२०औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड)अन्तर्गत क्रिकेटमा चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच शनिबार स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै छ । आइसिसीले क्रिकेटका सबै विधामा नयाँ नियम लागू गरेको ४८ घण्टापछि नै यी दुई प्रतिस्पर्धा मैदानमा उत्रन लागेका हुन् । एसियाडमा भारत र पाकिस्तानबिचको स्वर्ण पदक खेल प्रतिष्ठाको लडाइँका रूपमा पनि हेरिएको छ । भारत साबिक विजेता हो । भारतले स्वर्ण रक्षा गर्ने योजनाका साथ मैदानमा उत्रँदा पाकिस्तान इतिहास रच्ने ध्यानमा हुनेछ ।
पाकिस्तानले एसियाडमा क्रिकेट विधामा स्वर्ण हात पारेको छैन । अन्तर्राष्ट्रिय क्रिकेटमा यी दुई प्रतिस्पर्धीबिच हुने खेल सधैँ रोमाञ्चकताले भरिएको हुन्छ । दुवै टोली एक–आपसमा हार्न चाहँदैनन् । पछिल्लो नौ वर्षदेखि भारत पाकिस्तानसँग अपराजित रहेको छ । पाकिस्तानले अन्तिमपटक भारतलाई सन् २०१७ को आइसिसी च्याम्पियन्स ट्रफीको फाइनलमा हराएको थियो । त्यसयता भारतले पाकिस्तनसँग हारको सामना गर्नुपरेको छैन ।
नागोयाको मौसम विभागले शनिबार हुने फाइनलमा वर्षाले प्रभावित नहुने जनाएको छ । विभागले १० प्रतिशत मात्र वर्षा हुने जनाएको छ । यस कारण स्वर्ण भिडन्त पूरै २०–२० ओभरका हुनेछन् । फाइनल खेलाउने पिच ब्याटिङ मानिएको छ ।
टी–२० आईमा भारत अगाडि
अन्तर्राष्ट्रिय टी–२० आईमा भारतले पाकिस्तानमाथि एकछत्र राज गरेको छ । अहिलेसम्म यी दुई राष्ट्रबिच १७ पटक टी–२० आई खेल भएका छन् । जसमा भारतले १४–३ को नतिजा निकालेको छ । तथ्यांकअनुसार भारतले पाकिस्तानलाई पछिल्ला लगातार ६ खेलमा पराजित गरेको थियो ।
पाकिस्तान भने शनिबार हुने स्वर्ण भिडन्तमा हारको अन्तर कम पार्ने प्रयासमा छ । आइसिसी टी–२० विश्वकप विजेतासमेत रहेको भारतले सेमिफाइनलमा श्रीलंकालाई केवल ४५ रनमा रोकेको थियो । पाकिस्तानले बंगलादेशमाथि ६ विकेटको जित निकाल्दै फाइनल स्थान पक्का गरेको थियो । अब्दुल समादले १५ बलमा ३० रन बनाएपछि पाकिस्तानले अन्तिम दुई स्थान सुरक्षित गरेको हो ।
पाकिस्तानलाई वैभवको डर
भारतले सेमिफाइनलमा आक्रामक ब्याट्सम्यान वैभव सूर्यवंशीलाई टोलीमा समावेश गरेको थियो । १५ वर्षीय वैभव ओपनरमा आउँदा सन्जु सामसनले तेस्रो क्रममा ब्याटिङ गरेका थिए । उत्कृष्ट फर्ममा रहेका वैभव नयाँ प्रतिद्वन्द्वीका बलरविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन्छन् । यस्तोमा पाकिस्तानका बलरविरुद्ध कसरी उनी खेल्छन् भन्ने प्रश्न रहेको छ । तर, वैभवले आफूलाई फाइनलका लागि पूर्ण रूपमा तयार भएको बताइसकेका छन् । पाकिस्तानका बलरले वैभवलाई हल्का लिँदा भारतले पहिलो पावर प्लेमै राम्रो रनरेट बनाउन सक्छ । अर्कोतिर पाकिस्तानका लागि साहिजादा फराहन उत्कृष्ट फर्ममा छन् । उनले एसिया कप टी–२० मा जस्प्रित बुमराहविरुद्ध विस्फोटक ब्याटिङ गरेका थिए । भारतले बुमराहलाई ओपनिङ बलिङ स्पेल गराउन सक्ने सम्भावना छ ।
एसियाड संक्षेप
कुस्तीमा नेपालका तीनै खेलाडी पराजित
एसियाडअन्तर्गत कुस्तीमा नेपालले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ । शुक्रबार नागोया सिटी इनाए स्पोर्टस् सेन्टरमा प्रतिस्पर्धा गरेका नेपालका तीनै खेलाडी पराजित भएका छन् । पुरुष एक सय २५ केजीमा राज यादव चीनका बुहेइरदुनसँग १०–० ले पराजित भए । राउन्ड अफ १६ प्रतिस्पर्धामा बुहेइरदुनले राजलाई टेक्निकल सुपेरियोरिटीमा पराजित गरे । राजले त्यसपछि रेपेचेजमा पनि प्रतिस्पर्धा गरे । त्यसमा पनि उनी सफल हुन सकेनन् । उनी मंगोलियाका बातबयार नाम्बारदाग्भासँग ६–० ले पराजित भए ।
पुरुष ८६ केजीमा निखिलराज पटेल पनि राउन्ड अफ १६ बाटै बाहिरिए । उनी उज्वेकिस्तानका बोबुर इस्लोमोभसँग १०–० ले पराजित भए । इस्लोमोभले टेक्निकल सुपेरियोरिटीमा निखिललाई हराए । पुरुष ६५ केजीमा रामकिशोर यादव बंगलादेशका अब्दुल सत्तारसँग १०–० ले पराजित भए । राउन्ड अफ १६ को खेलमा सत्तारले टेक्निकल सुपेरियोरिटीमा रामकिशोरलाई हराए । बिहीबार महिला ६२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी सुशीला चन्द पनि पहिलो चरणमै पराजित भएकी थिइन् । उनलाई मंगोलियाकी अल्त्जिन तोगतोखले ‘टेक्निकल सुपेरियोरिटी’का आधारमा १०–० ले पराजित गरिन् ।
जापानका ओकाडासँग हारे सुजन
जुडोको पुरुष ९० केजी तौलसमूहमा नेपालका सुजन गुरुङ जापानका रिको ओकाडासँग पराजित भएका छन् । आइची इन्टरनेसनल एरिनामा शुक्रबार भएको राउन्ड अफ १६ मा सुजन इप्पोनमा पराजित भएका हुन् । ओकाडाले एक इप्पोन र एक वाजा–आरी स्कोर गर्दै अन्तिम आठमा स्थान बनाए । सुजनले भने कुनै स्कोर गर्न सकेनन् । हारसँगै सुजनको चुनौती समाप्त भएको छ । जुडोमा नेपालका चार खेलाडी यसअघि नै आ–आफ्नो स्पर्धामा पराजित भइसकेका छन् । नेपालका पाँचै जुडो खेलाडीले शनिबार मिक्स्ड टिम स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।
गल्फर सुभाष १४औँ स्थानमा
गल्फमा नेपालका सुभाष तामाङले शुक्रबार एक ओभर पार ७१ स्कोर गरेका छन् । तीन राउन्डपछि उनले २ अन्डर २०८ स्कोरसहित संयुक्त १४औँ स्थान रक्षा गरेका छन् । पहिलो दिन इभन पार ७० र दोस्रो दिन तीन अन्डर ६७ खेलेका सुभाषले आफ्नो लय कायम राख्न सकेनन् । उनले तीनवटा बर्डी प्रहार गर्दा चारवटा बोगी खेपेका छन् । दिनको सुरुवातमा दसौँ होलबाट खेल सुरु गरेका उनले ११औँ होलमै बोगी खेपे । फ्रन्ट नाइनको पहिलो होलमा बर्डी बनाएका सुभाषले दोस्रो होलमै बोगी खेपे । गल्फमा शनिबार अन्तिम राउन्डको खेल हुनेछ । उनी अग्रता लिएका दक्षिण कोरियाका किम जोनभन्दा १० स्ट्रोकले पछि छन् ।