आशा एसियनकपको

बिहिबार, २० जेठ, २०७८
डिजिटल संस्करण
आशा एसियनकपको

चाइनिज चाइपेईविरुद्धको प्रतिस्पर्धाका लागि कुवेतमा अभ्यास गर्दै नेपाली खेलाडी ।

नेपालले बिहीबारबाट विश्वकप २०२२ र एसियनकप २०२३ को दोस्रो चरणको छनोटको बाँकी खेल खेल्दै छ । विश्वकप छनोटको अवसर गुमाइसकेको नेपालले एसियनकप छनोटमा पर्ने सम्भावना भने बलियो बनाउने अपेक्षा गरिएको छ ।

कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण रोकिएको विश्वकप २०२२ र एसियनकप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटका बाँकी खेल बिहीबारबाट सुरु हुँदै छन् । नेपालले बिहीबार नै चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्दै छ । 

आगामी वर्ष कतारले फिफा विश्वकप र दुई वर्षपछि चीनले एसियनकप आयोजना गर्दै छन् । छनोट प्रतियोगिताले ती प्रतिस्पर्धामा खेल्ने अवसर दिनेछ । नेपालले विश्वकपको अवसर लगभग गुमाइसके पनि एसियनकपका लागि भने छनोट सम्भावना जीवितै छ । त्यसका लागि नेपाललाई चाइनिज ताइपेईविरुद्धको खेलमा जित आवश्यक छ । विश्वकप २०२२ का लागि भने नेपालको सम्भावना गणितीय रूपमा मात्रै बाँकी छ । 

तुलनात्मक रूपमा सहज प्रतिद्वन्द्वी चाइनिज ताइपेईविरुद्ध नेपालले जितकै लक्ष्य बनाएको छ । गत शनिबार मात्रै इराकजस्तो बलियो टोलीसँग सशक्त प्रदर्शन गरेर प्रतिस्पर्धाका लागि कुवेत पुगेको नेपाली टोली चाइनिज ताइपेईविरुद्धको खेलअघि उत्साहित पनि देखिएको छ ।

यद्यपि, कुवेतको गर्मी नेपाली टोलीका लागि बाधक बन्न सक्छ । नेपाली टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टोलीलाई कुवेतको वातावरणमा घुलमिल हुन मुस्किल देखिएको जनाएका छन् । 

‘खेलाडीहरू उत्साहित छन् । यद्यपि, उनीहरूलाई यहाँको गर्मीमा सहज भइरहेको छैन । उनीहरूलाई यहाँको वातावरणमा एडजस्ट हुन मुस्किल भइरहेको छ,’ ताइपेईसँगको खेलअघि नेपाली टोलीका प्रशिक्षक अलमुताइरीले भने, ‘हाम्रा लागि वातावरण चुनौतीपूर्ण बनेको छ ।’

कुवेतको गर्मीलाई झेल्न सके युवा खेलाडीहरूले भरिएको नेपाली टोलीले ताइपेईविरुद्ध जितकै नतिजा निकाल्ने अपेक्षा गरिएको छ । नेपाली टोली पछिल्लो साता दिनदेखि अरबको भ्रमणमा छ । 

नेपालले गत शनिबार इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । नेपाल उक्त खेलमा ६–२ ले पराजित भयो । तर, कुवेतको जस्तै गर्मी मौसममा नेपाली टोलीले फिफा वरीयतामा आफूभन्दा एक सय तीन स्थानमाथि रहेको इराकविरुद्ध प्रशंसनीय प्रदर्शन गरेको थियो । त्यो प्रदर्शनलाई निरन्तरता दिन सकेको अवस्थामा नेपाली टोली आफ्नो उद्देश्यमा सफल हुनेछ । 

ताइपेईविरुद्ध यसअघि भएको खेलको नतिजाले पनि नेपाली खेलाडीलाई हौसला दिनेछ । नेपालले ताइपेईविरुद्ध यसअघि दुईपटक मात्रै प्रतिस्पर्धा गरेको छ । त्यो पनि उसकै मैदानमा । जेठ र भदौ २०७६ मा भएका यी दुईमध्ये पहिलो खेलमा नेपालले बराबरी र दोस्रो खेलमा जित निकालेको थियो । नेपालले ताइपेईविरुद्ध यसै प्रतियोगिताको पहिलो चरणको खेलमा जित हात पारेको हो । समग्रमा नेपाल ताइपेईविरुद्ध अपराजित छ ।

पछिल्लो समय निरन्तर कमजोर प्रदर्शनबाट गुज्रिरहेको ताइपेई टोली कोरोना भाइरस महामारी सुरु भएपछि पहिलोपटक अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा निस्कँदै छ । त्यसमाथि उसका केही महत्वपूर्ण खेलाडी यसपटक टोलीमा छैन । विदेशी लिगमा सहभागी उसका खेलाडी कोरोना भाइरस महामारीका कारण आउन नसकेको ताइपेईले जनाएको छ । यो अवस्थामा ताइपेईले पनि युवा खेलाडीलाई नै लिएर प्रतियोगितामा सहभागी हुन कुवेत पुगेको छ । 

विपक्षी टोलीको यी कमजोरीलाई सदुपयोग गर्न सके नेपाली टोलीले जितको नतिजासँगै कुवेतमा आफ्नो सुखद यात्रा सुरु गर्नेछ । त्यसले २४ जेठमा जोर्डन र २८ जेठमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्दा पनि नेपाली टोली उच्च मनोबलमा हुनेछ ।

नेपाल एसियनकपका लागि यसरी छनोट हुन सक्छ
विश्वकप २०२२ तथा एसियनकप २०२३ को दोस्रो चरणको जारी एसियाली छनोटमा ४० टोली सहभागी छन् । जसलाई पाँच–पाँच टोली पर्ने गरी आठ समूहमा बाँडिएको छ । नेपाल यो छनोटको समूह बिमा छ । दोस्रो चरणको छनोटबाट आठ समूहको शीर्ष स्थानमा रहने आठ र आठै समूहको दोस्रो स्थानमा रहेकामध्ये उत्कृष्ट चार गरी १२ टोली सन् २०२३ मा चीनमा आयोजना हुने एएफसी एसियनकपका लागि छनोट हुनेछन् ।

दोस्रो स्थानका बाँकी चार, आठै समूहमा तेस्रो स्थानमा रहेका आठ र चौथो स्थानमा रहेका आठमध्ये उत्कृष्ट चार गरी १६ टोली एसियनकप ०२३ को लागि हुने तेस्रो तथा अन्तिम चरणको छनोटमा पुग्नेछन् ।

चौथो स्थानको बाँकी चार र आठै समूहको पाँचौँ स्थानमा रहेका आठ टोलीले भने एसियनकप ०२३ का लागि तेस्रो चरणको छनोट प्रतियोगितामा पुग्न प्लेअफ खेल खेल्नेछन् । होम एन्ड अवेका आधारमा दुई लेगमा हुने प्लेअफ प्रतिस्पर्धाबाट आठ टोलीले तेस्रो तथा अन्तिम चरणको छनोटमा स्थान सुरक्षित गर्नेछ । 

तेस्रो तथा अन्तिम चरणको खेलमा २४ टोलीले प्रतिस्पर्धा गर्नेछ । २४ टोलीलाई चार–चार टोली पर्ने गरी ६ समूहमा विभाजन गरिनेछ । समूहको खेल होम एन्ड अवे प्रणालीमा हुनेछन् । आयोजक चीन सहभागी भए एसियनकप ०२३ का लागि अन्तिम चरणको छनोट प्रतियोगिताबाट १२ टोली र चीन सहभागी नभए ११ टोली छनोट हुनेछन् ।

नेपाल अहिले दोस्रो चरणको छनोटको समूह बीको चौथो स्थानमा छ । नेपालले चौथो स्थानमा रहेर दोस्रो चरणको छनोट टुंग्गाए र चौथो स्थानमा रहेका अन्य सात समूहका टोलीमध्ये उत्कृष्ट चारमा पर्न सके सीधै तेस्रो चरणको छनोट प्रतियोगितामा स्थान सुरक्षित गर्नेछ । यदि, त्यो सम्भव नभए नेपालले तेस्रो तथा अन्तिम चरणको छनोट प्रतियोगितामा पुग्नकै लागि प्लेअफ खेल्नुपर्नेछ ।

कुवेतको गर्मी चुनौतीपूर्ण : अब्दुल्लाह अलमुताइरी, मुख्य प्रशिक्षक, नेपाल
कुवेतको गर्मीमा फुटबल खेल्न सहज हुनेछैन । त्यसैले यो खेल नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि मुस्किल हुनेछ । यद्यपि, इराकसँगको मैत्रीपूर्ण खेलमा पराजयका बाबजुद हामीले धेरै कुरा सिकेका छौँ । त्यसैले हामी जितकै लागि खेल्नेछौँ । यो छनोट प्रतियोगितामा हामी कम्तीमा चौथो स्थान सुरक्षित गर्न चाहन्छौँ । त्यसले एसियाकपका लागि हाम्रो सम्भावना पनि जीवित बनाइराख्ने छ । त्यसका लागि ताइपेईविरुद्ध हामीलाई जित आवश्यक छ । हामीले धेरै मैत्रीपूर्ण खेल खेल्न पाएका छैनौँ । हामीसँग युवा खेलाडीको धेरै छन् र उनीहरू उत्तिकै क्षमतावान् पनि छन् । हामीले उनीहरूमाथि धेरै दबाब पनि दिन सक्दैनौँ । ताइपेईको टोलीमा पनि नयाँ खेलाडीको बाहुल्यता रहेको छ ।

नेपालको टोली राम्रो छ’: भोम का–नुह्म, मुख्य प्रशिक्षक,चाइनिज ताइपेई
कुवेतको गर्मी हाम्रा लागि पनि कठिन छ । यो वातावरणमा घुलमिल हुन हाम्रो लागि पनि मुस्किल भएको छ । त्यसमाथि हामी बलियो टोलीसँग प्रतिस्पर्धा गर्दै छौँ । नेपालको सन्तुलित टोली छ । उनीहरूको रक्षापंक्ति र आक्रमण दुवैमा राम्रो छ । विदेशी लिगहरूमा खेलिरहेका हाम्रा मुख्य खेलाडी कोरोना भाइरसका कारण टोलीमा सहभागी हुन सकेनन् । उनीहरूको स्थानमा नयाँ खेलाडी लिएर आएका छौँ । आशा छ कि नयाँ खेलाडीहरूले सिनियर खेलाडीको स्थान लिनेछन् ।

नेपाली टोली
गोलरक्षक : किरणकुमार लिम्बू, दीप कार्की, विशाल सुनार, रक्षक : अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द, दिनेश राजवंशी, विकास खवास, मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, मनीष डाँगी, सन्तोष तामाङ, सुरजजिउ ठकुरी, कमल थापा, विशाल राई, सुनील बल, आयुष घलान, स्ट्राइकर : नवयुग श्रेष्ठ, आशिश लामा, अञ्जन विष्ट, अभिषेक रिजाल, सुमन लामा, प्रशिक्षक : अब्दुल्लाह अलमुतइरी

फिफा वरीयता

नेपाल : १७१
चाइनिच ताइपेई : १४१

खेल : विश्वकप तथा एसियाकप छनोट
नेपालविरुद्ध चाइनिज ताइपेई
समय : राति ९ः४५ बजे (जाबर अल हमाद स्टेडियम)

हेड टु हेड
नेपाल १–१ चाइनिज ताइपेई (२३ जेठ २०७६, मैत्रीपूर्ण खेल)
नेपाल २–० चाइनिज ताइपेई (२४ भदौ २०७६, विश्वकप तथा एसियाकप छनोट)

See More On

सुझावित समाचार