अतिरिक्त शुल्कको विरोधमा नोबेल मेडिकल कलेजमा विद्यार्थीको आन्दोलन जारी

सोमबार, २६ पुष, २०७८
डिजिटल संस्करण

सरकार र चिकित्सा शिक्षा आयोगको निर्देशनलाई अटेर गर्दे कानुनविपरीत अतिरिक्त शुल्क असुलेको विरोधमा सोमबार पनि विद्यार्थीले विराटनगरमा प्रदर्शन गरेका छन। विराटनगर कञ्चनबारीस्थित  नोबेल मेडिकल कलेजले एमबिबिएस पहिलो वर्षमा भर्ना भएका विद्यार्थीसँग असुल्न थालेको चार लाख ४२ हजार  रकमको विरोधमा आन्दोलनरत विद्यार्थीले आज सोमबार पनि प्रदर्शन गरेका हुन्।  सोमबार आन्दोलनरत विद्यार्थी र पाँच विद्यार्थी संगठनले नोबेल अस्पताल परिसरमा प्रदर्शन गर्दै कोणा सभा गरेर विरोध गरे। उनीहरूले अतिरिक्त शुल्क खारेज नगरेसम्म आन्दोलनलाई थप सशक्त बनाएर जारी राख्ने बताए। 

विद्यार्थीको आन्दोलनलाई  अखिल क्रान्तिकारी, अनेरास्ववियु, नेविसंघ, जनता समाजवादी र एकीकृत समाजवादी विद्यार्थी संगठनले समर्थन जनाउँदै आएका छन। आइतबार नोबेल प्रशासनले आन्दोलनमा हस्तक्षेप गर्दा सुरक्षागार्डको कुटाइबाट दुईजना विद्यार्थी घाइते भएका थिए। त्यसपछि आक्रोशित विद्यार्थीले अस्पतालको मूलगेटका सिसाहरू ढुंगा प्रहार गरेर तोडफोड गरेका थिए।    

११ पुसदेखि एमबिबिएस प्रथम वर्षको पढाइ सुरु गरेको नोबेलले चार लाख ४२ हजार शुल्क नबुझाएको भन्दै विद्यार्थीलाई १४ पुसदेखि कक्षा प्रवेशमा रोक लगाउँदै आएको छ। आयोग र सरकारले निर्देशन गरिसक्दा पनि अटेर गरेर विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाइरहेको भन्दै आन्दोलनरत विद्यार्थीले पाँच विद्यार्थी संगठनको सहयोगमा  २१ पुसमा नोबेल मेडिकल कलेजको प्रशासन कार्यालयमा  ताला लगाएर निरन्तर प्रदर्शन गर्दै आएका छन्। नोबेलमा अझै अतिरिक्त शुल्क बुझाउन नसक्ने ७२ जना विद्यार्थी पढनबाट वञ्चित भइरहेका छन्।   

विद्यार्थीले एमबिबिएस कोर्सको कुल ४४ लाख ३६ हजारमध्ये  प्रथम वर्षको १४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबिबिएस प्रथम वर्षमा भर्ना भएका हुन्। नोबेलले एमबिबिएस भर्ना हुने विद्यार्थीबाट इन्टर्नसिपबापत दुई लाख ४० हजार, विश्वविद्यालय सम्बन्धन शुल्कबापत ९८ हजार र होस्टेल शुल्क एक लाख ४४ हजारलगायतका अन्य धेरै शुल्कसहित चार लाख ८२ हजार अतिरिक्त बुझाउन विद्यार्थीलाई दबाब दिँदै आएको छ।

सुझावित समाचार