जनसंख्या तीन करोड पुग्छ भन्ने हाम्रो प्रक्षेपणलाई गलत भन्न मिल्दैन

अन्तर्वार्ता

बिहिबार, १३ माघ, २०७८
डिजिटल संस्करण
जनसंख्या तीन करोड पुग्छ भन्ने हाम्रो प्रक्षेपणलाई गलत भन्न मिल्दैन

नेविनलाल श्रेष्ठ महानिर्देशक, केन्द्रीय तथ्यांक विभाग

मुलुकको जनसंख्या तीन करोड कट्ने विभागको प्रक्षेपण थियो, तर प्रारम्भिक तथ्यांकले त त्यस्तो देखाएन नि? 
जनसंख्याको प्रक्षेपण गर्दा मुख्यतः तीन विषयलाई ध्यान दिइएको हुन्छ । ती सन्तान उत्पादन दर, बसाइँसराइ र शिशु मृत्युदर हुन् । अर्को, हामीले गरेको प्रक्षेपण १० वर्षपहिलाको तत्कालीन अवस्थालाई आधार मानेर गरिएको हो । अर्को १० वर्षका लागि फेरि यो वर्षको अवस्थालाई हेरेर गर्छौँ । यो वर्षका लागि गरिएको तीन करोडको प्रक्षेपणको नजिक छौँ । यसलाई प्रक्षेपण गलत भयो भन्न मिल्दैन । ट्वाक्कै मिल्ने भए त जनगणना नै गर्नुपरेन नि ! 

अर्कोतर्फ एउटा महिलाले आफ्ने सन्तान उत्पादन गर्ने अवधिमा जन्माउने सन्तानको दर घटिरहेको देखिएको छ । १० वर्षअघिको जनसंख्याको वृद्धिदरलाई यथावत् राख्न एउटा महिलाले दुई दशमलव एकवटा बच्चा जन्माउनुपर्ने थियो । तर, हामीले गरेको अध्ययनले सन्तान उत्पादनदर एउटा महिलाबाट दुईवटा मात्र देखाएको छ । यसले पनि जनसंख्या घटायो । अर्कोतर्फ शिशु मृत्युदर घट्दै गएको छ । त्यसले गर्दा थोरै बच्चा जन्माउने भए । त्यस्तै, अन्तर्राष्ट्रिय रूपमा हुने बसाइँसराइ (नेपालको हकमा वैदेशिक रोजगारी)को कारण पनि जनसंख्या वृद्धि हुनलाई रोक्ने भयो । ढिलो विवाह पनि अर्को कारण देखिन्छ । 

जनसंख्याको वृद्धिदर पछिल्लो ८० वर्षमा सबैभन्दा न्यून देखियो, यसको असर के हुन सक्छ ? 
निरपेक्ष रूपमा हेर्दा त जनसंख्या बढेको नै छ । तर, जुन दरमा बढिरहेको थियो त्यो दर भने घटेको छ । तर, कुन देशलाई कति जनसंख्या चाहिने हो भनेर भन्ने विषय आफैँमा गाह्रो हुन्छ । धेरै भएको राम्रो कि कम भएको राम्रो भन्ने छ । यो देशले जनसंख्यालाई प्रयोग गर्न सक्ने क्षमतामा भर पर्छ । धनी देशका लागि जनसंख्या बढेको राम्रो हो । अहिले त्यस्ता देशले आफ्नो देशको जनसंख्याले नपुगेर बाहिरबाट कामदार ल्याउने गरेका उदाहरण छन् । तर, कमजोर देशका लागि जनसंख्या समस्या पनि हुन सक्छ । राज्यले अवसर दिन सक्दैन । यसकारण यसलाई राम्रो वा नराम्रो भन्नुभन्दा पनि हाम्रो क्षमता कति हो भन्ने विषय महत्वपूर्ण हो । 

प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्नुभयो, विस्तृत र थप क्षेत्रगत प्रतिवेदन कहिलेसम्म सार्वजनिक गर्नुहुन्छ ? 
अब हामी विस्तृत प्रतिवेदन क्रमशः निकाल्दै जान्छौँ । व्यक्तिगत गणनाको विवरण र त्यस विवरणलाई प्रणालीमा प्रविष्ट गर्ने, त्यसलाई प्रशोधन गर्ने, वर्गीकरण गर्ने र प्रतिवेदन लेख्ने कामका लागि थप एक वर्ष लाग्छ । त्यसकारण वर्ष दिनपछि थप क्षेत्रगत प्रतिवेदन निस्कने क्रम सुरु हुन्छ । आर्थिक, सामाजिक, शैक्षिकलगायत प्रतिवेदन प्रकाशित गरिनेछ । त्यसपछिको अर्का एक वर्षभित्र सबै प्रतिवेदन सार्वजनिक गरिनेछ ।
 
जनगणनाका क्रममा फिल्ड र कार्यालयमा रहेर गर्ने काममा कोभिडको असर कत्तिको छ, समयमा प्रतिवेदन ल्याउन अवरोध पुग्छ कि ?
अवश्य पनि असारमै हुनुपर्ने जनगणना मंसिरमा भयो । अहिले संकलन गरेको विवरणलाई प्रणालीमा प्रविष्ट गराउन ठूलो जनशक्ति आवश्यक छ । त्यसका लागि प्रक्रिया थाले पनि काम अपेक्षित रूपमा हुन सकेको छैन । अहिलेसम्मको अवस्थामा हामी समयमै काम सम्पन्न गर्ने अवस्थामा छौँ । तर, भोलिको दिनमा कस्तो अवस्था आउँछ, त्यसमा भर पर्छ ।
 
जनगणनामा सबै समेटिएका छैनन् भन्ने जनगुनासा पनि छन्, यसबारे के भन्नुहुन्छ ? 
मानिसको गुनासो जायज नै हो । यसमा शतप्रतिशतलाई नै समेटिन्छ भन्ने हुँदैन । सामाजिक सुरक्षा भत्ता, मतदातापत्रलगायतमा शतप्रतिशत समेटिन्छ । तर, जनगणनामा संसारभर नै पाँचदेखि १० प्रतिशतसम्म ‘अन्डर काउन्ट’ हुन्छ भन्ने मान्यता छ । विकसित देशमा पनि तीन प्रतिशत ‘अन्डर काउन्ट’ हुने गरेको छ । नेपालमा कसैलाई नछुटाउने भन्ने नै हो, तर गणकहरू गएका वेला घरपरिवारको कुनै पनि सदस्यलाई नभेट्नु, उत्तर दिन नचाहनु र छिटफुट रूपमा कुनै घरमा गणक नै नपुगेको कारण छुटेको हुन सक्छ । हामी पोस्ट इनुमेरेसन सर्भे गर्दै छौँ । त्यसले कति प्रतिशत छुटे भन्ने देखाउँछ । यो दुई–तीन महिनामा थाल्छौँ । अघिल्ला जनगणनामा तीनदेखि चार प्रतिशतसम्म न्यून गणना भएको देखाएको थियो । यसपटक पनि त्योभन्दा धेरै नजाला । धेरै अन्डर काउन्ट भए जनगणनाको विश्वसनीयतामा पनि प्रश्न उठ्छ ।

सुझावित समाचार