प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नहुने

मोन्टी ०७९ माघदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक

शुक्रबार, १२ पुष, २०८१
डिजिटल संस्करण

क्यान प्रवक्ता छुम्बी लामा भन्छन्– अहिले नै निर्णय भएको छैन

नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईको सम्झौता नवीकरण नहुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय नागरिक मोन्टीको सम्झौता नवीकरण नगर्ने तयारी गरेको हो । त्यसका लागि क्यानले आगामी बोर्ड बैठकबाट अन्तिम निर्णय गर्नेछ । 

क्यानका सचिव पारस खड्काले पदाधिकारीलाई अनौपचारिक छलफलमै प्रशिक्षक मोन्टीको सम्झौता नवीकरण नहुने बताइसकेका छन् । यस विषयमा सचिव खड्काले प्रशिक्षकसँग पनि सल्लाह भएको जानकारी पदाधिकारीलाई दिएका थिए । ‘उहाँ (सचिव खड्का)ले प्रशिक्षक मोन्टीसँगको सम्झौता नवीकरण नहुने बताउनुभएको छ । प्रशिक्षकसँग पनि सल्लाह भइसकेको जानकारी आएको छ,’ क्यानका एक सदस्यले नयाँ पत्रिकालाई बताए । 

मोन्टी ०७९ माघदेखि नेपाली टिमको मुख्य प्रशिक्षक थिए । यसअघि मोन्टीले सन् २०१७ मा नेपालको यू–१९ टिमको ब्याटिङ सल्लाहकारका रूपमा काम गरेका थिए । मोन्टीको आगमनसँगै नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ को अन्तिम १२ मध्ये ११ खेल जित्दै चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो । 

विश्वकपसँगै हटाउने चर्चा 
गत असारमा नेपालले दोस्रोपटक आइसिसी टी–२० विश्वकप खेलेसँगै मोन्टीलाई हटाउने चर्चा चलेको थियो । विश्वकपमा नेपालले दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्ससँग खेल्दा मात्र १ अंक जोड्यो । त्यसपछि नै मोन्टीलाई निरन्तरता दिन नहुने छलफल चलेको थियो । तर, लिग २ को मिति नजिकै भएकाले त्यससम्मलाई सम्झौता थप गरिएको सदस्य दुर्गाराज पाठकले बताए । ‘विश्वकपमा खराब नतिजापछि नै हटाउने चर्चा थियो । तर, लिग २ सम्मलाई निरन्तरता दिने भनियो । फेरि कसले र कसरी थप तीन महिना (डिसेम्बर)सम्म सम्झौता गरेको रहेछ । यस विषय आगामी कार्यसमिति बैठकमा छलफल हुन्छ ।’

पछिल्लो १२ मध्ये आठ खेलमा पराजित
आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ मा नेपाल पछिल्ला १२ मध्ये आठ खेलमा पराजित भएको छ । २ खेल मात्र जित्दा मोन्टी दबाबमा छन् । उनको आलोचना पनि हुन थालेको छ । नेपालले फेब्रुअरीमा नेदरल्यान्ड्सलाई नौ विकेट तथा अक्टोबरमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो । नेपाल लिग २ को खेलमा नामिबिया, नेदरल्यान्ड्स, क्यानडा र ओमानसँग पराजित भइसकेको छ । 

त्यो १२ मध्ये ११ खेलमा अविश्वसनीय जित....
२ चैत ०७९ मा नेपालले १२ मध्ये ११ खेलमा अविश्वसनीय जित निकाल्दै पुनः चार वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो । त्यही समयमा नेपालले मोन्टी देसाईलाई प्रशिक्षक नियुक्त गर्यो । उनको आगमनसँगै नेपाले १२ मध्ये ११ खेल जितेको हो । त्रिवि क्रिकेट मैदानमा ब्याड लाइटका कारण खेल रोकिएपछि डिएसएल आधारमा युएईलाई अन्तिम खेलमा ९ रनले हराउँदै नेपालले जिम्बावेमा आयोजना हुने ग्लोबल छनोटमा स्थान बनाएको थियो ।

सुझावित समाचार