नेपालले माघ १६ गतेलाई ‘सहिद दिवस’ मनाउने गरेको छ । सहिद सप्ताह भनेर माघ १०–१६ गतेसम्म विभिन्न कार्यक्रम गरिन्छन् । अमर सहिद शुक्रराज, धर्मभक्त, गंगालाललगायतका सहिदको सालिकमा फूलमाला लगाइदिएर, एक मिनेट मौनधारण गरेर, सहिदहरूको जयजयकार गर्दै एकैछिन सहर परिक्रमा पनि गरिन्छ र त्यसपछि सभा गरेर सहिदको गुण बखान गर्दै भाषण गरिन्छ । हरेक वर्ष सत्ताले सहिद दिवस यसरी नै मनाउँछ । किनकि, हाम्रो लाचार सत्ता राजनीतिले सहिद दिवसलाई एउटा कर्मकाण्डका रूपमा मात्रै अँगालेको छ । सरकार सहिदप्रतिको आफ्नो दायित्व एक दिन सहिद दिवस मनाएर सकिएको ठान्छ । त्यसपछि वर्षदिन बिर्सिदिन्छ– सहिद र सहिदको बलिदानीलाई ।
आज हामीले बाँचेको युग तिनै सहिदको बलिदानीले प्राप्त भएको हो । हामीले प्राप्त गरेको स्वतन्त्रा र हक–अधिकार सहिदकै बलिदानीको उपज हो । शासक र सत्ता त सधैँ क्रूर हुन्छ । उसलाई नागरिकको स्वतन्त्रता मन पर्दैन । आज हामीलाई प्राप्त स्वतन्त्रा तिनै सहिदको रगतको मूल्यमा आएको हो ।
नेपालका नेतागण एवं विशिष्ट व्यक्तिहरूले देशका निम्ति बलिदानी गरेका सहिदप्रति आफ्नो दायित्व निभाएका छन् त ? सहिदहरूले निरंकुश शासक एवं सत्तासँग नागरिक अधिकारका निम्ति लडेर जीवनका आहुति दिएकैले आज हामी निर्धक्कसित बोल्ने अधिकार उपभोग गर्न पाइरहेका छौँ । तर, ती अमर योद्धाहरूले सम्याएर बनाएको आँगनमा नाच्न पाएर रमाइरहेका, ओहोदा ओगट्न पाएका मन्त्री, नेतागण एवं उच्चपदस्थहरूले सहिदहरूको रगतको मूल्य यतिकैले चुकाएको ठहर्छ ?
सहिद बलिदानको नाउँ हो, त्याग र देशभक्तिको उच्चतम नमुना हो । सहिदले समस्त नागरिकको हकहितका लागि अन्याय र शोषणका विरुद्ध आवाज उठाएर आफ्नो प्राणको आहुति दिएका हुन् । सच्चाइ र बहुजन हितका लागि अत्याचारको विरुद्धमा निडरतापूर्वक आवाज बुलन्द गरेर त्याग र उत्सर्गको मार्गलाई सहिदले उजागर गरेका छन् ।
सहिदले आउने पिँढीलाई सधैँ मुक्ति र स्वतन्त्रताको मार्गदर्शन गरिरहेका हुन्छन् । यसर्थ, सहिदको अर्थ मृत्यु होइन, अमरता हो । यहाँ मानिस बाँचेर पनि मरेसरह छन्, सहिद मरेर पनि अमर हुन्छन् ।
यही कारण सहिद सधैँ अमर हुन्छ । सहिदको जयजयकार हुन्छ, तर शासक र शासकको वरिपरि ढाकेर बस्ने स्वार्थी मण्डली जहिले पनि घृणाको पात्र बनिरहन्छ, पुस्तौँपुस्तासम्म, शताब्दीयौँसम्म । सहिदहरू इतिहासको पानामा र मानिसको सम्झनामा अमर रहन्छन् । सहिदले आउने पिँढीलाई सधैँ मुक्ति र स्वतन्त्रताको मार्गदर्शन गरिरहेका हुन्छन् । यसर्थ, सहिदको अर्थ मृत्यु होइन, अमरता हो । यहाँ मानिस बाँचेर पनि मरेसरह छन्, सहिद मरेर पनि अमर हुन्छन् ।
देश र जनताका निम्ति जीवन आहुति दिनेहरू सहिद हुन् भने ०४६ साल, ०६२/६३ साललगायतका आन्दोलनका दौरान प्रहरीको निर्घात कुटाइ र बन्दुकको गोली लागेर अपांग र अशक्त बनेका जीवित व्यक्तिहरूचाहिँ जिउँदा सहिद हुन् । हामीले तिनको पनि सम्मान गर्नुपर्छ । अन्याय र अत्याचारका विरुद्ध लड्नेहरू मारिइसकेपछि मात्र सहिद बनाउने परम्परालाई सुधार्नुपर्ने देखिन्छ । यस्ता जिउँदा सहिदको देखभाल, औषधोपचार राष्ट्रिय कोषबाट व्यहोर्ने व्यवस्था मिलाउनुपर्छ । ती जीवित योद्धाको जीविका र सम्मानमा कमी आउन नदिन ऐन नियममै व्यवस्था गरिनुपर्छ । जुनै दलको सरकार बने पनि उनीहरूलाई दलगत दृष्टिकोणले हेर्ने हुनुहुँदैन । सहिदका छोराछोरीको शिक्षा–दीक्षा एवं लालनपालनको व्यवस्था राष्ट्रिय कोषबाटै गरिने व्यवस्था हुनुपर्छ । यस्ता योद्धाको जीवन दुर्दान्त हुने अवस्थाको अन्त्य हुन जरुरी छ । यसो भयो भने मात्रै सहिद दिवस मनाउनुको सार्थकता हुनेछ । देशले सहिदको सम्मान गरेको हुनेछ ।
अहिले हामीले प्राप्त गरेको समावेशी लोकतन्त्र र गणतन्त्रका खातिर लडेर घाइते भई अपांग जीवन बिताइरहेका वीर योद्धाहरू अहिले हातमुख जोर्न अर्काको मुख ताक्न विवश छन् । औषधोपचारको खर्च नभएर ओछ्यानमा थलिरहन बाध्य छन् । यिनै योद्धाको रगतले नेता÷मन्त्री बनिरहेकाहरूले उनीहरूप्रति आफ्नो दायित्व निभाएका खोइ ? सहिद दिवसका दिन आन्दोलन र बलिदानको देखावटी बखान गरेर अरू दिन उनीहरूलाई बिर्सिंदा सहिद तथा वीर योद्धाहरूको सम्मान हुन्छ कि अपमान ? ‘खाने चरा आशीषले बाँच्दैन’, घाइते, अपांग र अशक्त हुन स्विकारेर स्वतन्त्रताको संग्राम लडेका योद्धाको जीवन मन्त्री र नेताका भाषणका प्रशंसाले चल्दैन । उनीहरू आज एक पाइला सार्न पनि अरूको सहारा चाहिने अवस्थामा छन् ।
नेपाली जनताको हकहितका लागि आफ्नो जीवनलाई अपांग र अशक्त बनाउन स्विकारेकाहरू आज बिर्सिइएका छन् । उनीहरूको बारेमा बोलिदिने, उनीहरूलाई जिउने आधार दिलाइदिने कसले ? मानवअधिकारवादीहरूको हेर्ने दृष्टि केले छेक्यो र देख्न सकेनन् ? नागरिक समाजलाई उनीहरूको चिच्याहट किन सुनिएन । यसर्थ, यसपालिको सहिद दिवस सार्थक सहिद दिवस बन्नुपर्छ । यसपालिको सहिद दिवसले सहिदको क्रन्दन सुनोस् ।