नेपाल र भारतबीच मैत्रीपूर्ण फुटबल : नेपालले ६ वर्षपछि भारतको सामना गर्दै

बिहिबार, १७ भदौ, २०७८
डिजिटल संस्करण

नेपाली राष्ट्रिय फुटबल टोलीले भारतको सिनियर टोलीसँग प्रतिस्पर्धा नगरेको ६ वर्ष भइसकेको छ । २०१५ को मार्चमा नेपाल र भारतबीच रसिया विश्वकप छनोटअन्तर्गत प्रतिस्पर्धा भएको थियो । पहिलो लेगमा भारत २–० ले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले भारतलाई गोलरहित बराबरीमा रोकेको थियो । त्यसपछि भारतको सिनियर टोलीसँग नेपालको प्रतिस्पर्धा भएको छैन । दरशथ रंगशालामा बिहीबार (आज) साँझ अब यो प्रतीक्षा समाप्त हुनेछ । नेपालले भारतको सिनियर टोलीसँग प्रतिस्पर्धा गर्दै छ । 

यद्यपि ६ वर्षभित्र नेपाल र भारतबीच खेल नभएको होइन । ती सबै प्रतिस्पर्धामा नेपालले भारतको उमेर समूह टोलीसँग मात्रै प्रतिस्पर्धा गर्न बाध्य भयो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आसन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितालाई मध्यनजर राखी भारतसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल प्रस्ताव गरेको थियो । भारतले पनि साफ र एसिया कप छनोटकै तयारीका रूपमा नेपालको दुई मैत्रीपूर्ण खेलको प्रस्ताव स्विकार्यो । 

भारतले यसपटक मैत्रीपूर्ण खेलकै लागि आफ्नो पहिलो सेटकै खेलाडी पठाएको छ । भारतले नेपालविरुद्धको खेलमा अनुभवी तथा सिनियर खेलाडी नै पहिलो प्राथमिकतामा राखी टोली घोषणा गरेको छ । कप्तान सुनील क्षेत्रीको कप्तानीमा भारतले नेपालविरुद्ध प्रतिस्पर्धा गर्ने छ । नेपाली टोलीको नेतृत्व गोलरक्षक किरण चेम्जोङले गर्नेछन् । 

अहिलेसम्म १९ खेल
नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएका छन् । भारतले नेपालमाथि दबदबा राख्दै १३ खेलमा जित निकालेको छ । नेपालले केवल दुई खेलमा मात्र भारतलाई हराएको छ । चार खेलमा यी दुवै टोलीले बराबरी नतिजा निकालेको छ । नेपालले अन्तिमपटक भारतलाई हराएको नै सन् २०१३ मा काठमाडौंमै आयोजित साफ च्याम्पियनसिपमै थियो । त्यसवेला नेपालले भारतलाई २–१ ले निराश पारेको थियो । 

नेपाल र भारतबीच पहिलो खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछ । खेल साँझको ५:३० बजे सुरु हुनेछ । खेल हेर्न जान कोरोना भाइरसविरुद्धको खोप लगाएको हुनुपर्नेछ । यदि खोप नलगाएको भए कोरोना परीक्षण नेगेटिभ रिपोर्ट लिएर जानुपर्नेछ ।

भारतले नेपालमाथि सन् २००८ को साफ च्याम्पियसिपमा ४–० को फराकिलो अन्तरमा हराएको थियो । नेपाल र भारतबीच पहिलोपटक अन्तर्राष्ट्रिय खेल सन् १९८५ मा दक्षिण एसियाली खेलकुदमा भएको थियो । जुन खेल गोलरहित बराबरी भयो । भारतले त्यसपछि लगातार चार खेलमा नेपाललाई साग तथा साफ च्याम्पियनसिपमा हरायो । तथ्यांकमा भारतभन्दा नेपाल कमजोर देखिन्छ । फिफा वरीयतामा भारत एक सय पाँचौँ र नेपाल एक सय ६८औँ स्थानमा छन् । 

चेम्जोङसमक्ष विराजको रेकर्ड बराबरी गर्ने अवसर
नेपाली टोलीका कप्तान तथा गोलरक्षक चेम्जोङले भारतविरुद्ध मैदानमा उत्रँदा पूर्वकप्तान विराज महर्जनको कीर्तिमान बराबरी गर्नेछन् । महर्जनले नेपाली टोलीबाट सर्वाधिक ७३ क्याप जितेका छन् । बुधबारको खेलसँगै चेम्जोङले नेपाली राष्ट्रिय टोलीबाट सर्वाधिक खेल खेल्ने महर्जनको रेकर्ड बराबरी गर्नेछन् । सन् २००८ मा एएफसी च्यालेन्ज कप छनोटमा चेम्जोङले कम्बोडियाविरुद्ध डेब्यु गरेका थिए । डेब्यु खेलमै उनी घाइते भए । तत्काल सिनियर टोलीमा विकास मल्ल तथा रितेष थापाजस्ता अनुभवी गोलरक्षकलाई टक्कर दिँदै चेम्जोङ नेपाली टोलीकै एक नम्बर गोलरक्षकका रूपमा आफूलाई स्थापित गर्न सफल भए । 

चेम्जोङले महर्जनको रेकर्ड बराबरी गर्न अवसर पाउँदा खुसी लागेको बताएका छन् । ‘डेब्यु खेलमा नै घाइते भएपछि म यहाँसम्म आइपुग्छु भन्ने लागेको थिएन, मिहिनेतले नै यहाँसम्म आइपुगेको छु, ’ उनले भने, ‘रेकर्ड बराबरी गर्न अवसर पाउनु आफैँमा एउटा उपलब्धि हो, आउने दिनमा राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु ।’ यसैबीच उनले प्रशिक्षक अलमुताइरीले टोलीलाई मानसिक रूपमा बलियो बनाउँदै बुबाजस्तो व्यवहार गरेको भनी प्रशंसा गरेका छन् । 

‘१३ वर्ष राष्ट्रिय टोलीको अनुभवमा धेरै प्रशिक्षकसँग काम गरे, पहिला शारीरिक रूपमा मात्र बलिया थियौँ,’ हामीलाई उहाँले मानसिक रूपमा पनि बलियो बनाउनुभएको छ, उहाँ हाम्रो नजरमा प्रशिक्षक मात्र नभएर बाबु समान व्यवहार गर्नुहुन्छ, टोलीको मनोबल पनि उच्च छ, चेम्जोङले भने । दुई महिनादेखिको प्रशिक्षणले खेलाडी शारीरिक रूपमा पनि राम्रो अवस्थामा रहेको उनले बताए । ‘ घरेलु मैदान हाम्रो लागि यो राम्रो मौका हो, साफ खेल्नुअघि बलियो र कमजोर पक्ष थाहा पाउन यसले मद्दत गर्नेछ,’ चेम्जोङले भने । 

के लेखेँ बिर्सनुस्, खेलमा केन्द्रित हुनुस्
यो एक महिनाभित्र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमा दुईवटा कमेन्ट्स पोस्ट गरेका छन् । प्रशिक्षक अल्मुतारइरीका ती दुवै पोस्ट सनसनीपूर्ण थियो । गत साउनमा उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको दबाबका कारण एन्फामा राजीनामा दिन गइरहेको सामाजिक सञ्जालमातर्फ जानकारी दिएका थिए । उनले फेसबुकको माध्यमबाट पदबाट राजीनामा दिएकोसमेत घोषणा गरे । 

प्रशिक्षक र वरिष्ठ उपाध्यक्षबीचको आन्तरिक विवादले ठूलै रूप लियो । राष्ट्रिय खेलकुद परिषद्द्वारा गठित छानबिन समितिले सबैसँग बयान लियो । समितिले सार्वजनिक गरेको प्रतिवेदनमा नेपाली टोलीका मुख्य प्रशिक्षक अल्मुताइरीले आफ्नो व्यवहार सच्याउनुपर्ने र आफ्नो सीमाभन्दा बाहिर जान नहुने सुझाब थियो । 

प्रतिवेदनप्रति असन्तुष्टि देखाउँदै अलमुताइरीले तत्कालै ‘म छाड्दै छु राजनीति गर्ने अगाडि बढनोस्’ भनी पोस्ट गरे । यी दुई पोस्टका कारण अलमुताइरी विवादित बनिरहेका छन् । उनले घुमाउरो रूपमा टोली छाडेको संकेत दिएका थिए । तर, उनी निरन्तर रूपमा नेपाली टोलीसँगै प्रशिक्षणमा व्यस्त रहँदै आइरहेका छन् । बुधबार नेपाल र भारतबीचको खेलअघि प्रिपोस्ट म्याचमा अलमुताइरीले आफूले सामाजिक सञ्जालमा के लेखेको बिर्सिएको र सबैलाई खेलमा केन्द्रित रहन बताए । पत्रकार सम्मेलनमा उनले सामाजिक सञ्जालमा लेखेको पक्षबारे प्रश्न सोधिन सक्ने भनी पूर्वानुमान लगाएका थिए । 

यस सम्बन्धमा प्रश्न तेर्सिदा उनले केवल फेसबुकमा लेखेको कुराभन्दा नेपाल र भारतबीच खेल नै महत्वपूर्ण भएको उत्तर फर्काए । ‘फेसबुकमा मैले लेखको कुरा खेलभन्दा ठूलो होइन, त्यहाँ के लेखेँ बिर्सनुस्, खेलमा केन्द्रित हुनुपर्छ,’ उनले भने, ‘यो कुरालाई अहिले यही नै राख्दा राम्रो होला ।’ प्रशिक्षक अलमुताइरीले समर्थकको खुसीका लागि नभएर गर्वका लागि प्रदर्शन गर्ने जनाए । ‘भारतविरुद्ध समर्थकलाई खुसी दिन नभएर गर्व गर्न लायक प्रदर्शन गर्नेछौँ,’ उनले भने, ‘यो दुई खेल सबैले यो खेल हेर्नेछन् । हामी इतिहास हरेर होइन भविष्यका लागि खेल्नेछौँ ।’ उनले बुधबारको खेल केही खेलाडी परिवर्तन हुने जनाए । 

एक–अर्काविरुद्ध खेल्न कठिन : क्षेत्री 
प्रतियोगिता बुधबार आयोजित प्रिपोस्ट म्याच कन्फरेन्समा दुवै टोलीले एक–आपसमा प्रतिस्पर्धा गर्न कठिन हुने बताएका छन् । भारतीय फुटबल टोलीका प्रशिक्षक इगोर स्टिमाच र कप्तान क्षेत्रीले नेपालविरुद्ध खेल सहज नहुने बताएका छन् । सन् २०१५ को विश्वकप छनोटको दोस्रो खेलका प्रसंग जोड्दै भारतीय टोलीका कप्तान क्षेत्रीले भने, ‘नेपालसँग अन्तिमपटक खेलेको खेल हामीलाई सहज भएको थिएन, यस कारण दुई मैत्रीपूर्ण प्रतिस्पर्धा कठिन हुने नै देखिन्छ, यद्यपि नेपालविरुद्ध खेल्न सधैँ कठिन नै हुन्छ ।’ 

घरेलु र बाहिर मैदानमा नेपाली खेलाडीको खेल स्तर नै फरक हुने उनले जनाए । ‘नेपालले बाहिर र घरेलु मैदानमा खेल्दा फरक शैलीमा प्रतिस्पर्धा गर्छ, अझ घरेलु मैदानमा खेल्दा नेपाली खेलाडी फरक नै पाएका छौँ, यसकारण खेल प्रतिस्पर्धात्मक हुने पक्का छ,’ उनले भने । कप्तान क्षेत्रीले नेपालसँगको सम्बन्ध भावनात्मक रहेको बताउँदै मैदानमा त्यसको कुनै असर नहुने स्पष्ट पारेका छन् । 

नेपालले सुधार गरिरहेको छः इगोर
भारतका प्रशिक्षक इगोलले कोरोनाको महामारीको समयमा पनि मैत्रीपूर्ण खेलको अवसर दिँदा एन्फालाई धन्यवाद दिए । इगोलले मैत्रीपूर्ण खेलले साफ च्याम्पियनसिप तथा एसिया कप छनोटको तयारीका लागि सहयोग मिल्ने बताए । ‘माल्दिभ्समा हुने साफ च्याम्पियनसिप र एसिया कप छनोट अघि हुन गइरहेको यो खेलले फाइदा पुग्ने विश्वास लिएको छु,’ उनले भने । 

प्रशिक्षक इगोलले केही समययता नेपाली टोलीले अन्तर्राष्ट्रिय स्पर्धामा राम्रो प्रगति गरेको जनाएका छन् । ‘नेपालको बारेमा सुनेको छु, उनीहरूले पछिल्लो समय आफ्नो स्तर सुधार गरिरहेको छ,’ उनले भने । प्रशिक्षक इगोलकाअनुसार नेपाली टोलीको रक्षापंक्ति बलियो छ । उनी भन्छन्, ‘नेपाली टोलीले रक्षापंक्तिमा निकै राम्रो छ, युवा खेलाडीलाई पनि मौका दिइरहेको छ, । हामीले पनि राम्रो तयारी गर्न पाएका छैनौँ ।’ 

एक हजार र दुई हजारको टिकट दर
एन्फाले नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलको दुई किसिमको टिकट मूल्य तोकेको छ । एन्फाले साधारण प्यारापिटतर्फ एक हजार र भिआइपी प्यारापिटतर्फ दुई हजार टिकट मूल्य राखेको जनाएको छ । नेपाल र भारतबीच पहिलो खेल बिहीबार र दोस्रो खेल आइतबार हुनेछ । खेल साँझको ५:३० बजे सुरु हुनेछ । खेल हेर्न जान कोरोना भाइरसविरुद्धको खोप लगाएको हुनुपर्नेछ । यदि खोप नलगाएको भए कोरोना परीक्षण नेगेटिभ रिपोर्ट लिएर जानुपर्नेछ ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले विश्व स्वास्थ्य संगठन, फिफा तथा नेपाल सरकारले कोरोनाविरुद्धका सबै प्राटोकल अपनाएर मैत्रीपूर्ण खेल सञ्चालन गर्न लागेको जानकारी दिएका छन् । ‘हामीले भारत र नेपालबीचको खेलमा सम्बन्धित निकायले भनेको प्रोटकल सबै अपनाउनेछौँ,’ शेर्पाले भने, ‘रंगशालाका केवल पाँचवटा मात्र गेट खोलिनेछ, दर्शकले जुन स्थानका लागि टिकेट काट्छन्, त्यही स्थानबाट मात्र प्रवेश पाउनेछन् ।’

एन्फाले मौसमले साथ दिँदा मैत्रीपूर्ण खेलको सबै तयारी पूरा भएको जनाएको छ । मैत्रीपूर्ण खेलका संयोजक तथा एन्फाका उपाध्यक्ष उपेन्द्रमान सिंहले दरशथ रंगशालामा पूरै तयारी भएको बताए । ‘यदि बुधबार मौसमले साथ दिए, खेल राम्रोसँगै सञ्चाल हुनेछ, हामीले हाम्रोतर्फबाट सबै तयारी पूरा गरेका छौँ,’ उपाध्यक्ष सिंहले भने, ‘स्कोर बोर्डदेखि फ्लोर्ड लाइटसम्मको अन्तिम चेक भइसकेको छ ।’ 
 

सुझावित समाचार