विनाचेतावनी प्रदर्शनकारीमाथि गोली चलाउन काजकिस्तानका राष्ट्रपतिको निर्देशन

शुक्रबार, २३ पुष, २०७८
डिजिटल संस्करण

काजकिस्तानका राष्ट्रपति कासिम जोमार्त तोकाएभले शुक्रबार एक टेलिभिजनको माध्यमबाट विना कुनै चेतावनी प्रदर्शनकारीहरूमाथि गोली चलाउन सुरक्षा निकायहरूलाई आदेश दिएका छन् । 

स्थितिलाई नियन्त्रणमा लिनका लागि ‘आतंकवादविरुद्धको अपरेसन’का माध्यमबाट प्रदर्शनकारीहरूलाई ‘ध्वस्त’ पारिने चेतावनीसमेत राष्ट्रपति तोकाएभले दिएका छन् । 

गत जनवरी २ देखि काजकिस्तानमा सरकारविरोधी प्रदर्शन भइरहेको छ । सरकारले पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने जिम्मा निजी क्षेत्रलाई दिने निर्णय गरेपछि पेट्रोलियम पदार्थको मूल्यमा दुई गुणा वृद्धि भएपछि काजकिस्तानमा आन्दोलन सुरु भएको थियो । काजकिस्तानको पश्चिममा रहेको जनाओजेन सहरबाट सुरु भएको प्रदर्शन हालसम्म देशैभरि फैलिएको छ । 

काजकिस्तान सरकारले जनवरी ४ मा पेट्रोलियम पदार्थको मूल्य पहिलेको भन्दा पनि कम गरिदिने घोषणा गरेको थियो । सरकारले यस्तो निर्णय गरे पनि प्रदर्शन भने रोकिएको छैन । राष्ट्रपति तोकाएभले प्रदर्शनकारीहरूलाई ‘आतंकवादीहरू’ भन्दै सुरक्षाका लागि रसियासमर्थित ‘सामूहिक सुरक्षा सन्धि संगठन’ (सिएसटिओ)समक्ष सहयोग मागेका थिए । 

काजकिस्तानको आन्तरिक मामिला मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा २६ प्रदर्शनकारी मारिएका छन् भने तीन हजारभन्दा बढी पक्राउ परेका छन् । त्यस्तै १८ जना प्रहरीको मृत्यु भएको छ । रसियाकाे नेतृत्वमा सिएसटिओका सदस्य देशहरूका सेना जनवरी ६ मा काजकिस्तान पुगेका छन् । 

सुझावित समाचार