जर्मनी र इंग्ल्यान्ड फुटबल मैदानमा उत्रदा जत्तिको दुस्मनी सायदै अन्त कतै देख्न पाइन्छ । यो दुस्मनी वर्षाैंदेखि जारी छ, जसमा यिनीहरूका समर्थकले धेरै अविस्मरणीय क्षण सँगालेका छन् । आँसु र खुसी व्यहोरेका छन् ।
यी दुई टोली फेरि यस्तै अर्काे एउटा खेलमा भेट हुँदै छन् । युरोकप २०२० अन्तर्गत प्रिक्वार्टरफाइनल चरणको खेलमा मंगलबार जर्मनी र इंग्ल्यान्ड वेम्बली स्टेडियमा खेल्दै छन् । यो भेटमा पनि यी दुई टोलीले दुस्मनीको फेरि अर्काे कथा तय गर्ने सम्भावना छ । सन् २०१४ को विश्वकप विजेता जर्मनी आफ्नो पुरानो प्रतिद्वन्द्वीविरुद्ध पछिल्ला भिडन्तमा सफल देखिएको छ । यद्यपि, मैदानमा देखिने त्यो पुरानो भावना अझै हराएको छैन ।
स्टुआर्ट डाइक्स सन् १९८७ मा इंग्ल्यान्डबाट जर्मनी सरेका फुटबल समर्थक हुन् । बुन्डेस लिगाको दुई क्लबको प्रशासनमा काम गरेका उनले पनि यी दुई टोलीबीचको फुटबल दुस्मनीलाई बुझेका छन् । ‘मेरो विचारमा जर्मनहरूका लागि पनि यो खेल ठूलो हो । जर्मनी र इंग्ल्यान्डबीचको यो खेल बाँकी सबै खेलभन्दा माथि रहने गर्छ । अन्य दृष्टिकोणबाट जर्मनीका लागि अरू नै खेल महत्वपूर्ण हुन सक्छ, तर इतिहास र वर्षाैंदेखि जारी दुस्मनीका कारण उसका लागि योभन्दा महत्वपूर्ण खेल अरू हुन सक्दैन,’ उनी भन्छन्, ‘त्यसैले पनि यो खेल महत्वपूर्ण छ ।’
खेलमा प्रविधि भित्र्याउन दबाब दिने त्यो खेल
महत्वपूर्ण प्रतियोगितामा आफ्नो टोलीले जर्मनीसँग गरेको पछिल्लो प्रतिस्पर्धा इंग्लिस समर्थकहरू बिर्सन चाहन्छन् । त्यो प्रतिस्पर्धा सन् २०१० को फिफा विश्वकपअन्तर्गत भएको थियो । दक्षिण अफ्रिकामा भएको उक्त प्रतिस्पर्धामा इंग्ल्यान्ड जर्मनीसँग ४–१ ले पराजित भएको थियो । तर, यही खेलबाट इंग्ल्यान्डले फुटबलमा एउटा ठूलो परिवर्तनका लागि महत्वपूर्ण योगदान पुर्याएको छ । त्यो खेल इंग्ल्यान्डका फ्राङ्क लाम्पार्डका कारण पनि सम्झिने गरिएको छ ।
खेलमा जर्मनीले २–१ को अग्रता बनाएको अवस्थामा मिडफिल्डर लाम्पार्डले एउटा सशक्त प्रहारमार्फत गोल गरेका थिए । त्यससँगै इंग्ल्यान्डले खेलमा २–२ गोलको बराबरी गरेको मानिएको थियो । लाम्पार्डको प्रहार क्रस बारको भित्रतर्फ लागेर मैदानमा गोललाइन क्रस गरेको थियो । भुइँमा गोललाइनभित्र झरिसकेपछि जर्मनीका गोलरक्षक मान्युअल न्युअरले नियन्त्रणमा लिएको उक्त बललाई रेफ्रीले गोलको मान्यता दिएनन् । वास्तवमा रेफ्रीहरूले उक्त बलले गोललाइन पार गरेको देखेका थिएनन् । त्यसैले पनि उनीहरूले गोलको मान्यता दिएनन् । तर, रेफ्रीको यो निर्णयपछि इंग्लिस समर्थकहरूले ठूलो असन्तुष्टि व्यक्त गरे ।
त्यही घटनाले फुटबल मैदानमा प्रविधिको प्रयोगको बाटो खोलेको थियो । त्यसको चार वर्षपछि सन् २०१४ मा ब्राजिलमा आयोजना भएको फिफा विश्वकपमा विश्व फुटबल महासंघ (फिफा)ले गोललाइन प्रविधिलाई प्रयोगमा ल्याउने निर्णय गर्यो । सन् २०१८ मा रुसमा आयोजना भएको फिफा विश्वकपमा भिडियो एसिस्टेन्ट रेफ्री (भार) को पूर्ण रूपमा प्रयोग भयो । ‘यसले खेललाई राम्रोतर्फ परिवर्तन गरिदिएको छ,’ लाम्पार्डले एउटा अन्तर्वार्तामा भनेका छन्, ‘यसले गर्दा पनि म खुसी छु । यसलाई सकारात्मक रूपमा लिन जरुरी छ ।’
पेनाल्टीको पीडा
इंग्लिस फुटबलले जर्मनीसँग सधैँ यस्तो दुर्भाग्य मात्रै व्यहोरेको छैन । इंग्लिस टोली कुनै समय डेभिड बेक्हाम, स्टेभन जेरार्ड, माइकल ओवेनजस्ता विश्व चर्चित खेलाडीले सजिएको थियो । उनीहरूकै समयतिर सन् २००१ को विश्वकपको छनोट खेलमा इंग्ल्यान्डले जर्मनीमाथि ५–१ को हार व्यहोरेको थियो । इंग्ल्यान्डले सन् १९६६ को विश्वकप जित्दा पनि जर्मनीलाई हराएको थियो । त्यसवेला पनि खेलमा यस्तै विवादित गोल भएको थियो । एलान बलको क्रसमा जियोफ हर्ट्सले गरेको सशक्त प्रहार क्रसबारमा लागेर भुइँतर्फ झरेको थियो । त्यसवेला पनि उक्त बलले गोललाइन क्रस गरे/नगरेको विषयमा विवाद भयो । दुवै टोलीले आआफ्नो दाबी गरे । मैदानमा केही समय विवाद भयो ।
सुरुवातमा लाइन्सम्यानले उक्त बललाई गोल दिन अस्वीकार गरेका थिए । पछि रेफ्रीसँग छलफल गरेपछि उक्त बललाई गोलको मान्यता दिइएको थियो । त्यससँगै खेलमा इंग्ल्यान्डले ३–२ को अग्रता बनाएको थियो । अन्तिममा उक्त खेल इंग्ल्यान्डले ४–२ ले जित्यो । तर, पेनाल्टीमा भने इंग्ल्यान्डले प्रायः असफलता नै व्यहोरेको छ । सन् १९९० को फिफा विश्वकप र सन् १९९६ को युरोकप दुवैमा इंग्ल्यान्ड वेस्ट जर्मनीसँग टाइब्रेकरमा पराजित हुँदै सेमिफाइनलबाटै बाहिरिएको थियो । सन् १९९० को विश्वकपको उक्त प्रतिस्पर्धा पल गास्कोइग्नेका कारण पनि सम्झिने गरिएको छ । उक्त खेलमा पहेँलो कार्ड देखाइँदा उनी मैदानमै रोएका थिए । यदि उनको टोली इंग्ल्यान्ड फाइनलमा पुगेको भए, सोही पहेँलो कार्डका कारण उनले फाइनल खेल खेल्न नपाउने निश्चित थियो ।
यसकै कारण यी दुई टोलीबीचको खेललाई लिएर भन्ने गरिएको छ, ‘मैदानमा ९० मिनेट २२ जनाले एउटा बललाई पछ्याउँछन् । अन्तिममा जर्मनीले खेल जित्छ ।’ सन् १९९६ को युरोकपमा जर्मनीविरुद्ध इंग्ल्यान्डका अहिलेका मुख्य प्रशिक्षक गारेथ साउथगेटले निर्णायक पेनाल्टी प्रहार गुमाएका थिए ।
त्यसैले पनि मंगलबारको खेलअघि इंग्लिस समर्थक आफ्नो टोली फेरि त्यस्तै अवस्थाबाट बाहिरिनु नपरोस् भन्ने चाहन्छन् । ‘जर्मन समर्थकबीच एउटा जोक चर्चित छ, इंग्ल्यान्डका खेलाडीहरू पेनाल्टी प्रहार गर्न च्याम्पियन छन् । यो साँच्चिकै ठूलो जोक हो,’ डाइक्स भन्छन्, ‘इंग्ल्यान्डले खेल जित्न सक्छ, तर पेनाल्टीमा हैन भनेर लेखेको हेडलाइन देखेँ । वास्तविकताचाहिँ के हो भने सत्य बोल्दा जारी प्रतियोगितामा दुवै टोलीले राम्रो खेल्न सकेका छैनन् । त्यस्तो अवस्थामा पेनाल्टीकै प्रसंग आउँदा जर्मनीलाई इतिहासले प्रेरित गर्न सक्नेछ ।’