विश्वमा कोभिड– १९ संक्रमितको संख्या दश करोड नाघ्यो

बुधबार, १४ माघ, २०७७
डिजिटल संस्करण

चीनको वुहानमा पहिलोपटक कोरोना भाइरस संक्रमण देखिएको एक वर्षमा विश्वभर यसबाट संक्रमित हुनेको संख्या दश करोड (एक सय मिलियन) नाघेको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बुधबारसम्ममा विश्वभर कोरोना संक्रमितको संख्या दश करोड आठ लाख ५३ हजारभन्दा बढी पुगेको छ । 

यो एक वर्षमा विश्वका शक्तिशाली राष्ट्रहरूले समेत कोरोना भाइरस महामारी रोक्न कर्फ्यु, यात्रा प्रतिबन्ध, लकडाउनलगायत विभिन्न हथकण्डा अपनाए । तर, कोरोना भाइरस पूर्ण नियन्त्रणमा आउन सकेको छैन । यसका कारण विश्वको अर्थव्यवस्था जीर्ण बनेको छ । जसले विश्वभर गरिबलाई झन् गरिब र अन्य प्रकारका जटिलता थप समस्याग्रस्त बनेको छ । यद्यपि, कतिपय देशका प्रमुखले कोरोना भाइरस नियन्त्रणमा प्रभावकारी कदम चालेका कारण चाँडै नै सामान्य अवस्थामा फर्किएका छन् भने कैयौँ देशले महामारीलाई सामान्य रूपमा लिँदा भयावह अवस्थासमेत आएको छ । जस्तै अस्ट्रेलिया, न्युजिल्यान्ड, चीनजस्ता देशले कोरोना महामारीबाट खासै धेरे मानवीय क्षति व्यहोर्नुपरेन, तर अमेरिका, ब्राजिलजस्ता देशले महामारीलाई अवमूल्यन गर्दा ठूलो मानवीय क्षति व्यहोर्नुपरेको छ ।  

विश्वमा २१ लाख ६७ हजारभन्दा बढी मानिसले कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमाइसकेका छन् । सात करोड २८ लाखभन्दा बढी व्यक्ति संक्रमणमुक्त पनि भएका छन् 
हुन त यस महामारी नियन्त्रणका विभिन्न प्रयास भइरहेकै छन् । पछिल्लो समय विभिन्न कम्पनीले भाइरसविरुद्ध उपयोगी हुने भ्याक्सिनको समेत विकास गरेको छ । अमेरिका, बेलायत, दक्षिण अफ्रिका, ब्राजिलजस्ता देशले आफ्ना नागरिकलाई भ्याक्सिन लगाउनसमेत सुरु गरिसकेको छन् । खोप लगाइरहेका देशका नागरिकमा पनि यसको अन्योल हटेको भने छैन । उनीहरूमा कोरोना भाइरससँगै खोपप्रतिको अन्योल पनि थपिएको छ । जोन अप्किन्स विश्वविद्यालय, ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका सहायक प्रोफेसर केनलिन रिवरका अनुसार यसै कारण पनि कोरोना संक्रमित थपिने क्रम रोकिएको छैन ।  

कोभिड हराउ अभियान
हालसम्म अमेरिकामा कोरोना महामारीको असर सबैभन्दा बढी परेको छ । यहाँ दुई करोड ५० लाखभन्दा पनि बढी नागरिक संंक्रमित भइसकेका छन् । विश्वमा कोरनाबाट मृत्युका भएका कुल संख्याको एक चौथाइ अमेरिकाका मात्रै छन् । यहाँ हालसम्म चार लाख २४ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् । 

कोरोना भाइरस संक्रमण दर बढ्दो अवस्थालाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले यसलाई चाँडै नै नियन्त्रणमा ल्याउने प्रतिबद्धता जनाएका छन् । मंगलबार अयोजित पत्रकार सम्मेलनमा उनले चाँडै नै २० करोड डोज खोप किन्ने घोषणा पनि गरे । उनले भने, ‘कोभिडलाई निस्तेज पार्नु हाम्रो कर्तव्य हो र हामी चाँडै नै यसलाई हराउनेछौँ ।’

अमेरिकापछि विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमित भएको देश भारत हो । यहाँ साढे एक करोडभन्दा बढी व्यक्ति हालसम्म संक्रमित भइसकेका छन् भने एक लाख ५३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । तेस्रो स्थानमा ब्राजिल रहेको छ । यहाँका ८० लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भइसकेका छन् । कोरोना संक्रमणकै कारण एक वर्षयता ज्यान गुमाउनेमा ब्राजित दोस्रो स्थानमा छ । यहाँ हालसम्म दुई लाख १७ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् ।

सुझावित समाचार