भाडा निर्धारणमा हेलिकोप्टर कम्पनीको सिन्डिकेट

मंगलबार, १० फागुन, २०७८
डिजिटल संस्करण

यात्रुसँग अत्यधिक भाडा लिएर शोषण गर्दै आइरहेका हेलिकोप्टर कम्पनीहरूले मिलेमतोमा भाडादर तय गरी सिन्डिकेट लागू गर्न खोजेका छन् । हेलिकोप्टर कम्पनीबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा व्यवसाय नै धरापमा पर्ने अवस्था आएको दाबी गर्दै सञ्चालकहरूले न्यूनतम भाडा तोक्ने भद्र सहमति गरेका हुन् । हेलिकोप्टर अपरेटरबीच न्यूनतम भाडादर तोक्ने भद्र सहमति भइसकेको छ, तर निर्णय भने अझै सार्वजनिक गरिएको छैन । 

हेलिकोप्टर अपरेटरबीच नेपालीलाई प्रतिघन्टा १४ सय ५० अमेरिकी डलर र विदेशीलाई १८ सयदेखि दुई हजार डलरसम्म भाडादर तोक्ने भद्र सहमति भएको स्रोत बताउँछ । कोभिड महामारीमा पनि हेलिकोप्टर कम्पनीहरूले बिरामीसँग आफैँले तोकेको भन्दा दुई–तीन लाख रुपैयाँ बढी भाडा असुली गरी ठगी गरेका थिए । महामारीले पिल्सिएका नागरिकमाथि हेलिकोप्टर कम्पनीले बढी भाडा असुलेर अत्याचार गर्दा पनि सरकार अनुगमन र कारबाहीको जिम्मेवारीबाट अलग भएको थियो ।

अहिले पनि संकटको समयमा अस्वस्थ प्रतिस्पर्धाबाट व्यवसाय जोगाउन भन्दै हेलिकोप्टर कम्पनीहरूले न्यूनतम भाडादर तोकेर बढी भाडा असुल्न खोजेका छन् । हेलिकोप्टर कम्पनीहरूबीच भाडामा अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएपछि न्यूनतम भाडादर कायम गरेर व्यवसाय जोगाउन भद्र सहमति गर्नुपरेको एक सञ्चालकले जानकारी गराए ।पछिल्लो समय हेलिकोप्टर कम्पनीहरू अस्वस्थ प्रतिस्पर्धामा उत्रिएर अत्यन्तै कम भाडामा यात्रु बोक्न थालेपछि सञ्चालन खर्च पनि धान्न नसक्ने अवस्था सिर्जना भएको वायुसेवा संघका उपाध्यक्ष निमानुरु शेर्पाले बताए । कम्तीमा सञ्चालन खर्च भए पनि धान्ने गरी भाडा लिने र एक–आपसमा अस्वस्थ प्रतिस्पर्धा नगर्ने भद्र सहमति भएको उनको भनाइ छ । ‘अस्वस्थ प्रतिस्पर्धा बढ्दै जाँदा व्यवसाय धान्नै नसक्ने अवस्था सिर्जना हुन नदिन भद्र सहमति भएको हो,’ उनले भने, ‘न्यूनतम कति भाडा लिने भन्ने विषयमा निर्णय हुन बाँकी छ ।’

हेलिकोप्टर कम्पनीहरू बाँच्न प्रतिघन्टा न्यूनतम १४ सय ५० डलर भाडा लिनैपर्ने सञ्चालकहरूको भनाइ छ । ‘हेलिकोप्टरको सञ्चालन खर्च मात्र उठाउन पनि प्रतिघन्टा न्यूनतम १४ सय ५० डलर भाडा लिनुपर्छ, विदेशीको हकमा १८ सयदेखि २२ सय डलरसम्म भाडा लिनुपर्ने हुन्छ,’ शेर्पाले भने, ‘तर, अहिले हेलिकोप्टर कम्पनीले हजार–बाह्र सय डलरमै झरेर पनि यात्रु बोकिरहेको अवस्था छ, सञ्चालन खर्च पनि नउठ्ने भाडा लिएर हेलिकोप्टर व्यवसाय कति दिन टिक्न सक्छ ?’

नेपाल आयल निगमले हवाई इन्धनको भाउ निरन्तर बढाएको तथा कोभिडका कारण पर्यटन क्षेत्र ठप्प हुँदा यात्रु नपाएर हेलिकोप्टर पार्किङ गरेर राख्नुपर्ने अवस्था आएको उनको भनाइ छ । नेपालका हेलिकोप्टर कम्पनीको ८० प्रतिशत व्यवसाय पर्यटनमा निर्भर रहेको शेर्पाले बताए । ‘२० प्रतिशत आन्तरिक बजार हो, जसमा यात्रु, तिर्थालु, बिरामी, सामान ढुवानी, रेस्क्युलगायत पर्ने गर्छन्,’ उनले भने । 

हेलिकोप्टर कम्पनीले मिलेमतोमा भाडा बढाएर सिन्डिकेट लाद्न नखोजेको सञ्चालकहरूको जिकिर छ । अहिलेको संकटमा कुनै पनि हेलिकोप्टर कम्पनी अस्वस्थ प्रतिस्पर्धाको सिकार हुनुनपरोस् भनेर व्यवसाय टिकाउनकै लागि न्यूनतम भाडामा भद्र सहमति गर्नुपरेको शेर्पाको भनाइ छ । उनले भने, ‘अस्वस्थ प्रतिस्पर्धा गरिरहँदा भोलि व्यवसाय नै नरहन सक्छ, अहिलेको संकट टार्नका लागि कम्तीमा अपरेटिङ कष्ट धान्ने गरी एउटा रेट कायम राखौँ भन्ने सहमति भएको हो ।’ हेलिकोप्टर कम्पनी बाँचे भने मात्रै यात्रुले निरन्तर सेवा पाउने बताउँदै उनले यात्रुले निरन्तर सेवा पाउनका लागि पनि हेलिकोप्टर कम्पनीलाई टिक्ने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

मानवीयता भुलेर कोभिडका बिरामीसँग समेत तीन लाखसम्म बढी भाडा असुल
हेलिकोप्टर कम्पनीहरूले न्यूनतम मानवीय दायित्वसमेत बिर्सिएर कोभिड महामारीको समयमा कोरोना संक्रमित बिरामीहरूसँग बढी भाडा असुल गरेका थिए । कोरोना संक्रमित बिरामीसँग हेलिकोप्टरले निर्धारण गरेकोभन्दा दुई–तीन लाख रुपैयाँसम्म बढी भाडा असुल गरेको थियो । कञ्चनपुरबाट काठमाडौंसम्मको भाडा करिब पौने सात लाख तोकिए पनि बिरामीसँग नौ लाखसम्म असुल गरेका थिए ।

नेपालगन्जबाट काठमाडौंसम्मको भाडा चार लाख ७२ हजार रुपैयाँ तोकिएको थियो, तर हेलिकोप्टरले मौका छोपेर साढे ६ लाखसम्म लिए । देशका विभिन्न ठाउँहरूबाट संक्रमित बिरामी बोक्दा सबैजसो हेलिकोप्टर कम्पनीले दूरी हेरीकन तीन लाख रुपैयाँसम्म बढी भाडा असुल गरेको भेटिएको थियो । पर्याप्त नाफा राखेर तोकिएको भन्दा अत्यन्तै बढी भाडा असुल्दा पनि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण मूकदर्शक बनेको थियो । नियमनकारी निकायले मौनता देखाउँदा कम्पनीहरूले सर्वसाधारणबाट मनपरी भाडा असुलेर कालोबजारी गरेका हुन् । 

हेलिकोप्टर कम्पनीले पैसाको लोभमा नेपाल भ्रमणमा आएका बिरामीलाई फेक रेस्क्यु गर्दा नेपालको पर्यटन क्षेत्र नै बदनाम हुन पुगेको थियो । अस्पतालसँगको मिलेमतोमा कम्पनीले ट्रेकिङमा गएका पर्यटकलाई बिरामी बनाई रेस्क्यु गर्ने र बिमा कम्पनीसँग पैसा असुल गर्ने धन्दा चलाएपछि नेपालको पर्यटन अन्तर्राष्ट्रिय जगत्मै धूमिल बनेको थियो ।

सुझावित समाचार