४ अर्ब लगानीमा रुपन्देहीमा हाउजिङ परियोजना

मंगलबार, १० चैत, २०७७
डिजिटल संस्करण

बोधि होम्स प्रालिले रुपन्देहीमा हाउजिङ परियोजना सुरु गरेको छ । ४ अर्ब लगानीमा निर्माण सुरु भएको परियोजनाले विशेष छुटका साथ आइतबारबाट बुकिङ सुरु गरेको कम्पनीका अध्यक्ष जलेश्वर पाण्डेले जानकारी दिए । भैरहवा बजारदेखि डेढ किलोमिटरपूर्व रुपन्देहीको ओमसतिया–४, परियोजनाले दुई चरणमा ३ सय घर बनाउनेछ । सुरुमा दुई वर्षभित्र सक्ने गरी १ सय ४ वटा र दोस्रो चरणमा १ सय ९६ घरहरू ९ बिघा क्षेत्रफलमा थप दुई वर्षमा निर्माण हुनेछ । 

प्रथम चरणमा सम्पन्न हुने ६८ वटा भवनमा ४ बेडरुमसहितको २३ सय ३३ वर्गफिटको अढाईतले घर रहनेछ । ३६ वटा घर ५ बेडरुमसहित २६ सय ९७ वर्गफिटका रहनेछन् । भवनहरू ११ देखि १७ धुर क्षेत्रफलमा निर्माण हुनेछन् । प्रालिले वैशाखसम्म बुकिङ गरे साढे १२ प्रतिशत छुट दिने र एक वर्षभित्र निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्नेछ । 

फिनिसिङ र फर्निसिङसहितको दुवै प्रकारको घर वैशाखको मसान्तभित्र बुकिङ गरेमा सहुलियत दरमा १ करोड ६० लाख र १ करोड ९० लाख मूल्य कायम गरिएको सञ्चालक प्रमोद यादवले बताए । परियोजनाभित्र सामूहिक भवन, बालउद्यान, हेल्थ क्लब, स्विमिङ पुल, खेलमैदान, ग्रसरी पसल, साउना स्टिम बाथ, पानी शुद्धीकरण गर्ने उपकरण भूमिगत तार व्यवस्थापन, व्यववस्थित पार्किङ सिसिटिभीसहित २४ घन्टा नै सुरक्षा गार्डको सुविधासहितको पूर्वाधार रहने सञ्चालक संसद यादवले बताए ।

सुझावित समाचार