अन्य देश यात्रा नगर्ने एक्लो टोली इंग्ल्यान्ड

आइतबार, १३ असार, २०७८
डिजिटल संस्करण

११ देशका ११ सहरमा १६औँ संस्करणको युरोकप २०२० सञ्चालन भइरहेका छन् । यही कारण खेलाडीहरू एक सहरबाट अर्को सहरसम्म जान–आउन हवाई यात्रा गरिरहेका छन् । तर, इंग्ल्यान्डको टोलीले भने एउटै पनि हवाई यात्रा गर्नुपरेको छैन । समूह चरणदेखि प्रिक्वार्टरफाइनल खेलसम्म इंग्ल्यान्डले लन्डनस्थित विम्बली रंगशालामै खेल्ने तय भएको छ । जसका कारण इंग्ल्यान्डका खेलाडी घरबाहिर गई प्रतिस्पर्धा गर्नुपर्ने छैन ।

तर, इंग्ल्यान्डबाहेक प्रिक्वार्टरफाइनल पुगेका र समूह चरणबाटै बाहिरिएका टोलीले प्रतियोगिता अवधिभर सयदेखि हजारौँ माइल्सको यात्रा गरेका छन् । तथ्यांकअनुसार स्विटजरल्यान्डले अहिलेसम्म सात हजार दुई सय ४५ माइल्स हवाई यात्रा गरिसक्यो । त्यसपछि वेल्स दोस्रो स्थानमा छ । रोवर्ट पेजको प्रशिक्षणमा रहेको वेल्सले डेनमार्कसँग खेल्न शनिबार नेदरल्यान्ड्सको अम्स्टार्डम पुग्दा पाँच हजार तीन सय ८२ माइल्स पूरा गरेको छ । स्विडेनले पनि समूह चरणसम्म पाँच हजार तीन सय ६२ माइल्स यात्रा गर्यो । 

नकआउट चरण प्रतिस्पर्धाका लागि स्विडेनले युक्रेनको हाम्पडेन पार्कमा खेल्न बाँकी छ । यसले स्विडेनको यात्रा बढ्नेछ । द सनअनुसार स्पेनले आइतबार क्रोएसियाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । स्पेनले अहिलेसम्म एक हजार पाँच सय ३० माइल्स यात्रा तय गरिसकेको छ । समूह चरणमा फ्रान्सले धेरै हवाई यात्रा गरेको थिएन । 

फ्रान्स पनि कमै हवाई यात्रा गर्ने टोलीमा पर्छ । फ्रान्सले एक हजार एक सय ७३ माइल्स हवाई यात्रा गरेको छ । हंगेरी, इटाली, जर्मनी र डेनमार्कले समूह चरणमा आ–आफ्नो घरेलु मैदानमा प्रतिस्पर्धा गरेका थिए । सबै टोली ११ सहरको यात्रा तय गरिसक्दा इंग्ल्यान्ड भने भाग्यमानी देखिएको छ ।

इंग्ल्यान्डले मंगलबार पूर्वविजेता जर्मनीको सामना विम्बलीमै गर्नेछ । इंग्ल्यान्डको समर्थन गर्न ४५ हजार समर्थकलाई अनुमति दिइएको छ । यसैगरी, जर्मन समर्थक हजारौँ संख्यामा आउनेछन् । 

See More On

सुझावित समाचार