नयाँदिल्ली/ मतदाता नामावलीमा गरिएको विवादास्पद संशोधनलाई लिएर भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै दिल्लीमा आइतबार हजारौँ मानिस भेला भए ।
विपक्षी ‘इन्डिया’ (आइएनडिआइए) गठबन्धनद्वारा आयोजित र राहुल गान्धीको कंग्रेस पार्टीको नेतृत्वमा भएको विरोध प्रदर्शनमा गठबन्धनका धेरै प्रमुख नेताको उपस्थिति थियो, जसलाई प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्धको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ ।
प्रदर्शनकारीले झन्डा हल्लाउँदै ‘भोट जोगाऊ, देश बचाऊ’ र ‘भोट चोर, सत्ता छोड’जस्ता नारा लगाए । मतदाता नामावली संशोधनलाई लिएर भइरहेका विरोध प्रदर्शनको शृंखलामा यो पछिल्लो घटना हो । भारतीय जनता पार्टी (भाजपा) लाई फाइदा पुर्याउने उद्देश्यले योग्य मतदाताको नाम नामावलीबाट हटाइएको विपक्षी दलको दाबी छ । भारतीय जनता पार्टी र निर्वाचन आयोगले भने यी आरोप अस्वीकार गरेका छन् ।
दिल्लीको मध्य भागमा अवस्थित रामलीला मैदानमा मानिसको भिड जम्मा भएको थियो । यो मैदान ठुला राजनीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने ठाउँका रूपमा परिचित छ । केही प्रदर्शनकारी देशभक्तिपूर्ण बलिउड गीतमा नाचगान गरिरहेका थिए भने अन्य कतिपय भारतीय झन्डाको रङमा सजिएको एउटा ठुलो टेन्टमुनि बसेर विपक्षी दलका नेताहरूको सम्बोधन सुन्न पर्खिरहेका थिए ।
गान्धी र विपक्षी दलका अन्य धेरै वरिष्ठ नेता खुला जिपमा चढेर आफूलाई समर्थन गर्ने र जयजयकार गरिरहेका मानिसको भिडबिच हुँदै कार्यक्रम स्थलमा पुगेका थिए । विरोध कार्यक्रममा कंग्रेस नेतृ सोनिया गान्धी र नेता मल्लिकार्जुन खर्गेका साथै ममता बनर्जी, अखिलेश यादव, महबुबा मुफ्ती, सुप्रिया सुले र तेजस्वी यादवजस्ता क्षेत्रीय दलका नेताको पनि उपस्थिति थियो ।
भिडलाई सम्बोधन गर्दै राहुल गान्धीले भेला भएका मानिसले मोदी, गृहमन्त्री अमित शाह र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारलाई एउटा सन्देश दिएको बताए । ‘यो कुनै एक राजनीतिक दल वा नेताको आवाज होइन । यो भारतका युवा, महिला, किसान र मजदुरको आवाज हो,’ राहुलले भने, ‘हामी भारतमा लोकतन्त्रलाई नष्ट हुन दिनेछैनौँ । हामी संविधानलाई पनि नष्ट हुन दिनेछैनौँ ।’
अन्य विपक्षी नेताले पनि निर्वाचन आयोगप्रति गान्धीले गरेको आलोचनामा सहमति जनाए । कंग्रेस अध्यक्ष खर्गेले प्रमुख आयुक्त ज्ञानेश कुमारले राजीनामा नदिएसम्म गठबन्धनले आफ्नो अभियान जारी राख्ने बताए भने बंगालकी पूर्वमुख्यमन्त्री बनर्जीले लोकतन्त्रमाथि आइपरेका खतराविरुद्ध निरन्तर लडिरहने प्रतिबद्धता व्यक्त गरिन् ।
आइतबार दिल्लीमा पत्रकारसँग कुरा गर्दै भाजपाका वरिष्ठ नेता तथा केन्द्रीय मन्त्री जेपी नड्डाले विपक्षीहरूले लोकतन्त्रको रक्षा गर्ने बहानामा अशान्ति मच्चाउन र सरकारलाई अस्थिर बनाउन खोजेको आरोप लगाए । उनले उक्त र्यालीलाई ‘लोकतन्त्रको नाममा राष्ट्रलाई अराजकतामा धकेल्ने एउटा सुनियोजित षड्यन्त्र’को संज्ञा दिए ।
यस विवादको केन्द्रबिन्दुमा ‘विशेष सघन पुनरावलोकन’ (स्पेसल इन्टेन्सिभ रिभिजन अर्थात् एसआइआर) भनिने एउटा प्रक्रिया रहेको छ, जसका कारण भारतको मस्यौदा मतदाता सूचीबाट १३ करोडभन्दा बढी नाम हटाइएका छन् । निर्वाचन आयोगका अनुसार यो प्रक्रियाको उद्देश्य दोहोरिएका दर्ता हटाउनु तथा मृत्यु भइसकेका, अन्यत्र बसाइँ सरेका वा मतदान गर्न अयोग्य ठहरिएका व्यक्तिको नाम हटाउनु हो ।