बर्सेनि जोखिम निम्त्याउने संक्रमणविरुद्ध भ्याक्सिन छैन

भाइरसमा लगातार भइरहेका उत्परिवर्तनका कारण दीर्घकालीन सुरक्षा दिने भ्याक्सिन निर्माण गर्न नसकिएको वैज्ञानिकहरूको भनाइ

बिहिबार, २२ पुष, २०७८
डिजिटल संस्करण

सन् १०१९ देखि महामारीको रूप लिएको कोभिड संक्रमणविरुद्धको भ्याक्सिनको उपलब्धता अहिले विश्वको चासो बनेको छ । लगातार भाइरसमा भइरहेको उत्परिवर्तन नियन्त्रणका लागि विश्वभरका वैज्ञानिक भ्याक्सिनको क्लिनिकल ट्रायलमा जुटेका छन् भने दुई वर्षको अवधिमा विश्वभर ५९.७ प्रतिशत जनसंख्याले कोभिडविरुद्धको पहिलो मात्रा लगाइसकेका छन् । एक दर्जनभन्दा बढी देशले बुस्टर डोजसमेत प्रयोगमा ल्याएका छन् । तर, महामारीकै रूप लिएका एचआइभी, डे‌ँगु, मलेरियाजस्ता संक्रमण रोक्ने भ्याक्सिन भने दशकौँ बितिसक्दा पनि उपलब्ध छैन । 

एन्टिबायोटिक औषधिपछि खोप चिकित्सा क्षेत्रमा ठूलो उपलब्धि मान्ने गरिन्छ । हरेक वर्ष स्वरूप परिवर्तन हँुदै आउने विभिन्न भाइरस र संक्रमणविरुद्धका खोप निर्माणमा चिकित्सा क्षेत्रले ठूलो लगानी गर्दै आएको छ । प्रयोगशालामा दशकौँदेखि अनुसन्धानको चरणमा रहेका कतिपय संक्रमणविरुद्धको खोप निर्माण चुनौती बन्दै गएका छन् । एचआइभी, डेंगु, चिकनगुनिया, अमेरिकी ट्रिपानोसोमियासिस, साइटोमेगालो भाइरस, सिस्टोसोमियासिस, श्वासप्रश्वासमा असर गर्ने भाइरस, लिस्मेनाइसेसजस्ता संक्रमणविरुद्ध हालसम्म पूर्ण भ्याक्सिन उपलब्ध छैन । 

यसबाहेक मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोम, लाइम, वेस्ट नाइल, जिका र हेपाटाइटिस सीजस्ता महामारी बन्न सक्ने केही भाइरलमा पनि कुनै भ्याक्सिन उपलब्ध छैन । साथै, क्षयरोग र विश्वव्यापी फ्लुविरुद्ध पनि दीर्घकालीन सुरक्षा भएको खोप उपलब्ध छैन । यी संक्रमणहरू विरुद्ध एन्टिबायोटिक र लक्षणको आधारमा उपचार भइरहेको छ । साथै औषधिहरूको माध्यमबाट भइरहे पनि संक्रमणहरूविरुद्ध खोप उपलब्ध भएमा सजिलै नियन्त्रणमा राख्न सकिने चिकित्साक्षेत्रको अध्ययनले पुष्टि गर्छ । 

एचआइभी
करिब ४० वर्षअघि देखिएको एचआइभी भाइरसको हालसम्म प्रभावकारी भ्याक्सिन उपलब्ध छैन । विश्वभर ३७.७ मिलियन मानिस एचआइभीसँगै बाँचिरहेको तथ्यांक छ । तर, एचआइभी संक्रमणविरुद्धका दुई खोप पछिल्लो एक दशकदेखि परीक्षणकै चरणमा छ ।

हाल एचभिटिएन ७०६ र एचभिटिएन ७०५ खोपको क्लिनिकल ट्रायल भइरहेको छ । सन् २०१९ देखि सुरु गरिएका यी अध्ययनहरू सन् २०२४ सम्म गरिने एचभिटिएनले जनाएको छ । विश्वव्यापी अध्ययन भइरहेका यी ट्रायल २००३ देखि २००९ सम्म गरिएको ‘आरभी १४४ थाई ट्रायल’ र सन् २०१६ देखि ०२१ सम्म भएको एचभिटिएन ७०२ अध्ययनसँग सम्बन्धित छन् । लगातार भइरहेका उत्परिवर्तनका कारण दीर्घकालीन सुरक्षा दिने भ्याक्सिन निर्माण गर्न नसकिएको वैज्ञानिकहरूले बताउँदै आएका छन् । 

चिकन गुनिया
अफ्रिका, एसिया र अमेरिकाका केही स्थानमा देखिएको चिकन गुनिया संक्रमणविरुद्ध पनि खोप उपलब्ध छैन । सन् २०१५ मा अमेरिकासहितका दर्जनौँ देशमा फैलिएको चिकन गुनियाको उपचार यसका लक्षणको आधारमा हुँदै आएको छ । लामखुट्टेको टोकाइबाट हुने यो संक्रमण पहिलोपटक सन् १०९२ मा दक्षिण तान्जिनियामा पुष्टि भए पनि हालसम्म खोप उपलब्ध छैन । 

चिकन गुनियाविरुद्ध पनि दुईवटा खोपमा क्लिनिकल ट्रायल भने भइरहेको छ । भारत बायोटेक इन्टरनेसनलले गत सेप्टेम्बरमा दोस्रो र तेस्रो चरणको ट्रायल कोस्टारिकामा सुरु गरेको छ भने पानामा र कोलम्बियामा पनि थप परीक्षण गरिएको जनाएको छ । यस्तै, फ्रान्सेली बायोटेक कम्पनी ‘भल्नेभा’मा भइरहेको अर्को अनुसन्धानले समेत स्वयंसेवकमा ९८.५ प्रशितमा एन्टिबडी उत्पादन भइरहेको दाबी गरेको छ । यद्यपि, हालसम्म कुनै खोपलाई समेत प्रयोगका लागि अनुमति दिएको छैन ।  यस्तै जिका भाइरसविरुद्ध पनि हालसम्म कुनै औषधि र खोपहरू उपलब्ध छैनन । हेपाटाइटिस सी, मिडिल इस्ट रेस्पिरेटरी सिन्ड्रोमजस्ता अन्य संक्रमणविरुद्ध समेत भ्याक्सिन बनीसकेको छैन । 

डेंगु
वर्षौदेखि डेंगु भाइरस संक्रमण चुनौतीपूर्ण बन्दै आए पनि डेंगुविरुद्धको दीर्घकालीन सुरक्षा दिने भ्याक्सिन अझै उपलब्ध छैन । डेंगुभ्याक्सिया (सिवाइडी–टीडिभी) नामक खोप भए पनि यो सबैलाई सहजै उपलब्ध छैन । यो डेंगुविरुद्धको पहिलो खोप भए पनि केही देशका ९ देखि ४५ वर्ष उमेर समूहमा मात्रै प्रयोग हुँदै आएको छ । यो भ्याक्सिन सन् २०१५ मा ल्याइएको थियो । 

डेंगु भाइरसमा हुने चारवटा सेरोटाइपहरूमध्ये यो भ्याक्सिनले एउटा सेरोटाइपविरुद्ध मात्रै काम गर्छ । यस्तै, यो भ्याक्सिन बालबालिका र वृद्धवृद्धाका लागि समेत उपलब्ध छैन । विशेषज्ञहरूका अनुसार एक भाइरल सेरोटाइपविरुद्ध प्रतिरक्षा एन्टिबडीहरू संक्रमित भएमा वा विकास गर्दा बिरामीलाई अर्को सेरोटाइपबाट थप गम्भीर संक्रमण हुन सक्ने भएकाले भ्याक्सिन प्रभावकारी मानिँदैन ।  भारतको नेसनल सेन्टर फर बायालोजिक साइन्सले डेंगुविरुद्धको डिएनए भ्याक्सिन निर्माण गरिरहेकोे छ । पछिल्लो समय प्रकाशित ट्रायल अध्ययनले भाइरसका चारवटै सेरोटाइपबाट ‘इडि आई आई आई’ नामक सबैभन्दा महत्वपूर्ण भाइरल प्रोटिनको एक भागबाट भ्याक्सिन निर्माण गरेको जनाएको छ । 

सुझावित समाचार