युरोकपमा नेपाली नजर : प्रशिक्षकको रणनीति असफल हुँदा जर्मनीको हार

बिहिबार, ३ असार, २०७८
डिजिटल संस्करण
युरोकपमा नेपाली नजर : प्रशिक्षकको रणनीति असफल हुँदा जर्मनीको हार

नवीन पाण्डे, फुटबल विश्लेषक एवं अखिल नेपाल फुटबल संघका विदेश विभाग पूर्वप्रमुख

कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लामो समयदेखि विभिन्न खाले बन्धनमा रहेका समर्थकहरू स्टेडियममा पुगेर खेल हेर्न पाए । फुटबल समर्थकका लागि यो खुसीको कुरा हो । त्यसमाथि युरोकप २०२० अन्तर्गत घरेलु मैदानको पहिलो खेलमा विश्व च्याम्पियन फ्रान्सविरुद्ध आफ्नो टोली जर्मनीको प्रतिस्पर्धा । जर्मन समर्थकको उत्साह यत्तिकै पनि उच्च थियो ।

तर, खेलको नतिजाले उत्साहित घरेलु दर्शकलाई निराश बनायो । जर्मनी आत्मघाती गोलमा फ्रान्ससँग १–० ले पराजित भयो । यो जर्मन समर्थकहरूले अपेक्षा गरेको नतिजा हैन । यो पराजयमा जर्मन खेलाडीको कमजोरीभन्दा पनि प्रशिक्षक योआखिम ल्वोभको रणनीति असफल भएको मान्छु । जर्मनीको मुख्य प्रशिक्षकका रूपमा उनको यो अन्तिम प्रतियोगिता हो । यो प्रतियोगितापछि उनले जिम्मेवारी छाड्दै छन् । त्यही भएर पनि होला, उनले केही पुराना खेलाडीहरूलाई यो प्रतियोगितामा समावेश गरेका छन् । जस्तै, इल्के गुन्दोगन, टोनी क्रुज, थोमस मुलर । उनीहरू राम्रै खेलाडी हुन् । उनीहरूले धेरै मिहिनेत गरेर खेले पनि । तर, उनीहरू आफ्नो जिम्मेवारीमा जति चुस्त हुनुपर्ने हो त्यति हुन सकेनन् । 

उनीहरूको स्थानमा युवा खेलाडीहरूले अवसर पाएको भए अझ राम्रो प्रदर्शन गर्न सक्थे । त्यसमाथि खेलको सुरुवातबाटै जर्मनीको रणनीति खेल सुहाउँदो भएन । फ्रान्सको आक्रमण बलियो छ । केलियन एम्बाप्पे, करिम बेम्जेमा, एन्टोइन ग्रिजम्यानलगायत स्ट्राइकर रहेको फ्रान्सको अगं्रपक्ति सशक्त छ । जर्मनीले त्यहीअनुसारको टिम तयार पारेको थियो । तर, फ्रान्सले सुरुवातबाटै आफ्नो रक्षापंक्ति बलियो बनाएर काउन्टरमा आक्रमण गर्ने प्रयास ग¥यो । त्यसमाथि जर्मनीले बीचबाट मात्रै खेल्ने प्रयास ग¥यो । जहाँबाट जर्मनीले फ्रान्सको रक्षापंक्ति तोड्न सकेन ।

जर्मनीले आफ्नै गल्तीमा गोल व्यहोर्न पुग्यो । लुकास हर्नान्डेजले क्रस गरेको बललाई क्लियर गर्ने प्रयास गर्दा माट्स हुमेल्सले आफ्नै पोस्टमा छिराउन पुगे । यो गोलमा हुमेल्सको भन्दा पनि एन्टोनियो रुडिगरको कमजोरी देख्छु । उसले मार्क गर्नुपर्ने खेलाडीलाई छाडेर अघि बढेपछि उसैले क्रस गरेको बल गोलमा परिणत भएको हो । 

पहिलो खेलको खराब नतिजाका बाबजुद जर्मनी फेरि प्रतियोगितामा सशक्त रूपमा फर्कने अपेक्षा गरेको छु । जर्मनीलाई प्रतियोगिताकेन्द्रित टोली हो पनि भन्छन् । प्रतियोगिता सुरु भएपछि एकपछि अर्काे खेलमा जर्मनीले सुधारिएको प्रदर्शन गर्छ । 

जर्मनीले अब पोर्चुगलसँग खेल्दै छ । अबको खेलमा जित हात पार्दै अघि बढ्नुपर्छ । पोर्चुगलविरुद्ध जर्मनीले नियमित राम्रो नतिजा आत्मसात् गर्दै आइरहेको छ । त्यसमाथि जर्मनीले पोर्चुगलसँग आफ्नो घरेलु मैदानमा खेल्दै छ । पोर्चुगललाई पराजित गरेको अवस्थामा जर्मनीको अझै अघि बढ्ने सम्भावना छ । 

(विश्लेषक पान्डे जर्मनी समर्थक हुन् ।)

See More On

सुझावित समाचार