अफगान अधिकारी भन्छन्– हिंसा रोक्न दबाब बढाइयोस्

सोमबार, २५ साउन, २०७८
डिजिटल संस्करण

अफगानिस्तानमा तालिवानको आक्रामक गतिविधि बढिरहेका वेला अफगानिस्तानका वरिष्ठ अधिकारीले मुलुकमा भएको आमनरसंहार रोक्न दबाब दिन नसकेको भन्दै विश्व समुदायप्रति असन्तुष्टि पोखेका छन् । ती अधिकारीले अफगानिस्तानमा तालिवानलाई र तालिवानको संरक्षण र सहयोग गरेकोमा पाकिस्तानलाई दबाब दिन नसकेको भन्दै आलोचना गरेका हुन् । दुवै पक्षलाई दबाब बढाउनुपर्ने अफगान अधिकारीको भनाइ छ ।
 
स्थानीय समाचार संस्थाहरूका अनुसार अफगानिस्तानमा युद्ध विस्तार भएसँगै सहरी क्षेत्रमा मानव अधिकार उल्लंघनका घटना बढेका छन्, नागरिक हताहती बढेको छ । ‘पाकिस्तान र तालिवानलाई हिंसा रोक्न दबाब दिनका लागि विश्व समुदायलाई केले रोकिरहेको छ ?’ तालिवानलाई पाकिस्तानले निरन्तर सहयोग गरेको आरोप लगाउँदै अफगानिस्तान सरकारका पब्लिक तथा रणनीतिक मामिलासम्बन्धी महानिर्देशनालयका महानिर्देशक वाहिद ओमरले भनेका छन् । उनले अफगानिस्तानको स्थानीय सञ्चारमाध्यममा यो पनि भनेका छन्, ‘अफगानिस्तानमा आमनरसंहारका घटना बढेका छन् । विध्वंस र लुटपाटका घटना बढेका छन् । यसका लागि तालिवान र उसको संरक्षणकर्ता पाकिस्तानलाई दबाबपूर्ण तरिकाले रोक्न विश्व समुदायलाई केले रोकेको छ, हामीले बुझ्न सकेनौँ ।’ 

अमेरिकाले अफगानिस्तानका सहरी क्षेत्रमा तालिवानको हिंसात्मक आक्रामक गतिविधि बढेकोमा निन्दा गरिसकेको छ । अफगानिस्तानस्थित अमेरिकी दूतावासले हेल्मन्ड, निमरोज, जोओजान प्रान्तमा तालिवानका हिंसात्मक घटनाप्रति आपत्ति जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को विशेष बैठकमा शुक्रबार सदस्य मुलुकहरूले पनि अफगानिस्तानको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै राजनीतिक समाधानमा जोड दिएका छन् ।

बैठकमा संयुक्त राष्ट्रसंघका लागि अफगानिस्तानका राजदूत घुलाम इसाकजाईले तालिवानलाई पाकिस्तानले सप्लाई चेनमा सहयोग गरिरहेको प्रमाण सरकारसँग रहेको र सुरक्षा परिषद्लाई प्रमाण उपलब्ध गराउन तयार रहेको दाबी गरेका छन् । उनले यस सन्दर्भमा पाकिस्तान सरकारसँग अफगानिस्तान सरकार सम्पर्कमा रहेको पनि उल्लेख गरेका छन् । अफगानिस्तानले तालिवानलाई पाकिस्तानले सहयोग गर्दै आएको आवाज निरन्तर उठाइरहेको छ । राजदूत इसाकजाईले अफगानिस्तानका आतंकवादी समूह पाकिस्तानमा सुरक्षित रूपमा बसेको आरोप लगाउँदै पाकिस्तानले अफगानिस्तानको आग्रहलाई बेवास्ता गरेको पनि टिप्पणी गरेका छन् । 

सुझावित समाचार