नेपालको सितेरियो कराते खेलाडीले बंगलादेशमा सम्पन्न बि–जी कराते च्याम्पियनसिपमा चार स्वर्ण पदक हात जितेका छन् । मुजिबको शतवार्षिक जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग र बंगालदेश सितेरियो संघको आयोजनामा भएको प्रतियोगितामा नेपालले चार स्वर्ण हात पारेको हो ।
नेपाललाई स्वर्ण दिलाउने खेलाडीमा डिजेन डोल्मा लामा रहेकी छिन् । लामाले कुमिते र कातामा गरी दुई स्वर्ण प्राप्त गरकी हुन् । यस्तै पासाङ तामाङले ७० केजी तौलको कातामा स्वर्ण हात पारेको टिम व्यवस्थापक रामकुमार श्रेष्ठले जानकारी गराए । श्रेष्ठका अनुसार स्वर्ण प्राप्त गर्ने अन्यमा ग्याल्मो सोमिका लामा पनि रहेकी छिन् । उनले ३५ केजी तौलको कुमितेतर्फ स्वर्ण प्राप्त गरेकी छिन् ।
प्रतियोगितामा नेपाली टोलीले थप दुई रजत र पाँच कांस्य पदक जित्यो । पासाङ तामाङ ७० केजी र राजदेव बमजन ६५ केजीको कुमितेतर्फ रजत प्राप्त गरेका हुन् । यसैगरी कांस्य पदक प्राप्त गर्नेमा रवीन्द्र कुँवरले खुलातर्फ, युरोडिस रोक्का ६० केजी, उमेश भण्डारी ५५ केजी, रविना ४५ केजी तथा उमंग बुढाथोकी १४ वर्षमुनि उमेर समूह रहेका छन् ।