कोरोना महामारीले उग्र रूप लिँदै गएपछि रोग नियन्त्रण गर्न अपनाइएका कदमले प्रत्यक्ष अन्तर्क्रिया उलेख्य रूपमा अवरुद्ध भयो । कैयौँ देशमा कोरोना नियन्त्रण गर्न लकडाउन गरिएका थिए । यस अवधिमा इन्टरनेट सञ्चारको प्रमुख माध्यम बनेर अगाडि आयो । इन्टरनेटको व्यापक प्रयोगमाझ अन्तरव्यक्ति सम्बन्धमा इन्टरनेटको भूमिकाबारे चर्चा परिचर्चा पनि सुरु भएको छ ।
एकातर्फ इन्टरनेट सम्बन्ध विकास गर्ने सस्तो र प्रभावकारी माध्यम हो । अर्कोतर्फ यो माध्यम खण्डित सूचनाले भरिएका छन् । त्यसैले कुनै एउटा व्यक्तिको पहुँचमा पुग्ने सूचनाले समग्र तस्बिर निर्माण गर्न सक्दैन । महामारीले सामाजिक दूरीलाई अत्यावश्यक बनाइरहँदा इन्टरनेट आंशिक रूपमा सहयोगी र आंशिक रूपमा हानिकारक देखियो । तत्कालै सञ्चार सम्पर्क जोड्ने इन्टरनेटको सहयोगी भूमिका रह्यो भने अत्यधिक टुक्रे सूचना र अर्धसत्यमार्फत इन्टरनेटले सहजै झुटो समाचार फैलाउन सम्भव पनि गरायो ।
पछिल्लो अध्ययनमा चीनमा ९४ करोड इन्टरनेट प्रयोगकर्ता रहेको पाइएको छ । यो संख्या विश्वको कुल इन्टरनेट प्रयोगकर्ताको संख्याको पाँचमा एक भाग हो । ठूलो संख्याको इन्टरनेट प्रयोगकर्ता रहेको चीनमा महामारीको समयमा इन्टरनेटमा आधारित समाजिकीकरणमा कैयौँ ठूला परिवर्तन देखिए । सामाजिक गतिविधिका विभिन्न नयाँ प्रकार उदय भएको देखिएको छ ।
यो कठिन समयमा इन्टरनेटले मानिसलाई आफ्नो भावना व्यक्त गर्ने र अरूप्रति करुणा व्यक्त गर्ने अवसर दियो । तर, पछिल्लो समय इन्टरनेटका सकारात्मक प्रभावलाई नकारात्मक प्रभावले थिच्न थालेको हो कि भन्ने पर्न थालेको छ । यसका केही पक्ष यहाँ चर्चा गरिएका छन् । पहिलो त साइबरस्पेसमा वाक् स्वतन्त्रताको खिल्ली उडेको छ । मानिसहरू छद्म नाम राखेर निर्दोष व्यक्तिविरुद्ध मौखिक तथा शाब्दिक आक्रमण गरिरहेका छन् । परिचय स्पष्ट नहुने हुनाले यस अपराधबाट दोषी सजिलै उम्कन सक्छन् ।
इन्टरनेटमा सत्यतथ्यभन्दा पनि भावना तथा आवेग बढी आकर्षक देखिन्छ । इन्टरनेट प्रयोगकर्ता कुनै व्यक्ति वा घटनाको यथार्थ बुझ्नेभन्दा पनि आक्रोश व्यक्त गरिहाल्ने मुडमा देखिन्छन् । यो कुरा कोरोना महामारीको हकमा पनि लागू भयो ।
कुनै व्यक्तिका सामान्य कमजोरी इन्टरनेटमा सार्वजनिक हुँदा उनीहरूलाई भित्तामा पुग्ने गरी खेदो खनिन्छ । यसले ती व्यक्तिको मानसिकतामा पार्न सक्ने असरबारे कुनै मतलब गरिँदैन । दोस्रो, इन्टरनेटमा आधारित सामाजिक मिडियाले अर्को खालको मानसिक समस्या वृद्धि गराइरहेको छ ।
सामाजिक सञ्जालमा आफ्ना परिचितहरूले गरेको पोस्टसँग तुलना गर्ने प्रवृत्ति धेरैमा देखिन्छ । यसले हीनताबोध तथा सोसल एन्जाइटी बढाएको छ । सामाजिक मिडियाका लाइक, कमेन्ट, सेयर तथा रिट्विटजस्ता फिचरले मानिसलाई साइबर स्पेसमा आफू ‘सेन्टर अफ एटेन्सन’मा रहेछु भन्ने भ्रममा पार्छ । धोरै लाइक, कमेन्ट आउने प्रयोगकर्ताहरूले आफूलाई अपमानित महसुस गर्ने गर्छन् । परिणामस्वरूप उनीहरूमा आफूलाई कसैले वास्ता नगर्ने भाव उत्पन्न हुन्छ । यस्तो भावना लामो समय रहँदा प्रयोगकर्ताको मानसिक स्वास्थ्यमै असर पर्न थाल्छ । उनीहरू बिस्तारै अनलाइन माध्यमबाट सञ्चार बन्द गर्न सक्छन् ।
तेस्रो, प्रयोगकर्तामा इन्टरनेटमा सही तथा गलत सूचनाबीच भिन्नता छुट्याउने धैर्यता देखिँदैन । यसले ठूलो संख्याका इन्टरनेट प्रयोगकर्ता अपूर्ण सूचना र प्रायोजित समाचारको साक्षात्कार गर्न बाध्य हुन्छन् । यसले षड्यन्त्र सिद्धान्त फैलिने, गलत राजनीतिक समाचार फैलिने डर हुन्छ । यही महामारीको समयमा कोभिड–१९ सम्बन्धी धेरै गलत सूचना इन्टरनेटका कारण फैलियो । अन्तिममा, इन्टरनेटमा सत्यतथ्यभन्दा पनि भावना तथा आवेग बढी आकर्षक देखिन्छ ।
इन्टरनेट प्रयोगकर्ता कुनै व्यक्ति वा घटनाको यथार्थ बुझ्ने भन्दा पनि आक्रोश व्यक्त गरिहाल्ने मुडमा देखिन्छन् । यो कुरा कोरोना महामारीको हकमा पनि लागू भयो । सुरुमा कोरोना भाइरसबारे पर्याप्त तथ्य अभाव रहेको समयमा यसबारे कैयौँ हल्ला फैलिए । यसमा इन्टरनेट सबैभन्दा ठूलो सहयोगी बन्यो । यहाँसम्म कि कोरोना भाइरसको उद्गमस्थलबारे गलत हल्लासमेत फैलिन पुग्यो । यो हल्लाले विश्वभर चीनप्रति नकारात्मक धारणा विकास हुन पुग्यो ।
महामारीमा इन्टरनेटले मानिसको सम्बन्धलाई कसरी प्रभाव पार्छ भन्ने कुरा इन्टरनेटको प्रयोगसँग जोडिएको छ । तत्कालै मानिसबीच संवाद सम्भव गराउने इन्टरनेट आपसी समझदारी निर्माणमा पर्खाल बनेको पनि धेरै उदाहरण देखिन्छन् । आपसी समझदारी विकास गर्ने गरी इन्टरनेटको प्रयोग गर्ने हो भने सत्यलाई जोड दिनुपर्छ । तर, सत्य मात्र प्रत्याभूत गर्न असम्भव छ ।
(लेखक सान्दोङ विश्वविद्यालयमा आबद्ध छन्) ग्लोबल टाइम्सबाट