फिफा महिला विश्वकप हेर्न एन्फाबाट टिकट काटेकाहरू विमानस्थलबाटै फर्काइए

शुक्रबार, १२ साउन, २०८०
डिजिटल संस्करण
फिफा महिला विश्वकप हेर्न एन्फाबाट टिकट काटेकाहरू विमानस्थलबाटै फर्काइए

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइपछि सुरेश तामाङ (दायाँ) र हरि खतिवडा (बायाँ) ।

न्युजिल्यान्डको विलिङ्टनमा स्पेन र जापानबीचको खेल हेर्न एन्फाबाट टिकट काटेका धादिङ फुटबल संघका उपाध्यक्ष सुरेश  तामाङ र सदस्य हरि खतिवडालाई अन्तर्राष्ट्रिय विमानस्थलको बोर्डिङ पास दिने डेस्कका अधिकारीले विनाकारण फर्काइदिए

अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा महिला विश्वकप फुटबल प्रतियोगिता हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले टिकट उपलब्ध गराएका व्यक्तिहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्किन थालेका छन् । विश्वकप हेर्न अस्ट्रेलिया र न्युजिल्यान्डको टिकट प्राप्त गरेका व्यक्तिहरू आधिकारिक नभएको र शंकास्पद भएको जनाउँदै अध्यागमनका कर्मचारीले फर्काएका हुन् । 

यसैक्रममा धादिङ जिल्ला फुटबल संघका उपाध्यक्ष सुरेश तामाङ र सदस्य हरि खतिवडा बुधबार राति त्रिभुवन अध्यागमनबाट फर्किएका छन् ।  तामाङ र खतिवडाले न्युजिल्यान्डको विलिङ्टन जान सिंगापुर एयरलाइन्सको टिकट काटेका थिए । दुवैले आवश्यक सबै कागजी प्रक्रिया पूरा गरी विमानस्थल पुगेका थिए । तर, विमानस्थलको अध्यागमनका अधिकारीले दुवैलाई भिसा रद्द भएको भनी फर्काए । 

‘विश्वकप हेर्न सबै कागजी प्रक्रियासाथ विमानस्थल पुगेका थियौँ, हामी बोर्डिङ पास लिने डेस्कमा ५० मिनेट रोकियौँ, विमानस्थलका अधिकारीले न्युजिल्यान्डको भिसा रद्द भएको भनी फर्काए,’ उपाध्यक्ष तामाङले नयाँ पत्रिकालाई भने, ‘हामी कुन आधारमा फर्किएका हौँ भन्ने अहिलेसम्म जानकारी पाएका छैनौँ ।’ दुवैले विश्वकप हेर्न भिसा, टिकट, इन्स्योरेन्स, होटेल बुकसहित सात–आठ लाख खर्च गरेका छन् । ‘भिसा लागेको र टिकट नै काटिसकेको अवस्थामा कसरी रोकियो ?’ अनभिज्ञता प्रकट गर्दै उनले बताए । तामाङ र खतिवडाले आगामी सोमबार विलिङ्टनको क्षेत्रीय रंगशालामा सन् २०११ को च्याम्पियन जापान र स्पेनबीचको खेल हेर्न टिकट लिएका छन् ।  

उजुरी दिएको आशंका
एन्फाभित्रको आन्तरिक विवादले घटना घटेको शंका तामाङले गरेका छन् । ‘कसैले हामीविरुद्ध उजुरी दिएको हुनुपर्छ, अथवा एन्फाको अन्तरिक द्वन्द्वमा हामीलाई पारिएको छ,’ उनले भने ।  अधिकारीसँग कुराकानी गरिरहँदा मानव तस्करीको विषय उठेको प्रसंग उनले बताए । ‘अधिकारीसँगको फोनवार्तालापमा मानव तस्करीको विषय पनि उठाइएको थियो,’ उनले भने, ‘खेल क्षेत्रभन्दा धेरै बाहिरका मान्छे आए भनेर पनि हामीलाई फर्काएको हुन सक्छ ।’

 एन्फा घटना बुझ्दै
आफूहरू विमानलस्थलबाट फर्किएपछि दुवै पीडितले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलाई जानकारी गराए । नेम्वाङले घटनाको विषयमा ध्यानाकर्षण भएको बताएका छन् । ‘यस विषयमा हाम्रो ध्यानाकर्षण भएको छ । घटना के हो, वास्तवमा के भएको हो, बुझ्ने प्रयासमा छौँ,’ नेम्वाङले भने । उनका अनुसार फिफाले भिसा र टिकट खरिद गरेकालाई कुनै अवरोध गरेको छैन ।

‘फिफाको पक्षबाट केही अवरोध भएको छैन, कहाँ के भएको हो, सत्यतथ्य पत्ता लगाउँछौँ,’ उनले भने । फिफाले एन्फालाई दुई सय ३० टिकट बिक्रीका लागि उपलब्ध गराएको छ । फिफाले अस्ट्रेलियाका लागि एक सय २५ र न्युजिल्यान्डमा हुने खेल हेर्न एक सय ५ टिकट एन्फाका माध्यमबाट बिक्रीमा पठाएको थियो । 

एन्फाले पदीय मर्यादाक्रमअनुसार अध्यक्षलाई अस्ट्रेलियाको ८ र न्युजिल्यान्डको ७, वरिष्ठ उपाध्यक्षलाई अस्ट्रेलियाको ७ र न्युजिल्यान्डको ६, चार उपाध्यक्ष र महासचिव हरेकलाई अस्ट्रेलियाको ५ र न्युजिल्यान्डको ४, केन्द्रीय सदस्य हरेकलाई अस्ट्रेलिया र न्युजिल्यान्डको समान ३ टिकट भाग लगाएको छ । यही टिकटबाट तामाङ र खतिवडा न्युजिल्यान्ड जान लागेका थिए । 

भिसा रद्द गर्ने निर्देशन रहेछ : सुरेश तामाङ

सिंगापुर एयरलाइन्सको समयतालिकाअनुसार बुधबार राति त्रिभुवन विमानस्थलमा पुगेका थियौँ । अगाडि खासै अवरोध भएन । तर, बोर्डिङ पास लिने डेस्कमा पुग्दा त्यहाँ कर्मचारीले एक्कासि डकुमेन्ट नै नहेरी फुटबल हेर्न जान लागेको सुरेश हो ? भनी सोधे । मैले आफू सुरेश भएको बताएँ । कर्मचारीहरूका अनुसार मंगलबार राति नै हामीलाई रोक्न निर्देशन आएको रहेछ । डेस्कका कर्मचारीसँग वार्ता चलिरहँदा रातिको १०: १५ बजेको थियो । 

कर्मचारीले फोनबाट सम्पर्क गरिरहेका थिए । भित्र भिडभाडमै राखेर कुराकानी भइरहेको थियो । हामीले केवल प्रश्नको जवाफ दिइरह्यौँ । हामीमाथि शंकास्पद रूपले प्रश्न भइरहेको थियो । लगभग ४० मिनेट कुराकानी भयो । हाम्रो फ्लाइट समय ११ बजेर १० मिनेटको थियो । कर्मचारीसँग कुराकानी गरिरहँदा बोर्डिङ डेस्क नै बन्द भयो । अन्तिममा बार्डिङ डेस्कका कर्मचारीलाई हाम्रो भिसा रद्द गरी फिर्ता पठाउन निर्देशन आएको रहेछ । त्यसपछि हामीलाई त्यहीँबाट फर्काइयो । 

सिंगापुर एयरलाइन्सलाई एन्फाको पत्र
एन्फाले सिंगापुर एयरलाइन्स प्रालिलाई घटना के भएको हो, एयरलाइन्सले प्राप्त गरेको जानकारी माग गर्दै तामाङ र खतिवडाको टिकटको रकम शतप्रतिशत फिर्ता गर्न माग गरेको छ । ‘एन्फाका आधिकारिक व्यक्तिहरूलाई बोर्डिङ पास उपलब्ध नगराई करिब ५० मिनेटको अनुसन्धानपछि भिसा रद्द गरी पत्र आएको हुँदा यस सम्बन्धमा तपाईंलाई प्राप्त भएको पूर्वजानकारी के कसो हो, कानुनतः उपलब्ध गराउन मिल्ने सूचना तथा जानकारी संघलाई उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु,’ एन्फा महासचिव किरण राईले हस्ताक्षर गरी पठाएको पत्रमा भनिएको छ, ‘हवाई टिकटको शतप्रतिशत रकम फिर्ता गरी सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।’

न्युजिल्यान्डले उपलब्ध गराएको भिजिट भिसा  

विलिङ्टनका लागि काटेको टिकट

सुझावित समाचार