शिक्षक पेसाबाट राजनीतिमा आएका बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल ०५४ सालमै गाविस अध्यक्ष चुनिएर एक कार्यकाल गाविस अध्यक्षको जिम्मेवारी पूरा गरिसकेका व्यक्ति हुन् । देशकै गनिएका, मानिएका मानिसहरू बस्ने ठाउँको स्थानीय तह प्रमुख भएर काम गरिरहेका खरेलसँग नगरपालिकाका योजना, प्रगति र अप्ठ्याराका विषयमा गरिएको कुराकानी :
बूढानीलकण्ठ नगरपालिकालाई कसरी चिन्ने ?
बूढानीलकण्ठ नगरपालिका काठमाडौंको उत्तरपट्टि रहेको देशका सफल, वरिष्ठ, उच्चपदस्थ मानिसहरूको रोजाइको ठाउँ हो । माथिल्लो भाग भिरालो छ भने कृषियोग्य सबै भूभाग बसोवासमा प्रयोग भइसकेको छ । हामीले यसलाई औद्योगिक नगरपालिका पनि भन्न सक्दैनौँ, कृषिप्रधान नगरपालिका पनि भन्न सकिएन । सांस्कृतिक नगरपालिका पनि होइन । त्यसैले यो धेरै मानिसको बसोवास भएकाले आवासीय नगरपालिका भन्दा हुन्छ । यहाँ अन्यत्रबाट कमाएर ल्याई बस्ने र खाने ठाउँ मात्र हो । त्यसैले हामीले यसलाई पर्यटकीय नगरपालिका बनाउने कोसिस गरिरहेका छौँ ।
नगरपालिकाका समस्या कस्ता–कस्ता छन् ?
समस्या जहाँ छ, समाधान पनि त्यहीँ छ । ठूला समस्याको ठूलै समाधान हुन्छ । साना समस्याको सानै समाधान हुन्छ । तर, हामीमा सबै समस्याको एकैपटक क्याप्सुलमा समाधान खोज्ने बानी परेको छ । यहाँ ठूलो समस्या छैन । पूर्वाधार निर्माणमा धेरै काम गरिसकेका छौँ । सहरलाई सफा, सुन्दर र आकर्षित बनाउने काम बाँकी छ । अहिले हामीसँग भएको संयन्त्र, काम गर्ने क्षमतामा केही समस्या देखिएको छ । दक्ष, योग्य र सक्षम संयन्त्र अहिलेको समस्या हो । पुरानो प्रक्रिया र प्रवृत्ति हाबी छ । त्यसैले हामीसँग भएका संयन्त्र प्रयोग गर्दै समस्या समाधानमा लागी नै रहेका छौँ ।
यहाँ राष्ट्रिय परिचय बनाएका वा राष्ट्रिय प्रभाव पार्न सक्ने मानिस बस्छन्, उनीहरूको नगरपालिकामा पर्ने प्रभावचाहिँ कस्तो छ ?
यहाँ राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सचिवहरू, सेना–प्रहरीका उच्चपदस्थ व्यक्तित्वहरू, शिक्षित व्यक्तिहरू धेरै छन् । मानिसहरू जति शिक्षित र उच्चपदस्थ भए पनि ऊ देशप्रति कतिको चिन्तित हुन्छ भन्ने कुरा महत्वपूर्ण हो । ऊ आफू बसेको ठाउँप्रति कत्तिको जिम्मेवार छ भन्ने कुरामा पनि भर पर्छ । एकजना ठूलो पद ओगटेको मानिस कम्पाउन्डको पानी सीधै सडकमा फाल्छ, उसको बगैँचाको झाडीले छिमेकीलाई अवरोध गरिरहेको छ । उसको कम्पाउन्डको रूखले अर्को छिमेकीको घरमा निकै नै अवरोध पुर्याएको छ । काट्नुपर्यो भन्दा मान्दैन । आफ्नो घरको बाटो बिग्रिँदा पनि चासो राख्ने, सक्रिय हुने मानसिकता पनि कम देखिन्छ । त्यसैले सबै तह, वर्ग, व्यवसाय सम्हालेर बसेका सबैले आ–आफ्नो पक्षबाट गर्नुपर्ने काम भएको देखिँदैन । ठूला भनिने मान्छे नै अटेरी नहुने हो भने काम गर्न त्यति गाह्रो छैन ।
कसैले जनतालाई दुःख दिने छुट छैन । कसैले भ्रष्टाचार गर्छ भने हामी छाड्दैनाैँ । मेरै कुनै कमजोरी छ भने पनि त्यसको भण्डाफोर गर, म गाली खान तयार छु
आवासीय नगरपालिका भनेर भन्दाभन्दै पनि यहाँ उत्पादनशील जनशक्ति र उत्पादनका सम्भावना त होलान् नि ? त्यसका लागि के गर्दै हुनुहुन्छ ?
मकहाँ दिनको १० जना मानिस जागिर माग्न आउँछन् । यहाँ बाहिरबाट आएर बस्नेहरू कुनै न कुनै व्यवसायमा छन् । उनीहरूले यहाँ कमाएर घर बनाएका छन् । नोकरी वा व्यवसाय छ । तर, यहाँ पहिलेदेखि बस्नेहरू अहिले पनि बेरोजगार भएको अवस्था छ । पहिले अलि–अलि जग्गा थियो । बिक्री गर्दागर्दै त्यो पनि सकिँदै गयो । सीप पनि छैन, आम्दानीको बाटो पनि छैन भन्ने अवस्थामा अहिले पनि धेरै छन् । यहाँ उद्योग गर्न पाइँदैन । तर, मर्मतसम्बन्धी विभिन्न सीपमूलक तालिम दिन सकिन्छ र उनीहरू स्वरोजगार हुन सक्छन् । जस्तै, कम्प्युटर मर्मत, मोबाइल मर्मत, प्लम्बिङ, वायरिङ, फर्निचर मर्मतजस्ता सबै घरमा आवश्यक भएका र अहिले जनशक्ति पनि नपुग भएकाले विभिन्न प्रकारका तालिमलाई जोड दिएको छु । मैले सबैलाई जागिर दिन त सक्दिनँ । तर, काम सानो–ठूलो हुँदैन भनेर उनीहरूलाई बुझाउने र सीप सिकाउने नै यसको उपाय हो । तैपनि यसलाई उपलब्धिमूलक बनाउन सकिएको छैन कि भन्ने चिन्ता छ । अबको प्राथमिकताचाहिँ ज्ञान, गुण र सीपको विकास रहेको छ ।
नगरपालिका बनेपछि तपाईं पहिलो मेयर । नगरस्तरीय सेवा दिनका लागि पूर्वाधारको समस्या पनि आयो होला नि ?
६ वटा गाविसहरूलाई एकीकृत गरेर १३ वटा वडामा विभाजन गरियो । पहिलो एक वर्ष काम गर्ने ठाउँ पनि भएन, बस्ने कुर्सीसम्म पनि भएन । तर, पहिला नै सर्वदलीय संयन्त्रमा म पनि थिएँ । कसरी काम गर्ने र पूर्वाधार निर्माण गर्ने भन्ने कुरा हुन्थ्यो । अब नगरपालिका भवन र १३ वटा वडा कार्यालय बनाउनुपर्छ भनेर अघि बढ्यौँ । त्यसपछि चुनावभन्दा अघि नै यो नगरपालिका कार्यालय बनाउने स्थान तय भयो । डिपिआर बन्यो र टेन्डर पनि गरिसकिएको थियो । त्यसैले उपत्यकामै सबैभन्दा पहिले आफ्नै भवनबाट काम गर्न सफल भयौँ । केही वडा कार्यालय पनि हामीले गाविस हुँदै तला थपेर केही राम्रा बनाएका थियौँ । मेरो कार्यअवधिमै सबै वडा कार्यालय बनाउने योजना छ । अहिले ३ वटा वडा कार्यालय मात्रै भाडामा छन् । भवन बन्यो, तर अब भित्रको डेकोरेसन वा सजावटको सीप आवश्यक छ ।

पर्यटन विकासको नारा नै बनाएर अघि बढ्नुभएको छ नि ?
हामीले नारा नै ‘पर्यटन पूर्वाधार : समृद्धिको मूल आधार’ भनेर राखेका छौँ । यहाँको भूबनोट पनि पर्यटनको विकासका लागि सुहाउँदो छ भन्ने लाग्छ । त्यसैले रोजगारी र नगरपालिकाको आय वृद्धिका लागि पनि हामीले मुख्य योजनामा राखेको काम भनेकै पर्यटकीय क्षेत्रको विकास र त्यसको प्रवद्र्धन नै हो । नगरकोट, चन्द्रागिरिमा पर्यटनको सम्भावना छ भने बूढानीलकण्ठमा पनि सम्भावना नहुने कुरा भएन । तर, केही समस्या छन्, राष्ट्रिय निकुञ्जको जग्गा पाइँदैन । मध्यवर्ती क्षेत्रमा काम गर्न सहज छैन । अहिले चारवटा ठूला होटेल यहाँ बन्दै छन् । अन्य पर्यटकीय पूर्वाधार पनि बन्दै छन् । म पनि एउटा संग्रहालय र सिर्जना ग्राम बनाउन लागिपरेको छु । इको पार्क जिप लाइनजस्ता कामको पनि सर्भे भइरहेको छ । अब हरेक कुरालाई समृद्धिसँग जोड्नुपर्छ । त्यसैअनुसार पर्यटनलाई केन्द्रमा राखेर काम भइरहेको छ । हाम्रो उद्देश्य भनेकै पर्यटकीय नगर बूढानीलकण्ठ बनाउने हो ।
सुशासनको विषयमा बोल्नुपर्यो भने ?
सुशासन र सदाचार हाम्रो पहिलो सर्त हो । नगरपालिका वा वडामा काम लिएर जाँदा सर्वसाधारणले कस्तो सेवा पाइरहेका छन् भन्नेमा हामी सजग छौँ । कर लिने, तर काममा दुःख दिने भयो भने यसको जस्तो नराम्रो प्रभाव अरू हँुदैन । कतिपय यस्ता समस्या पनि छन् । त्यसैले हामी सुशासन दिन कोसिस गरिरहेका छौँ । कसैले जनतालाई दुःख दिने छुट छैन । कसैले भ्रष्टाचार गर्छ भने हामी छाड्दैनाैँ । मेरै कुनै कमजोरी छ भने पनि त्यसको भण्डाफोर गर, म गाली खान तयार छु भनेको छु । अझै पनि पूरा सुशासन छैन । त्यसका लागि केही समय लाग्छ । तैपनि समग्रमा भन्नुपर्दा बूढानीलकण्ठले राम्रो गरेको छ ।