अफगानिस्तानमा सत्ता सञ्चालन गरिरहेको तालिबानले महिलाको अधिकारको रक्षा गर्ने जनाएको छ। तालिबानले महिला अधिकारको रक्षा गर्न नसकेको भनेर विश्वमा नै आलोचना भइरहेका वेला यस्तो प्रतिबद्धता सार्वजनिक गरेको हो।
यहाँका सर्वोच्च नेताले महिला अधिकारको रक्षाका लागि भन्दै निर्देशिका जारी गरेका छन्। शुक्रबार तालिबान सरकारका सर्वोच्च नेता हैबतुल्लाह अखुन्जादाले निर्देशिका जारी गरेका हुन्। उक्त निर्देशिकामा महिलालाई स्वतन्त्रता दिइएको बताइएको छ। महिलाले विद्यालय जान पाउने र विवाहका क्रममा पनि कुनै दबाब दिन नपाइने बताइएको छ।
त्यसैगरी, महिलालाई उनीहरूका अधिकारमा जबर्जस्ती गर्न नपाइने बताइएको छ। एकल महिलाले पनि आफ्नो इच्छाबमोजिम विवाह गर्न पाउने कुरा निर्देशिकामा उल्लेख भएको जनाइएको छ। कुनै पनि व्यक्तिले एकभन्दा बढी श्रीमती राखेको छ भने पनि उसले इस्लामिक कानुनअनुसारका अधिकार महिलालाई दिनुपर्ने उल्लेख छ।
अफगानिस्तानमा महिला अधिकार हननका कैयौँ घटना सार्वजनिक हुने गरेका छन्। अहिले तालिबानहरू सत्तामा आएपछि पनि उनीहरूले महिला र बालबालिकालाई अधिकार नदिएका र दबाब दिएका भनी विश्वव्यापी रूपमा आलोचना हुँदै आएको थियो। रासस/सिन्ह्वा