आइसिसी विश्वकप लिग २ : अमेरिका दुई खेलअगाडि च्याम्पियन

शुक्रबार, २३ असोज, २०८३
प्रिन्ट संस्करण

अमेरिकाले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को उपाधि जितेको छ । घरेलु मैदान डालासस्थित ग्रान्ड प्रेरी रंगशालामा बुधबार राति नामिबियालाई चार विकेटले पराजित गर्दै अमेरिकाले लिग २ को उपाधि पक्का गरेको हो । पहिलो ब्याटिङ गरेको नामिबियाले ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ९८ रन बनाएको थियो । प्रत्युत्तरमा अमेरिकाले ४८.५ ओभरमा ६ विकेटको क्षतिमा २९९ रन बनाउँदै सानदार जित निकाल्यो ।

अमेरिकाको ३४ खेलबाट ४७ अंक जोडेको छ । दोस्रो स्थानको स्कटल्यान्डले ३६ खेलबाट ४५ अंक बनाएको छ । तेस्रो स्थानको नेदरल्यान्ड्सको ३२ खेलबाट ३८ अंक छ । चौथो स्थानको ओमानको २८ खेलबाट ३१ अंक छ । ओमानले बाँकी सबै खेल जिते पनि जित संख्या अमेरिकाको धेरै रहेको हुँदा अमेरिका शीर्षस्थानमै रहनेछ ।

यसअघि अमेरिकाले विश्वकप छनोट प्रतियोगितामा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो । लिग २ को उपाधिसँगै अमेरिकाले आगामी वर्ष दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियामा आयोजना हुने आइसिसी पुरुष क्रिकेट विश्वकपमा स्थान बनाउनका लागि छनोट प्रतियोगितामार्फत थप अवसर पाउनेछ ।

दुवै इनिङ्समा शतकीय योगदान 
प्रतिस्पर्धामा अमेरिका र नामिबियाका ब्याट्सम्यानले शतकीय योगदान खेलेका थिए । लक्ष्य पछ्याएको इनिङ्समा अमेरिकाका कप्तान मोनांक पटेलले १०८ रनको शतकीय इनिङ्स खेलेका थिए ।

यसैगरी, स्मित पटेलले ५० तथा सेहान जयसूर्याले ७४ रन बनाए । मोनांकको संयमित ब्याटिङसँगै स्मित र जयसूर्याको महत्वपूर्ण योगदानले अमेरिकालाई कठिन लक्ष्य पछ्याएको हो । मोनांकले सय बलमा १४ चौका प्रहार गरेका थिए । यसैगरी, स्मितले ६२ बलमा दुई छक्का र चार चौका प्रहार गरी अर्धशतकीय योगदान दिएका थिए । जयसूर्याले ७५ बलको सामना गरी नौ चौका र एक छक्का प्रहार गरेका थिए । नामिबियाविरुद्ध अमेरिका बलर इहसान आदिलले ४१ रन दिएर सर्वाधिक चार विकेट लिए ।

नामिबियाको ब्याटिङमा ओपनर माइकल भानले १२४ रनको योगदान दिएका थिए । उनले १२१ बलमा ११ चौका प्रहार गरे । यसैगरी, मध्यक्रमका कप्तान गेहराड इसामुसले ४५ बल खेलेर नौ चौका र तीन छक्का प्रहार गरी ७६ रन जोडेका थिए । प्रतियोगितामा सहभागी आठमध्ये अन्य टोलीले खेल खेल्न बाँकी रहे पनि अमेरिकालाई अब कुनै टोलीले अंकमा भेट्न नसक्ने भएको छ ।

वरीयतामा नेपालको एक स्थान सुधार
आइसिसी एकदिवसीय वरीयतामा नेपाली क्रिकेट टोली एक स्थान माथि उक्लिएको छ । आइसिसीले बिहीबार जारी गरेको नयाँ वरीयताअनुसार नेपाल १६औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १७औँ स्थानमा थियो । नेपालभन्दा माथि रहेको नामिबिया एक स्थान खस्किएका कारण नेपाल अगाडि बढ्न अवसर पायो । नेपाल र नामिबियाको रेटिङ अंक भने समान २८ रहेको छ । नेपालले एसिसी प्रिमियर कप जितेपछि कुनै एकदिवसीय खेल खेलेको छैन । नेपालले आगामी आइतबार विश्वकप लिग २ अन्तर्गतको अन्तिम सिरिजमा क्यानडासँग खेल्दै छ ।

नामिबियाले हाल अमेरिकामा भइरहेको ओडीआई शृंखला खेलिरहेको छ । युएईसँगको खेल वर्षाले प्रभावित हुँदा अमेरिकासँग पराजित भयो ।

सुझावित समाचार