सिमेन्ट निर्यातको सम्भावना

हामीले मूल्यमा भारतसँग प्रतिस्पर्धा गर्न सक्यौँ भने सीमानजिकका भारतीय सहरमा नेपालमा उत्पादित सिमेन्टको ठूलो सम्भावना छ । तर, भारतीय बजारमा प्रतिस्पर्धा गर्ने हो भने सर्वप्रथम लागत मूल्य उल्लेखनीय घटाउनुपर्ने देखिन्छ ।

सोमबार, २१ भदौ, २०७८
डिजिटल संस्करण

नेपालमा सिमेन्टको उत्पादन सन् १९७५ मा हिमाल सिमेन्टको स्थापनासँगै सुरु भयो । हिमाल सिमेन्टको प्रतिदिन उत्पादन क्षमता १६० टन थियो । सन् २०२० सम्म आइपुग्दा ४६ वर्षको अवधिमा हाम्रो क्षमतामा २६३ गुणाले वृद्धि भई दैनिक क्षमता ४२,००० टन (स्रोत : उद्योग विभाग) पुगेको छ । यो अवधिमा हाम्रो कुल गार्हस्थ्य उत्पादन रु. १६.६ (१९७५) अर्बबाट २३७ गुणाले वृद्धि भई करिब ४० खर्ब (२०२०) पुगेको छ । केही वर्षअगाडिसम्म बर्सेनि अर्बौंको सिमेन्ट आयात हुन्थ्यो, हाल आयात शून्यकै आसपास छ । क्लिंकर ५० लाख टन आयात हुन्थ्यो, अहिले केवल पाँच लाख टनको हाराहारीमा आयात हुन्छ । र, यो भोलुम हाम्रो आन्तरिक खपतको जम्माजम्मी ३ प्रतिशत मात्र हो । सिमेन्ट र क्लिंकर दुवैमा हामी आत्मनिर्भर त छौँ, तर सीमानजिकका केही उद्योगलाई भारतबाट आयात गर्दा सस्तो पर्ने कारणले अहिले पनि केही मात्रामा क्लिंकरको आयात हुने गरेको छ । 

सिमेन्टमा आत्मनिर्भरता हुनुमा नेपालका उद्योगपति, निजीकरण लागू गर्ने तत्कालीन सरकार र अर्थमन्त्रीलाई क्रेडिट जान्छ । सन् १९९० अगाडि नेपालमा केवल तीनवटा सिमेन्ट उद्योग थिए । निजीकरण लागू भएसँगै निजी लगानीमा खुल्ने सिमेन्ट उद्योगहरूको संख्या बढ्दै गयो र आजसम्म आइपुग्दा १२० भन्दा बढी सिमेन्ट उद्योग विभागमा दर्ता भएका छन् । ६५ जति सिमेन्ट उद्योग सञ्चालनमा छन् । 

सिमेन्ट उत्पादन र आर्थिक वृद्धि : सिमेन्टलाई ऊर्जा खपतजस्तै आर्थिक वृद्धिको सूचक मान्न सकिन्छ । विकासशील राष्ट्रहरू जस्तै– चीन, भारत, ब्राजिल, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, गुयना, अर्जेन्टिनालगायतका मुलुकमा यसको खपत तीव्रतर देखिन्छ । न्युयोर्क टाइम्समा प्रकाशित एक लेखअनुसार विश्वभर खपत हुने सिमेन्टको ८० प्रतिशत उत्पादन र त्यसको खपत विकासशील मुलुकमा हुन्छ । युक्रेन र नेपालजस्ता मुलुकहरूमा केही वर्षमै उत्पादन क्षमता दोब्बर भएको छ । नेपालमा वार्षिक करिब एक करोड टन सिमेन्ट उत्पादन हुन्छ (उद्योग विभाग), जसको मार्केट भ्यालु करिब एक खर्ब ४० अर्ब हुन्छ । जुन कुल गार्हस्थ्य उत्पादनको करिब ३.५ प्रतिशत हुन पुग्छ । विगत केही वर्षमा उत्पादन क्षमतामा तीव्रतर वृद्धि भएको छ र सिमेन्ट उत्पादनले आर्थिक वृद्धिमा राम्रो योगदान पु¥याएको छ । उत्पादन क्षमतामा ठूलो वृद्धि हुनुको कारण सहज ऋणको उपलब्धता पनि हो । विगत ७–८ वर्षदेखि सिमेन्ट उद्योगका लागि ठूलो परिमाणमा ऋण परिचालन भएको छ ।

उत्पादन क्षमता र आन्तरिक खपत : उद्योग विभाग र नेपाल राष्ट्र बैंकको अध्ययनले वार्षिक क्षमता एक करोड ५० लाख टन र खपत एक करोड टन देखाउँछ भने सिमेन्ट व्यवसायीहरूका अनुसार वार्षिक उत्पादन क्षमता दुई करोड २० लाख टन र आन्तरिक खपत करिब एक करोड ५० लाखदेखि एक करोड ७० लाख मेट्रिक टन छ । होङ्सी, रिद्धिसिद्धि, शिवम्, सौर्य, मारुती, जगदम्बाजस्ता ठूला उद्योगहरू लगभग पूर्ण क्षमतामा सञ्चालित छन् भने बाँकीको केवल ५०–५५ प्रतिशत हाराहारीमा मात्र क्षमता उपयोग भएको देखिन्छ ।

विगत केही वर्षमा उत्पादनमा ठूलो वृद्धि भएको छ, तर मागमा त्यसअनुसारको ठूलो वृद्धि देखिँदैन, जसकारण उत्पादन क्षमताको उपयोग औसतमा ७० प्रतिशतको आसपासमा छ । अहिले नेपालमा खुद्रा बिक्री ७० प्रतिशत र प्रोजेक्ट सेल्स ३० प्रतिशतको हाराहारीमा छ । नेपालमा जलविद्युत् परियोजनाहरू, ठूला व्यावसायिक भवन, पुल, सिँचाइ नहर, हाउजिङ तथा अपार्टमेन्टहरूका लागि हुने व्यापार प्रोजेक्ट सेल्सअन्तर्गत पर्छन् भने निजी आवास र अन्य सामान्य संरचनामा हुने खपत खुद्रा बिक्रीअन्तर्गत पर्छन् । नेपालका जलविद्युत् परियोजनाहरूमा औसतमा प्रतिमेगावाट १७०–२०० टन सिमेन्ट खपत भएको देखिन्छ ।

विद्युत् विकास विभागका अनुसार नेपालमा ७,५०० मेगावाटबराबरका २३९ जलविद्युत् आयोजनाले निर्माण लाइसेन्स पाइसकेका छन्, १५,७२० मेगावाटबराबरका २२६ आयोजना सर्वेक्षणको चरणमा छन् । सबै आयोजना निर्माण भएमा जलविद्युत्को क्षेत्रबाट मात्र करिब ४५ लाख टनभन्दा बढी सिमेन्टको माग हुने देखिन्छ ।

अन्य देशको उदाहरण हेर्दा युगान्डाको नाइल नदीमा निर्माणाधीन ६०० मेगावाटको करुमा हाइड्रोपावरमा कुलमा एक लाख १४ हजार टन र औसतमा प्रतिमेगावाट १९० टन सिमेन्ट खपत भएको छ । विद्युत् विकास विभागका अनुसार नेपालमा ७,५०० मेगावाटबराबरको २३९ जलविद्युत् आयोजनाले निर्माण लाइसेन्स पाइसकेका छन्, १५,७२० मेगावाटबराबरको २२६ आयोजनाहरू सर्वेक्षणको चरणमा छन् । सबै आयोजना निर्माण भएमा जलविद्युत्को क्षेत्रबाट मात्र करिब ४५ लाख टनभन्दा बढी सिमेन्टको माग हुने देखिन्छ । जलविद्युत् परियोजनाहरूको निर्माण सिमेन्टको ग्रोथ ड्राइभर भए जस्तै सिमेन्ट उद्योग पनि हाइड्रोको ग्रोथ ड्राइभर हो । सिमेन्ट उद्योग सबैभन्दा बढी विद्युत् खपत गर्ने संस्थामध्येमा पर्छन् । होङ्सी सिमेन्टमा ५० मेगावाटभन्दा बढी ऊर्जा खपत हुन्छ ।

अरू ठूला सिमेन्ट कारखानाहरूको आवश्यकता पनि औसतमा २०–२५ मेगावाटमा छ । अहिले हाम्रो कुल मागभन्दा बढी छ, उत्पादन क्षमता । यो क्षेत्रलाई नयाँ डिमान्ड ड्राइभरको आवश्यकता देखिन्छ । कंक्रिट रोड र कंक्रिट ब्रिक (इँटा)मा ठूलो सम्भावना छ । एक क्युबिक मिटर कंक्रिटमा सरदर ३६५ केजी सिमेन्ट खपत हुन्छ । आर्थिक सर्वेक्षणका अनुसार एक वर्षमा नेपालमा करिब हजार किलोमिटर भित्री सडक बन्छ । भित्री सडकको औसत चौडाइ १३ फिट र उचाइ एक फिट राख्दा हजार किलोमिटर सडक बनाउन १२.१ लाख क्युबिक मिटर कंक्रिट लाग्छ, जसका लागि बर्सेनि ४.४ लाख टन सिमेन्ट खपत हुने देखिन्छ । त्यस्तै, नेपालमा बर्सेनि ४.५ अर्ब युनिट इँटा उत्पादन हुन्छ, माटोको इँटालाई कंक्रिटको इँटाले प्रतिस्थापन गर्ने हो भने बर्सेनि २० लाख टनभन्दा बढी सिमेन्टको माग इँटा उत्पादनकै लागि हुने देखिन्छ । 

नेपाल र भारतमा उत्पादित सिमेन्टको गुणस्तर : सिमेन्टको ग्रेड नै सिमेन्टको गुणस्तर चिह्न हो । नेपालमा ओपिसी, पिपिसी र पिएससी गरी तीन थरीका सिमेन्ट उत्पादन हुन्छन् । ओपिसीमा ३३, ४३ र ५३ ग्रेड गरी तीन वर्गीकरण छन् । पिपिसी सबैभन्दा राम्रो ग्रेडको सिमेन्ट हो, यसको प्रयोग जलविद्युत् आयोजना, ठूला कम्प्लेक्स, ड्याम र अन्य महत्वपूर्ण आयोजनामा हुन्छ ।

ओपिसी ५३ पनि राम्रै ग्रेडको सिमेन्ट हो, यसको प्रयोग रोड, रनवे, पुल, बिजुलीका पोल र अन्य ठूला संरचनामा हुन्छ । ओपिसी ३३, ४३ र पिएससी भने तुलनात्मक रूपमा कम गुणस्तरका सिमेन्ट हुन्, जसको प्रयोग अलि कम संवेदनशील निर्माणमा हुन्छ । नेपालमा पाइने चुनढुंगाको गुणस्तर राम्रो भएको कारण नेपालमा उत्पादित सिमेन्टको गुणस्तर पनि राम्रैमा गनिन्छ । नेपालमा उत्पादित सिमेन्टको खपत ठूला र महŒवपूर्ण परियोजनाहरूमा प्रशस्त मात्रामा भएको छ । अहिलेसम्म गुणस्तरमा समस्या आएको देखिँदैन । भारत र नेपालको सिमेन्टको गुणस्तर लगभग उस्तै हो, तर भारतमा कम लागतमा सिमेन्टको उत्पादन हुन्छ र उनीहरूसँग सिमेन्टको प्रकार पनि धेरै छ । 

सिमेन्ट उत्पादन र वातावरणीय प्रभाव : आर्थिक वृद्धि तथा विकास दुवैका लागि अपरिहार्य बन्दै गएको सिमेन्टको वातावरणीय प्रभावबारे विश्वव्यापी रूपमा बहस चल्ने गरेको छ । इन्टरनेसनल इनर्जी एजेन्सीका अनुसार सिमेन्ट उद्योगले विश्वव्यापी कार्बन उत्सर्जनमा ७ प्रतिशत हिस्सा ओगटेको छ । पश्चिमी युरोपका धेरै मुलुकले सन् २००० ताका नै निश्चितभन्दा बढी कार्बन उत्सर्जन गर्न नपाउने मापदण्ड बनाएपछि धेरै उद्योग पूर्वी युरोप खासगरी युक्रेन र रुसतिर सरेका थिए ।

सिमेन्ट उद्योगको पर्यावरणीय प्रभावका कारण मानव बस्ती भएको ठाउँमा यसको एसेप्टेन्स निकै कम छ । नेपालमा हिमाल सिमेन्ट स्थानीयकै विरोधका कारण बन्द भएको थियो । हेटौँडा सिमेन्टमा पनि स्थानीयले पटक–पटक वितरण रोकिदिएका थिए । विश्वभरिका मुलुकले सिमेन्टबाट हुने वातावरणीय प्रभाव न्यूनीकरण गर्दैगर्दा हामीले पनि अहिलेदेखि नै सिमेन्ट उत्पादनमा इमिसन घटाउने ग्रिन टेक्नोलोजीमा लगानी गर्नु आवश्यक देखिन्छ । हामी सिमेन्ट उत्पादनमा आत्मनिर्भर छौँ । यस उद्योगलाई व्यवस्थित बनाई निरन्तर वृद्धि हासिल गर्ने हो भने बैंकहरूका लागि राष्ट्र बैंक, बिमा कम्पनीका लागि बिमा समितिजस्तै सिमेन्ट कम्पनीहरूको नियमन तथा प्रवद्र्धन गर्ने निकायको आवश्यकता देखिन्छ । अहिलेको अवस्था हेर्दा राज्यले पनि अनिवार्य रूपमा कार्बन उत्सर्जन न्यूनीकरण नीति अपनाउनुपर्ने देखिन्छ । 

निर्यातको सम्भावना : सम्पूर्ण विश्वमा चीन र भारत सिमेन्ट उत्पादनका दुई प्रमुख खेलाडी हुन् । चीनसँगको भौगोलिक जटिलता र दूरीको कारणले निर्यात सम्भव देखिँदैन । भारतीय सिमेन्ट उत्पादक कम्पनीहरूसँग मूल्यमा प्रतिस्पर्धा उति सहज छैन । भारत सिमेन्ट निर्यात गर्नमा दुइटा चुनौती देखिन्छ । पहिलो चुनौती मूल्य प्रतिस्पर्धा र दोस्रो चुनौती भारतीय कस्टम ड्युटी र जिएसटी हो । केही गरी हामी मूल्यमा प्रतिस्पर्धा गर्न सक्ने भयौँ भने पनि नेपाली सिमेन्टलाई भारतीय बजारमा २९.८ प्रतिशत कर लाग्ने देखिन्छ । 

भारतको ठूलो जनसंख्या भएका दुई प्रान्तमा नेपालको राम्रो पहुँच छ । सिमेन्ट खपतका आधारमा यी दुई प्रान्त निकै अग्रणी छन् । हामीले मूल्यमा भारतसँग प्रतिस्पर्धा गर्न सक्यौँ भने सीमानजिकका भारतीय सहरमा नेपालमा उत्पादित सिमेन्टको ठूलो सम्भावना छ । तर, भारतीय बजारमा प्रतिस्पर्धा गर्ने हो भने सर्वप्रथम लागत मूल्य उल्लेखनीय घटाउनुपर्ने देखिन्छ । नेपाली व्यवसायीहरूका अनुसार सिमेन्ट उत्पादनमा सबभन्दा धेरै लागतमा कच्चा पदार्थ​, ऊर्जा, ब्याज, कर्मचारी र लजिस्टिक पर्छन् । नेपाली सिमेन्ट उद्योगमा औसतमा प्रतिकेजी कुल लागत रु. ११ परेको देखिन्छ भने भारतमा प्रतिकेजी उत्पादन मूल्य जम्मा ८ रुपैयाँ मात्र छ । नेपाली उद्योगलाई खानीबाट चुनढुंगा ओसार्दा पर्ने महँगो ढुवानी शुल्क, एल्युमिना, आइरन अक्साइड, कोल र जिप्समजस्ता कच्चा पदार्थ भारतबाट आयात गर्दा पर्ने ढुवानी, कर र सम्बन्धित अन्य खर्चका कारणले कच्चा पदार्थको औसत मूल्य अरू देशको तुलनामा निकै महँगो परेको देखिन्छ । भारतमा सिमेन्ट उत्पादन मूल्यमा २५–३० प्रतिशत मात्र कच्चा पदार्थले ओगट्छ भने नेपालमा उत्पादन मूल्यको ५०–५५ प्रतिशत हिस्सा कच्चा पदार्थले लिएको छ । 

मूलतः हामीले लागत कम गर्ने ऊर्जा, कच्चा पदार्थ र ढुवानी खर्चमा कटौती गरेर नै हो । सिमेन्ट उत्पादनमा ऊर्जा खर्चको अनुपात लगभग ३० प्रतिशत देखिन्छ । क्लिन्करको अनुपात कम गरेर र इनर्जी इफिसियन्ट प्रविधिहरूको प्रयोग गरी ऊर्जा खपत घटाउन सकिन्छ । राज्यले उद्योगलाई चाहिएजति बिजुलीमा ५० प्रतिशतको सहुलियत दिने हो भने आजको भोलि नै लागत १५ प्रतिशतले कम हुन्छ । लुज सिमेन्ट सप्लाईबाट पनि ३ प्रतिशत जस्तो लागत घटाउन सकिन्छ । नेपालका सबै सिमेन्ट उद्योगलाई खानीसम्म कन्भेयर बेल्टले जोड्ने हो भने इन्वार्ड लजिस्टिकमा ठूलो लागत बचत हुन्छ । नेपालकै ठूलो कारखाना होङ्सीको अहिले बन्दै गरेको कन्भेयर बेल्टले ढुवानी खर्चमा उल्लेखनीय बचत हुने अनुमान छ । 

सिमेन्टको उत्पादन लागतमा नेपाल र भारतमा ठूलो अन्तर छ । अहिलेकै अवस्थामा त हामी निर्यात गर्न सक्ने अवस्थामा छैनौँ । तर, निकट भविष्यमा इनर्जी इफिसियन्ट प्रविधिको प्रयोग, खानीबाट नजिकैको दूरीमा प्लान्ट, कन्भेयर बेल्टद्वारा चुनढुंगाको आपूर्ति, राज्यद्वारा बिजुलीमा न्यूनतम ५० प्रतिशत छुट, सस्तो ब्याजदरमा ऋण, कच्चा पदार्थ आयातमा ड्युटी कन्सेसन, ठूलो परिमाणमा (बल्क) सप्लाई र नेपाल सरकारको अनुरोधमा भारतीय बजारमा नेपाली उद्योगको सिमेन्टलाई भन्सार शुल्कमा केही छुट हुने हो भने भविष्यमा निर्यातको सम्भावना देखिन्छ ।
(ढकाल जायन कन्सल्टिङका कार्यकारी निर्देशक हुन्) 

सुझावित समाचार