गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)लाई अस्पताल सूचीकरण तथा सुपरिवेक्षण गर्न अनुरोध गरेको छ । कोरोना संक्रमणको दर बढ्दै गइरहेको र भयावह हुने अवस्था निम्तन सक्ने भन्दै गृहले यस्तो अनुरोध गरेको हो ।
गृहले सबै अस्पताल र मेडिकलहरूसँग समन्वय गरी उपचारमा सहयोग पुर्याउन तथा त्यसको विवरण अद्यावधिक गर्न ७७ वटै जिल्लाका सिडिओहरूलाई पत्रमार्फत अनुरोध गरेको छ ।
आइसोलेसन सेन्टर, अस्पताल, मेडिकल कलेजहरूसँग समन्वय गरी अस्पतालहरूलाई कोभिड उपचारमा सहज बनाउन गृहको आग्रह छ । ‘दोस्रो लहरको वेलामा सूचीकृत अस्पतालहरू स्थगन गरिएको हुँदा तेस्राे लहर आउने सक्ने सम्भावनालाई मध्यनजर राख्दै अस्पतालहरूलाई सूचीकृत गर्नुपर्ने आवश्यकता देखिएको छ,’ गृहद्वारा बिहीबार जारी पत्रमा भनिएको छ ।
साउन २५ गते बसेको सचिवस्तरको बैठकले यस्तो निर्णय गरेको थियो । बैठकमा कोरोना संक्रमण रोकथामका लागि देशभरका सिडिओहरूलाई थप जिम्मेवारी दिने छलफल भएको थियो ।
सोहीअनुसार गृहले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई आइसोलेसन सेन्टर, अस्पताल, मेडिकल कलेज सूचीकृत गर्ने, अस्पतालहरूको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आपतकालीन कार्य सञ्चालन केन्द्रको इमेलमा पठाउने, कोरोनाकेन्द्रित अस्पताल र संक्रमितको तथ्यांक अद्यावधिक गर्ने, मासिक विवरण अद्यावधिक गर्ने र निःशुल्क उपचार भएका बिरामीहरूको विवरण स्वास्थ्य मन्त्रालयमा पठाउन अनुरोध गरेको छ । त्यस्तै, सूचीकृत अस्पतालहरूको नियमित सुपरिवेक्षण गर्न पनि पत्रमार्फत अनुरोध गरिएको छ ।