आइसिसी मान्यताको पर्खाइमा क्यान

शुक्रबार, २३ असोज, २०८३
प्रिन्ट संस्करण
  • ९ कात्तिकदेखि सुरु हुने तेस्रो सिजनको नेपाल प्रिमियर लिगले आइसिसीको मान्यता नपाउँदा विश्वस्तरीय क्रिकेटरको आगमनमा कठिनाइ हुने क्यानको भनाइ 

नेपाल क्रिकेट संघ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को तीव्र तयारीमा जुटिरहेको छ । प्रतियोगिताको दिनअगाडि आइरहँदा क्यानले अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)बाट अन्तर्राष्ट्रिय मान्यता पाउने सकिरहेको छैन । तर, क्यानका सचिव पारस खड्का भने छिट्टै आइसिसीबाट एनपिएलले मान्यता पाउने आशावादी छन् । यसका लागि क्यानले आइसिसीलाई सबै किसिमका आवश्यक कागजातसमेत पठाइसकेको छ । आइसिसीको औपचारिक निर्णयको पर्खाइमा क्यान रहेको खड्काले जानकारी दिएका छन् ।

‘अहिले तेस्रो सिजनका लागि फ्रेन्चाइज टोलीहरूले राम्रो खेलाडी ल्याउन कोसिस गरिरहेका छन्, तर अहिले खेलाडीलाई कन्ट्याक्ट गरेर राखेका अवस्थामा आइसिसीको मान्यता आएपछि मात्रै उनीहरूलाई अनाउन्समेन्ट गर्ने कुरा आउँछ,’ खड्काले भने, ‘धेरैजसो टोली आइसिसीको यसै निर्णयको प्रतीक्षामा छन् । हामी आशा गरौँ, चाँडै आइसिसीबाट सकारात्मक सन्देश आउनेछ ।’ 

तेस्रो सिजनको एनपिएलको आगामी ९ कात्तिकदेखि त्रिवि क्रिकेट मैदानमा हुँदै छ । प्रतियोगिताको फाइनल ५ मंसिरमा हुने क्यानले जनाएको छ । आठ टोलीबिच ह्नुे प्रतिस्पर्धा प्रतियोगिताको पहिलो खेल साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबिच हुनेछ । 

क्यानका सचिव खड्काले आइसिसीको स्वीकृति आएपछि एनपिएलका टोलीलाई थप विश्वस्तरीय विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुने बताए । आइसिसीको मान्यता पाउँदा फ्रेन्चाइज टोलीहरूले टेस्ट मान्यताप्राप्त राष्ट्रका खेलाडीहरूसँग सम्झौता गर्न सहज हुन्छ । आइपिएलको मान्यता नपाउँदासम्म दुई पक्षबिच सम्झौता गर्नमा प्राविधिक कठिनाइ आउन सक्ने क्यानको भनाइ छ ।

‘आइसिसीको मान्यतापछि प्रतियोगिताको स्तरसँगै नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय चर्चा बढाउन सहयोग पुग्नेछ,’ खड्काले भने, ‘एनपिएलका टोलीलाई टेस्ट राष्ट्रका चर्चित विदेशी खेलाडी अनुबन्ध गर्न सहज हुनेछ ।’ आइसिसीबाट निर्णयमा ढिलाइ हुँदा विदेशी खेलाडीको अन्तिम टुंगो लगाउन केही समस्या भइरहेको फ्रेन्चाइज टोलीहरूका पदाधिकारीले बताएका छन् । एनपिएल टोली जनकपुर बोल्ट्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) निरोज खतिवडा पनि आइसिसीको निर्णयको पर्खाइमा रहेका छन् । खतिवडाले आइसिसीबाट छिट्टै सकारात्मक निर्णय आउने अपेक्षा व्यक्त गरे । ‘आशा छ आइसिसीले छिटो एनपिएललाई अन्तर्राष्ट्रिय मान्यता दिनेछ,’ उनले भने, ‘त्यसो हुँदा हामीले आवश्यक पर्ने थप विदेशी स्टारलाई भिœयाउन सहज हुनेछ ।’ 

अन्तर्राष्ट्रियस्तरसम्म पुग्ने आशा
विश्व चर्चित विदेशी खेलाडीको आगमन र सहभागिताले एनपिएलको चर्चा नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत बढ्ने सचिव खड्काले बताए । उनले प्रतियोगितालाई खेलकुदसँगै पर्यटन प्रवर्द्धनका माध्यमका रूपमा समेत विकास गर्न सकिने बताए । यसअघि एनपिएलमा सहभागी हुनआएका विदेशी खेलाडी, अम्पायर तथा कमेन्टेटरले नेपालबारे सकारात्मक अनुभव लिएर फर्किएका थिए । ‘इन्टरनेसनल खेलाडी लगभग ५५–६० जना, अम्पायर, कमेन्टेटर गर्दा ६०–७० जना विभिन्न देशका नागरिक यसअघि पनि आएर एकदमै प्लेजेन्ट मेमोरिज लिएर फर्किका थिए,’ खड्काले भने, ‘स्पोर्टस् टुरिजमको जुन एउटा कन्सेप्ट छ, त्यसलाई नेपाल प्रिमियर लिग र नेपाल क्रिकेटले सुरुदेखि नै प्रवर्द्धन गरिरहेकै छ ।’

खड्काले एनपिएलमार्फत नेपाल सुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय समुदायमा दिन सकिने पनि जनाए । विभिन्न चुनौतीपछि पनि नेपाल अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्षम रहेको सन्देश एनपिएलले दिने उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय खेलाडी तथा अफिसियलले नेपाल सुरक्षित रहेको सन्देश दिएका छन्,’ खड्काले भने, ‘नेपाल फेरि तयार भयो र हामी अगाडि बढ्नेछौँ भन्ने सन्देश पनि यो प्रतियोगिताबाट दिने प्रयास गर्नेछौँ ।’ 

सुझावित समाचार