इराकसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली टोली मंगलबार राति १० बजे कतार एयरलाइन्सको विमानमार्फत इराक गएको हो ।
नेपाली टोलीले १५ जेठमा इराकसँग बस्रा इन्टरनेसनल स्टेडियममा मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ । मैत्रीपूर्ण खेलको चार दिनअघि ३५ सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको हो । नेपाली टोलीमा २३ खेलाडी छन् । प्रशिक्षक, व्यवस्थापकबाहेक केही पदाधिकारी घुम्नकै लागि नेपाली टोलीसँगै त्यसतर्फ प्रस्थान गरेका छन् । जसमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाल समेत छन् ।
इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट विश्वकप २०२२ र एसियाकप २०२३ को छनोटको दोस्रो चरणको बाँकी खेल खेल्न कुवेत जानेछ । नेपालले कुवेतमा २० जेठमा चाइनिज ताइपे, २४ जेठमा जोर्डन र २८ जेठमा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ ।
‘समूह बी’मा रहेको नेपालका लागि छनोट निश्चित गर्न सहज छैन । त्यसका लागि नेपाललाई तीनमध्ये सबै खेलमा जित हात पारेर मात्रै पुग्ने छैन, अन्य टोलीको खेलमा पनि निर्भर पर्नुपर्नेछ ।
कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण एसियाली फुटबल महासंघ (एएफसी)ले दोस्रो चरणको छनोट खेल एउटै भेन्यूमा आयोजना गर्न लागेको हो । सामान्य अवस्थामा यी सबै खेल नेपालले आफ्नो घरेलु मैदानमै खेल्नुपर्ने थियो ।
नेपाली टोली
गोलरक्षक : किरणकुमार चेम्जोङ, दीप कार्की, विशाल सुनार
रक्षक : अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द, दिनेश राजवंशी, विकास खवास
मिडफिल्डर : पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, मनीष डाँगी, सन्तोष तामाङ, सुरज जिउ ठकुरी, कमल थापा, विशाल राई, सुनील बल, आयुष घलान
स्ट्राइकर : नवयुग श्रेष्ठ, आशिष लामा, अञ्जन विष्ट, अभिषेक रिजाल, सुमन लामा
प्रशिक्षक : अब्दुल्लाह अलमुतइरी, किरण श्रेष्ठ, विकास मल्ल
व्यवस्थापक : मधुसूदन उपाध्याय