रेशम चौधरीको विषयमा नश्लीय चिन्तन छ, मिडियाले पनि त्यही भाषा बोल्छ

बुधबार, २५ फागुन, २०७७
डिजिटल संस्करण

राजेन्द्र महतो, जसपा वरिष्ठ नेता

......

जसपा संसदीय दलले अन्य दलहरूसँग वार्ता गर्न कार्यदल बनाउने निर्णय गरेको छ । वार्ता कोसँग के एजेन्डामा गर्ने हो ?

हाम्रो कार्यदलले वार्ता गर्न चाहने सबै पक्षसँग वार्ता गर्छ । त्यसका आधारमा हामी समीक्षा गरेर आवश्यक निर्णय लिन्छौँ । हामीले पहिलेदेखि उठाउँदै आएका एजेन्डा वार्तामा राख्ने हो । माननीय रेशम चौधरीलगायत मधेस र थरुहट आन्दोलकारीमाथि झुटा मुद्दा लगाइएका छन् । हामी ती मुद्दा फिर्ता, बन्दी रिहाइ, संविधान संशोधनलगायतका एजेन्डा उठाउँदै आएका छौँ । यिनै विषय सम्बोधन हुने गरी हामी सबै पक्षसँग वार्ता गर्छौँ । जसरी सम्बोधन हुन्छ, त्यहीअनुसार हामी निर्णय गर्छौँ ।

संसदीय दलको बैठकबाट निर्णय गर्नुअगाडि नै अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीसँग संवाद गरेर कार्यदल बनाइसक्नुभएको रहेछ । पार्टीभित्र सल्लाह नगरी कार्यदल बनाएको विषयमा संसदीय दलको बैठकमै प्रश्न उठ्यो । संस्थागत निर्णय नगरी किन हतार गर्नुभयो ?

अन्य मुद्दाका मान्छेहरूलाई राज्यले छाड्न थालेपछि रेशम चौधरीलगायत हाम्रा साथीहरूलाई पनि छोड्नुप¥यो भनेर हाम्रा दुईजना नेता प्रधानमन्त्रीलाई भेट्न जानुभएको हो । अरू सबैलाई छाड्ने, तर हाम्रा साथीहरूलाई नछाड्ने भएपछि अचानक उहाँहरूलाई पठाइएको हो । तर, त्यहाँ सरकारका विषयमा कुराकानी भएको छैन । जबसम्म सवालहरू रहन्छन् तबसम्म पटक–पटक कुरा भइरहन्छ । हाम्रा एजेन्डा सम्बोधन गराउने प्रयास जारी रहन्छ । अहिलेचाहिँ औपचारिक वार्ता टोली नै बनाउने कुरा भएको छ । छलफलमा सहभागी दुई र थप तीनजना राखेर कार्यदल बनाउँछौँ । त्यो कार्यदलले सबै पक्षसँग वार्ता गर्छ ।

तपाईंहरूको एक प्रमुख मुद्दा रेशम चौधरीको रिहाइ हो । निर्वाचित भएको तीन वर्षसम्म चौधरी जेलमै छन् । उनी अन्यायमा परेका हुन् भने अहिलेसम्म किन छाडिएन ? यदि उनले राज्यविरुद्ध अपराध गरेका हुन् भने प्रधानमन्त्रीको पद जोगाउन र तपाईंहरू मन्त्री हुनैका लागि मात्रै कसरी छाड्न मिल्छ ? यो विषयमा प्रधानमन्त्री कसरी तयार हुनुहोला ? 

यो नश्लीय चिन्तन र सोच भएकाहरूका कारण सिर्जना भएको समस्या हो । यो देशमा आन्दोलन गरेर आएका केपी ओली आफैँ प्रधानमन्त्री । युद्ध गरेर आएका प्रचण्ड प्रधानमन्त्री बने । अनि, पहिचानका लागि आन्दोलन गर्ने थारूचाहिँ आजीवन कारावासमा ? यो औपनिवेशिक चिन्तन र सोचबाट गरिएको व्यवहार हो । नश्लवादीका लागि केही नियम नै लागू हुँदैन । कसैले बन्चरोले टाउको काटे पनि, मान्छे मारे पनि, बम पड्काए पनि रातारात छुट्दा रहेछन् । तर, रेशम चौधरी छुट्दा मिडियाले पनि त्यही भाषा बोल्छ । यो त्यही चिन्तनको औजार भएजस्तो भयो । 

प्रतिगमन गर्नेलाई प्रतिगामी भन्ने हो । के केपी ओलीलाई अग्रगामी भन्ने ? एमाले, कांग्रेस र माओवादी मिलेर प्रतिमागी संविधान निर्माण गरेका होइनन् ? त्यसलाई अग्रगामी भन्न सकिँदैन । जसले जे गर्छ त्यो त भन्नुपर्यो, तर वार्ताको ढोका त बन्द हुँदैन ।

प्रधानमन्त्रीसँग लगातार भेटहरू भएका छन् । यसमा पहिले नै केही अनौपचारिक सहमति भएर अहिले औपचारिकता मात्रै पूरा गर्न खोज्नुभएको हो कि ?

होइन, त्यस्तो कुनै निर्णय भएको छैन । केपी ओली र उनको सरकारले हाम्रा मागहरूबारे हजारपटक अनौपचारिक सहमति गरिसके । त्यही भएर हामीले सरकार बनाउँदा ओलीलाई समर्थन दियौँ । उपेन्द्र यादवजी एकपटक सरकारमा पनि जानुभयो । अब ओलीलाई हामीले चिनिसकेका छौँ । अनौपचारिक सहमति मात्रै गरेर केही पनि हुँदैन । जबसम्म माग सम्बोधन हुँदैन, त्यतिवेलासम्म कुनै सहमतिले काम गर्दैन । कुरा जति गरे पनि काम भएन भने विश्वास रहँदैन । मुद्दा सम्बोधन गर, मुद्दा सम्बोधन नगरेसम्म कोहीसँग केही पनि हुनेवाला छैन । 

सरकार गठन हुँदा तपाईंहरूले पनि समर्थन गर्नुभएको थियो, पछि फिर्ता लिनुभयो । तपाईंहरूको मुद्दाको अवस्था अहिले के छ ?

केही परिवर्तन भएको छैन । हामीलाई उहाँहरूले केही गर्नुहुन्छ भन्ने विश्वास र भरोसा पनि छैन । तैपनि लोकतन्त्रमा पटक–पटक वार्ता गरिन्छ । सरकारले वार्ताका लागि बोलायो भने वार्ता गर्दा के फरक पर्छ र ? तर, विगतको जुन अनुभव छ, त्यसले वार्ताको आधारमा मात्रै केही पनि हुँदैन भन्ने सिकाएको छ ।

तर, यहीबीचमा तपाईंहरू सत्ताको खेलमा प्रवेश गर्दा त्यसको सन्देश के जान्छ ?

सत्ताको कुरै भएको छैन । मिडियामा मात्रै यो विषय आइरहेको छ । छलफल त मुद्दामा मात्र भइरहेको छ । राजनीतिक मुद्दा सम्बोधन भएपछि सत्तासाझेदारीको कुरा पनि हुन्छ । पहिले मुद्दा सम्बोधन, त्यसपछि सत्ता । त्यसो हुँदैन भने सत्ताको कुरा गर्नु बेकार छ । 

दुईतिहाइ हुँदा संविधान संशोधन गर्ने आधार थियो । त्यसवेला मधेसका मुद्दा हल गर्ने विषयमा सहमति हुन सकेन । अहिले जसोतसो बहुमत जुटाउने कुनै पनि सरकारले संविधान संशोधनको मुद्दा कसरी हल गर्ला ?

बेइमानका लागि जबान केही होइन, चोरका लागि ताला केही होइन । बेइमानलाई के भन्न सकिन्छ ? विगतमा सरकारले हामीसँग बेइमानी गरेकै हो । त्यसबाट हामीले सिकेका छौँ । त्यसैले त हामीले पहिले मागहरू सम्बोधन हुनुपर्छ भनेका छौँ । कसरी गर्ने, के गर्ने भन्ने त सम्बोधन गर्ने पक्षले नै विश्वसनीय उपाय देखाउने हो ।

अहिलेकै सरकारमा सहभागी हुने अवस्थामा पार्टीले सर्वसम्मत निर्णय लिन्छ कि बहुमत–अल्पमतमा जान्छ ? कि विभाजनकै अवस्था पनि आउन सक्छ ?

जे निर्णय हुन्छ, पार्टीले सर्वसम्मत रूपमा लिन्छ । पार्टीको मुद्दा सम्बोधन हुने विषय प्राथमिकतामा रहन्छ । उधारोमा अब केही पनि हुनेवाला छैन । त्यसरी कसैलाई कुनै समर्थन वा सहयोग हुँदैन, सरकारको विषय त धेरै टाढा छ । विगतमा गरेको गल्ती जसपाले अबचाहिँ गर्दैन । विभिन्न कालखण्डमा ठगिएका छौँ । जसपा वैकल्पिक शक्ति निर्माणका लागि बनेको हो । त्यसका लागि जनताको विश्वास गुमाउनुहुँदैन भन्ने मान्यतामा हामी पुगेका छौँ । त्यसैको आधारमा अघि बढ्छौँ ।

तपाईंहरूले भनेजस्तो भयो र ओली सरकारलाई समर्थन गर्नुभयो भने त्यो सरकारको आयु कति लामो हुन्छ ? छिटो चुनाव हुन्छ वा दुई वर्षसम्म जान्छ ?

त्यो विषयमा हामीलाई थाहा हुँदैन । हाम्रो लक्ष्य भनेको जसले काम गर्छ उसैसँग सहकार्य गर्ने हो । उसको आयु के हुन्छ भन्ने हाम्रो चासोको विषय होइन ।

सरकारले ल्याएको संवैधानिक अध्यादेशविरुद्ध संसद्मा विरोधपत्र दर्ता गर्नुभएको छ । त्यही सरकारमा सहभागी हुने गरी वार्ता पनि गरिरहनुभएको छ । यो त विरोधाभास भएन ?

प्रतिगमन गर्नेलाई प्रतिगामी भन्ने हो । के केपी ओलीलाई अग्रगामी भन्ने ? एमाले, कांग्रेस र माओवादी मिलेर प्रतिमागी संविधान निर्माण गरेका होइनन् ? त्यसलाई अग्रगामी भन्न सकिँदैन । जसले जे गर्छ त्यो त भन्नुप¥यो, तर वार्ताको ढोका त बन्द हुँदैन । यही देशको सरकारले मुद्दा सम्बोधन गर्ने हो, वार्ता पनि त्यसैसँग हुने हो र सहकार्य पनि तिनै पार्टीसँग हुने हो । यो राजनीतिक प्रक्रिया नै हो ।

नेपालमा राजनीतिक हलचल भएको वेला तपाईंका अध्यक्ष महन्थ ठाकुर भारतको लामो भ्रमण गरेर आउनुभयो । त्यहाँ रहँदा उहाँले राजनीतिक भेट पनि गर्नुभयो होला । कस्ता भेटघाट भएका थिए, अहिलेको विकसित राजनीतिक घटनाक्रमसँग त्यसको कुनै सम्बन्ध छ ?

उहाँ स्वास्थ्य उपचारका लागि जानुभएको हो । उहाँको नियमित उपचार गराइराख्नुपर्छ । लकडाउनले गर्दा लामो समय जान पाउनुभएको थिएन, ढिलो भइसकेको थियो । त्यसैका लागि जानुभएको हो । राजनीतिक भेटघाट भएको जानकारी मलाई भएन । 

सुझावित समाचार