इजिप्टमा भेटियो चार खुट्टा भएको प्राचीन ह्वेलको अवशेष

सोमबार, १४ भदौ, २०७८
डिजिटल संस्करण

इजिप्टका वैज्ञानिकहरूले चार खुट्टा भएको प्राचीन ह्वेलको नयाँ प्रजाति पत्ता लगाएका छन्। इजिप्टको पश्चिमी क्षेत्रको मरुभूमिमा नयाँ प्रजातिको ह्वेलको अवशेष भेटिएको हो। पृथ्वीमा ह्वेलको यो प्रजाति चार करोड तीस लाख वर्ष पहिले अस्तित्वमा रहेको बताइएको छ।

अवशेष भेटिएको उक्त क्षेत्र अहिले मरुभूमिमा परिवर्तन भएपनि पहिले पानीले भरिएको र प्रशस्त जीवांश रहेको बताइएको छ। यसको खप्पर एन्युविससँग मिल्दोजुल्दो भएकाले यसलाई फियोमिसेटस एन्युविस नाम दिइएको छ। एन्युविसलाई प्राचीन इजिप्टमा मृत्युका देवता मानिन्छ जसको टाउको स्यालको जस्तै हुन्छ।

उक्त अवशेषको तौल ६०० किलोग्राम र लम्बाइ १० फिट रहेको प्रोसिडिङ्स अफ दी रोयल सोसाइटी ‘बी’मा प्रकाशित अध्ययनमा उल्लेख गरिएको बिबिसीले जनाएको छ।

खुट्टा भएको ह्वेल भेटिएको यो पहिलोपटक भने होइन। फियोमिसेटस एन्युविसलाई अफ्रिकामा पाइएको सबैभन्दा पुरानो अर्धजलीय ह्वेलको प्रजाति मानिएको छ।

See More On

सुझावित समाचार