स्थानीय तहका कर्मचारी सरुवामा संघीय सरकारको हस्तक्षेप

बुधबार, २२ मंसिर, २०७८
डिजिटल संस्करण

संसदबाट निजामती विधेयक फिर्ता लिएर तजबिजमा कर्मचारी व्यवस्थापन गर्दै सरकार

सरकार संसद्बाट निजामती सेवा ऐन जारी गर्न छाडेर तजबिजका आधारमा प्रदेश र स्थानीय तहका कर्मचारीको व्यवस्थापनमा लागेको छ । तत्कालीन केपी ओली नेतृत्वको सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई थन्क्याएर संविधानविपरीत कर्मचारी समायोजन उल्टाउनुका साथै स्थानीय तहमा कार्यरत कर्मचारी खटनपटन गरेको थियो । वर्तमान सरकारले पनि सोही पदचाप पछ्याउँदै मंगलबार स्थानीय तहका एक हजार ६ सय १३ कर्मचारी सरुवा गरेको छ ।

सरकारको निर्णय संघीयताको मर्मविपरीत छ : उमेश मैनाली, पूर्वअध्यक्ष, लोकसेवा आयोग

तत्तत् स्थानीय तह नै तोकेर लोकसेवाले विज्ञापन गरेर तोकेरै खटाइएको थियो । अहिले कुन ऐन र कानुनमा टेकेर सरुवा हुँदै छ । कसले अधिकार दियो थाहा छैन । स्थानीय तहमा पहिलेदेखि नै कर्मचारी कम छन् । स्थानीय तहकै लागि भर्ना गरिएका कर्मचारी पनि संघले चलाउन थालेपछि अब दुर्गमका स्थानीय तह पूरै खाली हुन्छन् । यो संघीयताको मर्मविपरीत छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकृत छैटौँस्तर, सबइन्जिनियर, सहायकस्तर पाँचौँ, चौथो, कम्प्युटर अपरेटर, लेखापाल, अमिन, महिला निरीक्षकलगायतको सरुवा गरेको हो । ‘तत्तत् स्थानीय तह नै तोकेर लोकसेवाले विज्ञापन गरेर तोकेरै खटाइएको थियो,’ लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीले भने, ‘अहिले कुन ऐन र कानुनमा टेकेर सरुवा हुँदै छ । कसले अधिकार दियो थाहा छैन ।’ ०७५ मा कर्मचारी समायोजनताका भएको गल्ती दोहोर्‍याएर सरकारले ठूलो गल्ती गरिरहेको उनले बताए । ‘स्थानीय तहमा पहिलेदेखि नै कर्मचारी कम छन् । स्थानीय तहकै लागि भर्ना गरिएका कर्मचारी पनि संघले चलाउन थालेपछि अब दुर्गमका स्थानीय तह पूरै खाली हुन्छन् । यो संघीयताको मर्मविपरीत छ,’ मैनालीले भने ।

०७६ मा लोकसेवा उत्तीर्ण गरी स्थानीय तहमा खटिएका नौ हजार चार सयमध्ये चार हजारले सुगममा रहेका स्थानीय तहमा सरुवाका लागि संघीय मन्त्रालयमा निवेदन दिएका थिए । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठले आफू नियुक्तिपछि पहिलो चरणमा स्थानीय तहका कर्मचारीको अन्तरतह सरुवा गरेका हुन् । निवेदन दिएकामध्ये आधाभन्दा बढीको सरुवा वा निर्णय हुनै बाँकी छ । ५७ जनाको भने मापदण्डअनुसार निवेदन नपरेको भन्दै सरुवा भएन । 

संविधानअनुसार पनि स्थानीय तहका कर्मचारीको व्यवस्थापनको अधिकार प्रदेश सरकारलाई छ भने स्थानीय तह र प्रदेशमा कर्मचारीको पदपूर्ति, बढुवा पनि प्रदेश लोकसेवा आयोगबाट हुनुपर्ने संवैधानिक व्यवस्था छ  । तर, संविधान जारी भएको ६ वर्ष नाघ्दा पनि संघीय निजामती सेवा ऐन जारी हुन सकेको छैन । जसकारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको काम कर्मचारी खटनपटनमा सीमित भइरहेको छ ।

२७ माघ ०७५ मा संसद्मा दर्ता भई दुई वर्ष राज्य व्यवस्था तथा सुशासन समितिमा अड्किएको विधेयक गत २३ चैतमा संसद्मा पेस भएको थियो । तर, १९ असोजको मन्त्रिपरिषद् बैैठकले विधेयक फिर्ता लिएर कुनै विकल्प अगाडि नसारी पूर्ववर्ती सरकारले गत माघमा जारी गरेको ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’को आडमा सरुवा गरेको हो ।

कर्मचारी सरुवा कामचलाउ मात्र भएको छ, ऐन आएपछि मात्र कानुनी मान्यता पाउँछ : वसन्त अधिकारी  प्रवक्ता, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

स्थानीय र प्रदेश तहका कर्मचारीको समायोजन, सरुवाको काम ‘कामचलाउ’ रूपमा भइरहेको छ । कर्मचारी व्यवस्थापन नै नगरी रोक्ने कुरा पनि भएन । मन्त्रिपरिषद्को निर्णयका आधारमा कार्यविधि र मापदण्डका आधारमा व्यवस्थापन भइरहेको छ, ऐन आएपछि मात्र कानुनी मान्यता पाउँछ ।

स्थानीय तहमा ६६ हजार नौ सय आठ दरबन्दी स्वीकृत
कर्मचारी समायोजन गर्दा संघमा ४८ हजार चार सय नौ, प्रदेशमा २२ हजार दुई सय ९७ र स्थानीय तहमा ६६ हजार नौ सय आठ दरबन्दी स्वीकृत गरिएको थियो । तर, अहिले संघमा दरबन्दी बढाएर ५३ हजार पुर्‍याइएको छ भने प्रदेश र स्थानीय तहमा क्रमशः १८ हजार र ६५ हजारमा झारिएको छ ।

पूर्वमन्त्री त्रिपाठीले  उल्ट्याएका थिए कर्मचारी समायोजन
कर्मचारी समायोजन ऐन, २०७५ अनुसार ०७६ साउनसम्म समायोजन पूरा भएको दाबी सरकारले गरेको थियो  । तर, दोस्रोपटक कर्मचारीको गुनासो सम्बोधन गर्न भन्दै तत्कालीन सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले १५ जनाको समायोजन मिलान र तीनजना कर्मचारीको सरुवा गरेर समायोजन उल्ट्याएका थिए । 

१ भदौ ०७७ मा मन्त्रिपरिषद्बाट मापदण्डलाई आधार मानेर संघीय मन्त्रालयले गत मंसिरबाट सरुवा खोलिदियो, जुन निर्णय समायोजन ऐनविपरीत थियो । ऐनमा एकपटकका लागि समायोजनको व्यवस्था भए पनि सरकारले नीतिगत निर्णय भन्दै सरुवा गरिरहेको छ  । त्यसका लागि सामान्यले गत माघ–फागुनमै निवेदन लिइसकेको छ । तर, समायोजन मिलान अझै टुंगिएको छैन । समायोजन मिलानका लागि मन्त्रालयमा झन्डै दुई हजार तीन सय निवेदन रहेको सामान्य प्रशासनका एक अधिकृतले बताए । प्रवक्ता अधिकारी भने समायोजन मिलानको काम केही ढिलाइ भए पनि काम नै नभएको भन्न नमिल्ने बताउँछन् । ‘काम भइरहेको छ, रोकिएको छैन,’ उनले भने ।

संघीय निजामती सेवा ऐन जारी नहुँदा प्रदेश सरकारका काम प्रभावित

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारी पनि स्थानीय र प्रदेश तहका कर्मचारीको समायोजन, सरुवाको काम ‘कामचलाउ’ रूपमा भइरहेको स्वीकार गर्छन् । ‘कर्मचारी व्यवस्थापन नै नगरी रोक्ने कुरा पनि भएन,’ उनले भने, ‘मन्त्रिपरिषद्को निर्णयका आधारमा कार्यविधि र मापदण्डका आधारमा व्यवस्थापन भइरहेको छ, ऐन आएपछि मात्र कानुनी मान्यता पाउँछ ।’

यसअघि तत्कालीन सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले कार्यविधि जारी गरेर डेढ महिना अन्तरतह सरुवा गरेका थिए । तर, १ चैतमा एकाएक सरुवा रोकेर ८ वैशाखबाट नयाँ निवेदन संकलन थालिएको थियो । निवेदन संकलनको करिब नौ महिनापछि अन्तरतह सरुवा भए पनि यो अन्तरिम विकल्प मात्र हो । संघीय निजामती सेवा ऐन जारी नहुँदा प्रदेश सरकारका काम पनि प्रभावित बनेका छन् । किनकि संघीय ऐनमा रहेर प्रदेश सरकारले प्रदेश निजामती सेवा ऐन ल्याउनुपर्ने हुन्छ । यद्यपि, प्रदेश २ सरकारले ऐन जारी गरिसकेको छ । 

संघको प्रस्तावित विधेयकमा प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाबाट पदपूर्ति गरिने उल्लेख छ । प्रदेश सचिव र प्रमुख प्रशासकीय अधिकृत सम्बन्धित तहको कर्मचारीबाट पूर्ति नभएसम्म संघीय मन्त्रालयले नै खटाउने गरेको छ । 

सुझावित समाचार