‘युक्रेनबाट अलग भएका क्षेत्रहरूको रुसी मान्यता संयुक्त राष्ट्रसंघको बडापत्रसँग असंगत’

मंगलबार, १० फागुन, २०७८
डिजिटल संस्करण

डोनेटक्स र लुहान्स्क जनगणतन्त्र (डिपिआर र एलपिआर)को स्वतन्त्रतालाई मान्यता दिने रुसको निर्णय युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लंघन भएको संयुक्त राष्ट्रसंघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले टिप्पणी गरेका छन्।  रुसको सो निर्णय राष्ट्रसंघको बडापत्र र युक्रेनको सार्वभौमिकताको विपरीत भएको प्रवक्ता डुजारिकको भनाइ छ।

‘युक्रेनको डोनेटक्स र लुहान्स्क क्षेत्रका निश्चित क्षेत्रहरूको स्थितिसँग सम्बन्धित रुसी संघको निर्णयबाट महासचिव धेरै चिन्तित हुनुहुन्छ। उहाँले मिन्स्क सम्झौताअनुसार पूर्वी युक्रेनमा द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि आह्वान गर्नुभएको छ। जुन सुरक्षा परिषद्ले प्रस्ताव २२०२ (२०१५) मा अनुमोदन गरेको हो,' प्रवक्ता डुजारिकले बताएका छन्।

‘राष्ट्रसंघले सान्दर्भिक महासभाको प्रस्तावहरूअनुरूप युक्रेनको सार्वभौमसत्ता, स्वतन्त्रता र क्षेत्रीय अखण्डताको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सिमानामा पूर्ण रूपमा समर्थन गर्दछ,’ उनले उल्लेख गरेका छन्। संयुक्त राष्ट्रसंघका महासचिवले कूटनीतिलाई प्राथमिकता दिँदै युक्रेन र वरपरको खतरनाक अवस्थालाई थप जटिल बनाउने कुनै पनि कार्य  रोक्न, तत्काल शत्रुता अन्त्य गर्न, नागरिक र नागरिक पूर्वाधारको संरक्षणमा आफ्नो प्रयास केन्द्रित गर्न सबै सम्बन्धित पक्षहरूलाई आग्रह गरेका उनले बताए।

रुसी राष्ट्रपति पुटिनको सो घोषणापछिको अवस्थाबारे छलफल गर्न अहिले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को बैठक बसिरहेको छ। रासस/एएनआई

सुझावित समाचार