अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि अमेरिकी प्रतिबन्धको अर्थ

आइसिसीविरुद्ध पछिल्लो अमेरिकी प्रतिबन्ध सो अदालतमाथि उसले चाल्दै आएको शृंखलाको पछिल्लो कडी मात्र हो

सोमबार, २६ असोज, २०८३
प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)का एकजना पूर्वन्यायाधीशलाई नोवेल शान्ति पुरस्कार प्रदान गरिएको केही घण्टापछि अमेरिकाले सो अदालतमाथि प्रतिबन्ध घोषणा गरेको छ । शुक्रबार दक्षिण अफ्रिकी न्यायाधीश नाभानेथम ‘नाभी’ पिल्लेलाई सो पुरस्कार विजेता घोषणा गरिएको थियो ।

उनी हाल हेगमै रहेको ‘अन्तर्राष्ट्रिय न्यायालय (इन्टरनेसनल कोर्ट अफ जस्टिस अर्थात् आइसिजे)’मा न्यायाधीश छिन् । पुरस्कारप्रदायक संस्था नोवेल समितिका अध्यक्ष जोर्गेन डब्लु फ्राइड्नेसले पुरस्कार घोषणा गर्दा अन्तर्राष्ट्रिय कानुनको प्रणाली ‘अत्यधिक दबाबमा’ रहेको समयमा त्यस्ता संस्थाप्रति समर्थन जनाउन पनि पिल्लेलाई पुरस्कार प्रदान गरिएको बताएका थिए । 

शुक्रबार, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आइसिसीलक्षित प्रतिबन्धको पछिल्लो शृंखला घोषणा गरे । यसपटकको प्रतिबन्ध विशेष गरी अदालत स्वयंमा केन्द्रित छ । आइसिसी सन् २००२ मा युद्ध अपराध, नरसंहार र मानवताविरुद्धका अपराधविरुद्ध मुद्दा चलाउन स्थापना गरिएको थियो । ‘हामी यो अंकुशहीन अदालतसँगको कारोबारमा रोक लगाउनेछौँ । उनीहरूको स्रोत बन्द गर्नेछौँ । र, हामीविरुद्ध काम गर्ने उनीहरूको क्षमतालाई कमजोर बनाउनेछौँ । अमेरिका र अमेरिकी जनता यो नक्कली आइसिसीको क्षेत्राधिकारभित्र पर्दैनन्,’ रुबियोले प्रतिबन्ध घोषणा गर्दा भनेका छन् । 

ट्रम्प प्रशासन पहिले पनि आइसिसीले सदस्यता नभएका देशमाथि पनि कारबाही अघि बढाएर आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर काम गरेको आरोप लगाउँदै आएको छ । सन् २०२४ मा, गाजामा युद्ध अपराधका लागि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र पूर्वरक्षामन्त्री योभ ग्यालेन्टविरुद्ध पक्राउपुर्जी जारी गर्दा ट्रम्प प्रशासनले सो अदालतको आलोचना गरेको थियो । यसअघि अदालतले अफगानिस्तानमा अमेरिकी सैनिकको गतिविधिविरुद्ध पनि अनुसन्धान सुरु गरेको थियो । 

अमेरिका र इजरायल ‘रोम विधान’का पक्षधर राष्ट्र होइनन्, जुन सन्धिले अदालतको क्षेत्राधिकार निर्धारण गर्छ । यद्यपि, यस सन्धिमा सामेल नभएका देशका नागरिकले आइसिसीको क्षेत्राधिकारभित्र पर्ने क्षेत्र वा देशमा कुनै दुव्र्यवहार वा अपराध गरे अभियोजनको सामना गर्नुपर्ने हुन सक्छ । पछिल्लो प्रतिबन्ध आइसिसीविरोधी अमेरिकी अभियानको पछिल्लो कडी मात्र हो । यसअघि अमेरिकाले आइसिसीका दर्जनौँ न्यायाधीश र अभियोजकदेखि अन्य अधिकारीमाथि प्रतिबन्ध लगाएको थियो । 

पछिल्लो प्रतिबन्धको व्यावहारिक अर्थ : अदालतलाई लक्षित गरी लगाइएका यी प्रतिबन्धका कारण सो अदालतलाई सेवा प्रदान गर्ने कुनै पनि सेवाप्रदायक पनि कारबाहीको दायरामा पर्न सक्छन् । यसले अमेरिकामा रहेका आइसिसीको सम्पत्ति पनि रोक्का गर्नेछ । तथापि, अदालतसँग भइरहेका लेनदेन टुंग्याउन अमेरिकी कम्पनीलाई ६ महिनाको समय दिइएको छ । साथै, केही विशेष कारोबारका लागि थप लामो समय छुट दिन सकिने उल्लेख छ ।

लन्डनस्थित ‘मिडिलसेक्स विश्वविद्यालय’मा अन्तर्राष्ट्रिय कानुन पढाउने प्राध्यापक विलियम साबासका अनुसार अमेरिकाले यस्तै कदम चाल्न सक्ने अनुमानमा आइसिसीले पछिल्लो एक वर्षभन्दा बढी समयदेखि ‘वैकल्पिक योजना’मा काम गरिरहेको थियो । यसमा अमेरिकी कम्पनीका सफ्टवेयरको सट्टा युरोपेली विकल्प अपनाउने र अमेरिकासँग व्यापार गर्ने बिमा कम्पनी ‘एक्सा’सँगको सम्बन्ध अन्त्य गर्नेजस्ता उपाय समावेश छन् ।

‘यी कदमको प्रभावकारिता अब परीक्षण हुनेछ । जे भए पनि अमेरिकी प्रतिबन्धका कारण आइसिसीले जटिल अवस्था भोग्नुपर्नेछ,’ प्राध्यापक साबासले भने । आइसिसीमाथि प्रतिबन्ध लगाउने ट्रम्प सरकारको कदमप्रति अमेरिकाका मित्र शक्तिहरूले नै असन्तुष्टि जनाएका छन् । बेलायत, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, क्यानडा र जापानका विदेशमन्त्रीले यी प्रतिबन्धसँग आफूहरू ‘पूर्ण रूपमा असहमत’ रहेको बताएका छन् ।

साथै, तिनले यस कदमले आइसिसीमा पर्ने गम्भीर प्रभावबारे चेतावनी दिएका छन् । उता नेतन्याहुले भने सामाजिक सञ्जालमार्फत ट्रम्पको कदमका लागि धन्यवाद दिए । ‘ट्रम्पले खासमा अमेरिकी र इजरायली युद्धअपराधीलाई सुरक्षाका लागि यस्तो कदम चालेका हुन्,’ येल विश्वविद्यालयका वरिष्ठ फेलो तथा ‘ह्युमन राइट्स वाच’का पूर्वकार्यकारी निर्देशक केनेथ रोथले अलजजिरालाई बताए । 

अमेरिकाले आइसिसीलाई निसाना बनाएर कानुनको शासनमाथि खतरा उत्पन्न गरिदिएको केहीले चिन्ता व्यक्त गरेका छन् । तिनका अनुसार विधिको शासनको प्रत्याभूतिका लागि अन्तर्राष्ट्रिय अदालत र न्यायाधीकरण प्रतिबन्धको धम्कीविना सञ्चालन हुन सक्नुपर्छ । तथापि, राष्ट्रपति ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता अमेरिकाले पटक–पटक अन्तर्राष्ट्रिय कानुनलाई बेवास्ता गरेको छ ।

फेब्रुअरीमा इजरायलसँग मिलेर इरानमा गरिएको संयुक्त आक्रमणका क्रममा अमेरिकी कानुन तथा राष्ट्रसंघको बडापत्रको धारा २(४) दुवैको उल्लंघन भएको पर्यवेक्षकले बताएका थिए । त्यसअघि जनवरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई उनको निवासबाटै अमेरिकी सेनाले गरेको अपहरणको पनि निन्दा गरिएको थियो ।

ट्रम्प प्रशासनले पछिल्लो समय क्यारेबियन सागर र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न भएको आरोपमा कैयौँ डुंगामाथि आक्रमण गर्दै आएको छ । यसमा २०० भन्दा बढी मानिस मारिएका छन् ।

राष्ट्र संघका मानव अधिकारविज्ञहरूले यस्ता कारबाहीलाई ‘गैरन्यायिक र गैरकानुनी’ भएको बताउँदै आएका छन् । त्यसबाहेक ट्रम्पले दोस्रो कार्यकाल सम्हालेयता अमेरिकाले विभिन्न अन्तर्राष्ट्रिय संगठन र सम्झौताबाट आफूलाई अलग गरिसकेको छ । तिनमा पेरिस जलवायु सम्झौताबाट बाहिरिनेदेखि लिएर हालसालै विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्रसंघ मानव अधिकार परिषद्बाट बाहिरिने कदम समावेश छन् । 
(म्याग्युएर मध्यपूर्व, द्वन्द्व, भूराजनीति र मानव अधिकारमाथि कलम चलाउँछिन्) अलजजिराबाट

सुझावित समाचार