पाकिस्तानको बलुचिस्तन प्रान्तको क्वेटा सहरमा केही सातादेखि जननिर्वाचित प्रतिनिधिको रिहाइको माग गर्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । पस्तुन तहाफुज मुभमेन्ट (पिटीएम)को आह्वानमा क्वेटामा विरोध प्रदर्शन भएको हो। पिटिएमका नेता अलि बाजिर र मुहम्मद हनिफको रिहाइका लागि उनीहरूले आन्दोलन गरेका हुन्। नेता अलि बाजिर दक्षिण बाजिरिस्तानका संसद् सदस्य पनि हुन् जो ११ महिनादेखि प्रहरी गिरफ्तारीमा छन्।
पाकिस्तानी सञ्चारमाध्यमका अनुसार बलुचिस्तान विधान सभाले पारित गरेको क्रिमिनल ल अध्यादेश फिर्ता गर्न प्रदर्शनकारीहरूले माग गरेका छन्। यो अध्यादेशले प्रान्तमा विरोध प्रदर्शनमा प्रतिबन्ध लगाएको उनीहरूको भनाइ छ। यो अध्यादेशअनुसार सरकारले जो कसैलाई पनि विनावारेन्ट तीनदेखि ६ महिनासम्म पक्राउ गर्न सक्छ र १० हजारसम्म जरिवाना तिराउन सक्छ । अध्यादेश जारीसँगै तत्काल लागू भएको छ।
बलुस्तिान पोस्टका अनुसार पिटिएमका प्रमख मनजुर पासतिनले पाकिस्तानी सेनामा रहेका पास्तुन सैनिकलाई बलोच राष्ट्रवादीहरूविरुद्ध लडाइँ नगर्न आग्रह गरेका छन्। पिटिएमले चेकपोस्टहरू हटाउन, अफगानिस्तानसँगको चमान सीमा खुलाउन, बेपत्ता भएकाहरूको रिहाइ गर्न र प्रान्तमा लगाइएको संकटकाल हटाउन माग गरेका छन्।