गृहमन्त्रीद्वारा १२ जिल्लाका प्रहरी प्रमुखसँग जिल्लाको शान्तिसुरक्षा र कोभिडबारे चासो

सोमबार, १७ माघ, २०७८
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाणले जिल्लामा शान्तिसुरक्षाको अवस्था, प्रहरीमा कोभिड– १९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन्। गृहमन्त्री खाणले झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनुषा, सप्तरी, सिराहा, सर्लाही, अछाम, पर्सा, मकवानपुर र रौतहटका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरी जिल्लाको वस्तुस्थितिबारे जानकारी लिएका हुन्।

उनले मुख्यगरी प्रहरीमा र समग्र जिल्लामा कोभिड– १९ को प्रभाव, शीतलहर र हिमपातको अवस्था, जिल्लामा सुरक्षा स्थिति, प्रहरीलाई सरकारले उपलब्ध गराउने रासनभत्ता वितरणबारेमा जानकारी लिएका प्रहरी प्रमुखले जानकारी दिएका छन्।

सिराहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले मन्त्री खाणले जिल्लामा शान्तिसुरक्षाको अवस्था, प्रहरीको रासनभत्ता, शीतलहरको प्रभाव र न्यानो कपडा वितरणबारे जानकारी लिएको बताए। सप्तरीका प्रहरी प्रमुख अविनारायण काफ्लेले जिल्लामा शान्तिसुरक्षाको अवस्थाबारे गृहमन्त्रीले जानकारी लिएका बताए। ‘जिल्लामा शान्तिसुरक्षाको अवस्था, कोभिड– १९ को अवस्था र प्रहरीको रासन भत्ताबारे मन्त्रीले जानकारी लिनुभयो,’ उपरीक्षक काफ्लेले भने।  रासस

सुझावित समाचार