आइसिसी टी–२० विश्वकपमा एसिया र दक्षिण अफ्रिकाबाट समान दुई र अमेरिका क्षेत्रीयबाट एक राष्ट्र छनोट हुन बाँकी
सन् २०२४ मा वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता आयोजना गर्दै छन् । पहिलोपटक विश्वकपमा सर्वाधिक २० राष्ट्रले प्रतिस्पर्धा गर्दै छन् । अहिलेसम्म विश्वकपका लागि १५ राष्ट्रले स्थान पक्का गरिसकेका छन् । आयोजकद्वय वेस्ट इन्डिज र अमेरिकाले पहिला नै स्थान पक्का बनाए । आइसिसीले पछिल्लो संस्करणका शीर्ष आठ टोलीलाई सीधै विश्वकपमा स्थान दिइएको थियो ।
युरोपबाट आयरल्यान्ड र स्कटल्यान्ड छनोट भएका छन् । इस्ट एसिया प्यासेफिकबाट पपुवा न्युगिनीले विश्वकप खेल्ने पक्का भएको छ । अब विभिन्न क्षेत्रीय छनोटबाट अन्य पाँच राष्ट्र मात्र विश्वकपमा छनोट हुन बाँकी छ । अर्को महिनादेखि एसिया क्षेत्रीय छनोट हुँदै छ । यसबाट दुई राष्ट्र छनोट हुनेछन् । यसैगरी, अफ्रिकाबाट दुई र अमेरिका क्षेत्रबाट एक राष्ट्रको छनोट बाँकी छ ।
एसियाली छनोट नेपालमा
एसिया क्षेत्रबाट नेपाललाई विश्वकपमा पुग्ने प्रबल दाबेदार टोलीका रूपमा हेरिएको छ । आइसिसीको टी–२० वरीयतामा नेपाल १७औँ स्थानमा छ । पछिल्लो पाँच महिना लगातार ५० ओभर खेल खेलिरहेको नेपालले अब २० ओभर फर्म्याटको प्रतिस्पर्धा गर्दै छ । एकदिवसीय खेलमा नेपालले आइसिसी विश्वकप लिग–२, एसिसी प्रिमियर कप, एसिसी टिम्स कप, एकदिवसीय विश्वकप ग्लोबल छनोट तथा एसिया कपजस्तो महत्वपूर्ण प्रतियोगितामा सहभागी जनाएको थियो । यसै अवधिमा नेपाली क्रिकेटरले आइसिसीको पाँच पूर्ण सदस्यसँग प्रतिस्पर्धा मात्र गरेनन्, उनीहरूसँगको अनुभवसमेत बाँड्न अवसर पाए । जिम्बावे, आयरल्यान्ड, वेस्ट इन्डिज, भारत र पाकिस्तानसँग नेपालले अन्तर्राष्ट्रिय क्रिकेट मञ्चमा हेड टु हेडमा प्रतिस्पर्धा गरे ।
एसिया कपमा पहिलोपटक विश्व क्रिकेटकै शक्तिशाली मानिने टोली भारत र पाकिस्तानविरुद्ध खेलाडीले बहादुरी प्रदर्शन गरेका छन् । एकदिवसीय खेलमा दिग्गज टोलीविरुद्ध खेलको म्याच एक्सपोजर अब टी–२० विश्वकप छनोटमा खेलाडीले प्रयोग गर्नेछन् । फेरि टी–२० विश्वकप छनोट खेल नेपालमै हुँदै छ । घरेलु मैदानमा नेपालको प्रदर्शन अब्बल छ । सन् २०१४ पछि विश्वकपमा स्थान बनाउन नेपालले एसिया क्षेत्रको छनोट पार गर्नुपर्ने हुन्छ ।
यसमा कम्तीमा शीर्ष दुईमा समावेश हुनुपर्छ । १३ देखि २३ कात्तिकसम्म छनोट खेल कीर्तिपुरको त्रिभुवन अन्तर्राष्ट्रिय मैदानमा हुनेछ । एसिया छनोटमा आठ टोली छन् । एसियाली छनोटमा अहिलेसम्म नेपाल, युएई, हङकङ, ओमान, सिंगापुर, बहराइन र मलेसियाले स्थान पक्का गरेका छन् । अब उप–क्षेत्रीय छनोटबाट एक राष्ट्र आउन बाँकी छ । मलेसियाले गत जुलाईमा क्वालिफायर ‘बी’बाट स्थान पक्का गरेको थियो । सेप्टेम्बरमै हुने छनोटमा कतार, साउदी अरेबिया, कुवेत र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् । यसबाट एक टोली आउनेछ ।
१० वर्षपछि विश्वकप खेल्ने लक्ष्य
सन् २०१४ मा नेपालले पहिलोपटक टी–२० विश्वकप खेलेको थियो । नेपालको क्रिकेट इतिहासमा पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० खेलेको नै विश्वकप हो ।त्यसयता नेपाल विश्वकपमा पुगेको छैन । यसपटक उत्कृष्ट फर्ममा रहेको नेपालले एसियन छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास छ । छनोट प्रतियोगितामा नेपाली टोलीलाई घरेलु मैदान तथा समर्थकको फाइदा छ । विश्वकप छनोटअघि नेपालले चीनमा असोज ४ देखि सुरु हुने १९औँ एसियन खेलकुद प्रतियोगिताको अनुभव बटुल्नेछ । एसियाडको अनुभवसँगै नेपाली खेलाडी विश्वकपमा उत्रनेछन् ।
टी–२० मा दमदार प्रदर्शन गर्न सकेको छैन । नेपालको मुख्य प्रतिद्वन्द्वीका रूपमा ओमान, युएई र हङकङ छन् । हङकङसँग पछिल्ला पाँच खेलमा नेपालले दुई खेलमा जित निकालेको थियो । ओमानमाथि नेपाल हावी देखिन्छ । नेपालले ओमानलाई चारमध्ये तीन खेलमा पराजित गरेको थियो । एकदिवसीय राष्ट्र युएईविरुद्ध नेपालले पछिल्ला पाँच खेलमा दुई खेलमा मात्र जित निकालेको थियो । मलेसिया र बहराइनविरुद्ध नेपालको नतिजा राम्रो छ ।
कुशल र सोमपाललाई जनही एक लाखसहित सम्मान
एसिया कपअन्तर्गत भारत र पाकिस्तानविरुद्ध छक्का प्रहार गरेका दुई नेपाली क्रिकेटरले सम्मानस्वरूप जनही एक लाख पाएका छन् । इन्स्पायर नोबेल फाउन्डेसनले पूर्वघोषणाअनुरूप नै दुई खेलाडीलाई नगदसहित सम्मान गरेको छ । यी दुई राष्ट्रविरुद्ध कुशल भुर्तेल र सोमपाल कामीले छक्का ठोकेका थिए । भारतविरुद्ध खेल्नुअघि फाउन्डेसनले छक्का प्रहार गर्नेलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो । भारतविरुद्ध कुशल र सोमपालले समान दुई छक्का प्रहार गरेका थिए ।
फाउन्डेसनका सुशील रेग्मीले खेलाडीद्वयलाई चेक हस्तान्तरण गरेका थिए । नेपाल खेलकुद पत्रकार मञ्चका पूर्वअध्यक्ष अजय फुयाँलले खेलाडीलाई यस्तो किसिमको हौसलाले आगामी दिनमा राम्रो खेल्न प्रेरित गर्ने बताए । इन्स्पायर नोबेल फाउन्डेसन अमेरिकामा रहेका गैरआवासीय नेपालीहरूले खोलेको संस्था हो । पुरस्कृत भएपछि दुवै खेलाडीले यसबाट आफूहरूलाई थप हौसला मिलेको बताउँदै फाउन्डेसनलाई धन्यवाद दिए । ‘यस पुरस्कारले अझै राम्रो गर्न हौसला दिन्छ । क्रिकेटलाई मात्रै नभएर यस्तो पुरस्कार अन्य खेलाडीलाई पनि दिनुपर्छ,’ सोमपालले भने ।