सन्दीप नयाँ कप्तान
लेगस्पिनर सन्दीप लामिछाने नेपालका दशौँ कप्तान बनेका छन् । २०१९ मा १७ वर्षको उमेरमै नेदरल्यान्ड्सविरुद्ध एकदिवसीयमा डेब्यु गरेका उनले अन्तर्राष्ट्रिय टी–२० डेब्यु भने २०१८ मा आइसिसी विश्व–११ बाट वेस्ट इन्डिजविरुद्ध गरेका थिए ।
२०१६ मा लिस्ट एमा नामिबिया र २०१९ मा पहिलो श्रेणी क्रिकेटमा डेब्युको अवसर पाए । सन्दीपले नेपालबाट एकदिवसीयमा १६ मध्ये १५ इनिङ्समा ४१ विकेट लिएका छन् । एकदिवसीयको ११ इनिङ्समा १०५ रन बनाएका छन् ।
टी–२० मा विशेषज्ञ लेगस्पिनरको स्थान बनाएका उनले नेपाली टोलीबाट २६ खेलमा ४७ विकेट लिएका छन् । भारतको इन्डियन प्रिमियर लिगअन्तर्गत दिल्ली क्यापिटल्समा तीन सिजन बिताएका सन्दीप विभिन्न विश्वप्रख्यात अन्तर्राष्ट्रिय टी–२० लिगमा आबद्ध छन् ।
... ...
नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई अनुशासनको कारबाही गर्दै जिम्मेवारीबाट हटाएको छ । बुधबार बसेको क्यान बोर्ड बैठकले अनुशासनविपरीत काम गरेको भन्दै मल्ल र ऐरीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । नयाँ कप्तानको जिम्मेवारी लेगस्पिनर सन्दीप लामिछानेलाई दिइएको छ ।
सन्दीप नेपाली सिनियर क्रिकेट टोलीका दशौँ कप्तान हुन् । उनी अहिले अस्ट्रेलियामा चलिरहेको बिग बास टी–२० फ्रेन्चाइज लिगमा व्यस्त छन् । उनी छोटो समयमै यू–१९ टोली हुँदै राष्ट्रिय टोलीमा स्थान बनाएका खेलाडी हुन् । कप्तानका रूपमा सन्दीपसँग नेपालमा आयोजना हुने एभरेस्ट प्रिमियर लिग (इपिएल)अन्तर्गतको काठमाडौं किंग्स इलाभेन र पोखरा प्रिमियर लिग (पिपिएल)मा विराटनगर किंग्सको अनुभव छ ।
पारस खड्काले कप्तानी छाडेपछि २०१९ मा ज्ञानेन्द्र राष्ट्रिय टोलीका कप्तान बनेका थिए । क्यानले ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को केन्द्रीय ग्रेडबाट सुरुवाती ६ महिना सहभागी नगराउने निर्णयसमेत गरेको छ । कारबाहीमा परेका चार खेलाडीले सन् २०२२ मा प्राप्त हुने ६ महिनाको तलब पाउने छैनन् । कप्तानबाट हटेपछि मल्लले तत्काल टिप्पणी नगर्ने बताए । ‘अहिले केही बोल्दिनँ,’ उनले नयाँ पत्रिकासँग भने, ‘केही दिनभित्र मेरो औपचारिक प्रतिक्रिया आउनेछ ।’
क्यानले गठन गरेको अनुशासनसम्बन्धी छानबिन समितिले खेलाडीहरूले आचारसंहिता उल्लंघन गरेको प्रतिवेदन दिएपछि क्यानले ज्ञानेन्द्र र दीपेन्द्रलाई जिम्मेवारीबाट हटाएको हो । ‘अनुशासन उल्लंघनसम्बन्धी गठन गरेको छानबिन समितिले गरेको सिफारिसबमोजिम आचारसंहिता उल्लंघनमा संलग्न चार खेलाडी ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्र्याक्टमा सुरुको ६ महिनाको लागि सहभागी नगराउन निर्णय गरिएको छ,’ क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मल्लसहितका खेलाडीले क्यानले कात्तिकमा जारी गरेको खेलाडीको वर्गीकरण वैज्ञानिक र व्यावहारिक नभएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल, कमलसिंहले असन्तुष्टि पोखेका थिए । त्यसपछि क्यानले उनीहरूसँग २५ कात्तिक र ८ मंसिरमा गरी दुईपटक स्पष्टीकरण लिएको थियो ।
यसबीच ५ मंसिरमा ज्ञानेन्द्रसहित १९ खेलाडीले हस्ताक्षर गर्दै क्यानलाई ११ बुँदे माग बुझाए । उनीहरूले क्यानलाई सात दिनभित्र आफ्नो माग पूरा हुनुपर्ने माग राखेका थिए । सोमपालले बी ग्रेडमा पर्दा आफूमाथि अन्याय भएको बताएका थिए भने कमलसिंह सी ग्रेडमा रहँदा सन्तुष्ट थिएनन् ।
क्यानको वर्गीकरणमा ज्ञानेन्द्र र दीपेन्द्र ग्रेड एमा छन् । वर्गीकरणमा असन्तुष्ट हुँदा क्यान र खेलाडीबीच विवाद बढ्दै गएको थियो । छानबिन समितिले आइतबार क्यानलाई प्रतिवेदन बुझाएको थियो । क्यानले अन्तिममा मल्ल र ऐरीलाई पदमुक्त गर्ने निर्णय लिएको हो । यसैबीच, क्यानले राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण २१ डिसेम्बरदेखि पोखरामा सञ्चालन गर्ने निर्णय गरेको छ ।
क्यान बोर्डका ६ सदस्यको विरोध
खेलाडीहरूलाई कारबाही गर्ने निर्णयप्रति क्यान बोर्डका ६ सदस्यले आपत्ति जनाए । छानबिन समितिको प्रतिवेदनमाथि छलफल गर्न बुधबार बसेको क्यान बैठकमा खेलाडीमाथि कारबाहीका सम्बन्धमा विवाद भएको सहभागी एक सदस्यले बताए । ‘मिडियामा दिएको टिप्पणीकै भरमा कारबाही गर्न नहुने भनेका थियौँ, तर बोर्डले कारबाहीको निर्णय गरेको छ,’ बैठकमा सहभागी ती सदस्यले भने, ‘हामीहरूको विरोधबीच नै निर्णय भयो ।’ अन्य सदस्यहरूले भने आचारसंहिता उल्लंघन गरेका खेलाडीमाथि कारबाही हुनुपर्ने अडान लिए । विवादपछि बहुमतका आधारमा निर्णय भएको उनले बताए । विरोधमा उभिएका ६ सदस्यले ‘नोट अफ डिसेन्ट’ लेखेका छन् ।