नवप्रवेशी सातदोबाटो युथ क्लबलाई हराउँदै हिमालयन शेर्पा सहिद स्मारक ए डिभिजन लिगको पाँचौँ स्थानमा उक्लिएको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सम्पन्न खेलमा हिमालयन शेर्पाले सातादोबाटोमाथि १–० को जित निकाल्दै स्थान सुधार गरेको हो।
४५औँ मिनेटमा विश्वास श्रेष्ठले गरेको पेनाल्टी गोल नै हिमालयनलाई तीन अंक जोड्न पर्याप्त बन्यो। यो जितपछि हिमालयन शेर्पा नवौँ स्थानबाट पाँचौँ स्थानमा उक्लिन सफल भएको छ। सातादोबाटोका मार्टिन एलडेल्फी सिलोले त्रिदेव गुरुङलाई लडाएपछि हिमालयनले पेनाल्टीको अवसर पाएको थियो।
यससँगै सात खेल खेलेको हिमालयन शेर्पाको ११ अंक भएको छ । यसअघि १०औँ मिनेटमा मिडफिल्डर सुरेश कुमालको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले सहजै नियन्त्रणमा लिएका थिए। २६औँ मिनेटमा सातदोबाटोका मानबहादुर तामाङको प्रहार हिमालयका मुतम्बा पिस्टोनले हेडमार्फत क्लियर गरे। ३७औँ मिनेटमा मानबहादुरको सट हिमालयका गोलकिपर दीप कार्कीले विफल पार्दा सातदोबाटो अग्रता लिनबाट चुकेको थियो। सातदोबाटोको भने सामान खेलमा आठ अंक छ।
यससँगै जारी लिगमा सातौँ चरणका खेल पनि सकिएका छन्। सातौँ चरणको खेलपश्चात मच्छिन्द्र क्लबले शीर्षता कायम गर्दा मनाङ मर्स्याङ्दी एक अंकले पछि रहँदै दोस्रो स्थानमा छ। संकटा १३ अंकका साथ तालिकाको तेस्रो स्थानमा अटाउँदा आर्मी ११ अंकका साथ चौथो स्थानमा छ।