावित समाचार