नोबेल विजेता र उनीहरूका योगदान

शनिबार, २४ असोज, २०८३
प्रिन्ट संस्करण
  • शान्ति पुरस्कार विजेता भारतीय मूलकी ८५ वर्षीया नवी पिल्लेले रंगभेदविरोधी नेता नेल्सन मन्डेला र अन्य अभियानकर्मीको पक्षमा प्रतिरक्षा वकिलका रूपमा काम गरेकी छिन् । उनी दक्षिण अफ्रिकाको उच्च अदालतमा सेवा गर्ने पहिलो अश्वेत महिला पनि हुन् ।

नोबेल समितिले एक सातादेखि यस वर्ष विभिन्न विधामा पुरस्कार पाउने विजेताको नाम घोषणा गरेको छ । सोमबार चिकित्साशास्त्रतर्फको घोषणासँगै नोबेल पुरस्कार सप्ताह सुरु भयो र त्यसपछि क्रमशः भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्ति विधाका पुरस्कार घोषणा गरिए । अर्थशास्त्रतर्फको नोबेल पुरस्कारको घोषणा भने अक्टोबर १२ मा गरिनेछ । विजेताहरूले एक करोड स्विडिस क्रोनर (करिब नौ लाख अमेरिकी डलर) बराबरको नगद पुरस्कार प्राप्त गर्नेछन् र यो पुरस्कार नोबेल पुरस्कार दिवसका अवसरमा १० डिसेम्बरमा प्रदान गरिनेछ ।

नोबेल पुरस्कारको स्थापना स्विडेनी वैज्ञानिक अल्फ्रेड बर्नहार्ड नोबेलले गरेका थिए । उनी रसायनशास्त्री, आविष्कारक, इन्जिनियर र व्यवसायी थिए । उनी डाइनामाइटको आविष्कारका साथै नोबेल पुरस्कार स्थापना गर्न आफ्नो सम्पत्ति दान गर्ने व्यक्तिका रूपमा समेत चिनिन्छन् । उनले आफ्नो सम्पत्ति ‘अघिल्लो वर्षको अवधिमा मानवजातिलाई सबैभन्दा ठुलो योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्न’ पुरस्कार घोषणा गरेका थिए । डिसेम्बर १० नोबेलको पुण्यतिथि हो । पहिलो आधिकारिक नोबेल पुरस्कार सन् १९०१ को डिसेम्बर १० मा पाँच विधामा प्रदान गरिएको थियो । अर्थशास्त्रतर्फको नोबेल भने सन् १९६९ देखि वितरण गरिँदै आएको छ । यस आलेखमा यस वर्ष नोबेल पुरस्कार पाउने व्यक्ति, उनीहरूको पृष्ठभूमि र अघिल्लो वर्ष उनीहरूले गरेका योगदानको चर्चा गरिएको छ ।

नवी पिल्ले (शान्तितर्फ)
यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायविद् नाभनेथम ‘नवी’ पिल्लेलाई प्रदान गरिने भएको छ । शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै पिल्लेलाई प्रतिष्ठित पुरस्कार प्रदान गरिने भएको नोबेल कमिटीले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्र संघकी मानव अधिकारसम्बन्धी पूर्वप्रमुख पिल्लेले युद्ध अपराध, मानवताविरुद्धका अपराध र नरसंहारमा दोषीलाई कानुनी कठघरामा ल्याउने कार्य सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको नोबेल कमिटीले ठहर गरेको छ ।

‘लामो समययता विश्वमा युद्ध र द्वन्द्व बढिरहेको र अस्तित्वकै लागि चुनौती खडा भइरहेको अवस्थामा अन्तर्राष्ट्रिय कानुन अब शान्ति र सुरक्षाका लागि केवल एक पूरक मात्र रहेन, यो एक अपरिहार्य आवश्यकता बनेको छ’ कमिटीले भनेको छ । समितिका अध्यक्ष जोर्गेन वाट्ने फ्राइडनेसले अन्तर्राष्ट्रिय कानुनको प्रणाली ‘अत्यधिक दबाबमा’ रहेको र यसका संस्थाहरू ‘आक्रमणको चपेटामा’ परेको बताए ।

भारतीय मूलकी ८५ वर्षीया पिल्लले रंगभेदविरोधी नेता नेल्सन मन्डेला र अन्य अभियानकर्मीको पक्षमा प्रतिरक्षा वकिलका रूपमा काम गरेकी छिन् । उनी दक्षिण अफ्रिकाको उच्च अदालतमा सेवा गर्ने पहिलो अश्वेत महिला पनि हुन् । पछि उनले रुवान्डाका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरण, अन्तर्राष्ट्रिय फौजदारी अदालत र संयुक्त राष्ट्र संघको मानव अधिकारसम्बन्धी उच्च आयुक्तका रूपमा सेवा गरिन् । वान्डा न्यायाधीकरणमा रहँदा बलात्कार र यौनहिंसालाई मानवताविरुद्धको अपराध तथा नरसंहारका रूपमा स्थापित गर्न उनले खेलेको भूमिका अतुलनीय छ ।

आफूलाई नोबेल शान्ति पुरस्कारबाट सम्मानित भएको सुन्दा सुरुमा उनलाई विश्वास लागेको थिएन, बरु ठट्टाजस्तो महसुस भयो । तर, पत्याउन करै लाग्यो । ‘वकिल र न्यायाधीश भएकाले म अझै पनि यसको आधिकारिक पुष्टि गर्न चाहन्छु,’ उनले भनिन् । एक करोड २० लाख स्विडिस क्रोनर (१२ लाख अमेरिकी डलर) बराबरको यो पुरस्कार ओस्लोमा डिसेम्बर १० का दिन प्रदान गरिनेछ ।

नाभनेथम ‘नवी’ पिल्लेको जन्म २३ सेप्टेम्बर १९४१ मा दक्षिण अफ्रिकाको नेटाल प्रान्तको डरबनको एक गरिब परिवारमा भारतीय तमिल मूलका नरैनसामी नायडू र सन्थामा नायडूको सन्तानको रूपमा भएको थियो । उनका हजुरबुबा र हजुरआमा सन् १८९० को दशकमा नेटालमा दक्षिण अफ्रिकी चिनी बगानमा काम गर्न भारतबाट गएका थिए । नरैनसामी र सन्थामाका आठ सन्तानमध्ये पिल्ले पाँचौँ सन्तान हुन् । नरैनसामी पेसाले बस चालक थिए र सन्थामा सामान्य गृहिणी ।

विद्यालय तह सकेपछि पिल्लेले युनिभर्सिटी अफ नटालमा अध्ययन गरिन्, जहाँ उनले सन् १९६३ मा ‘ब्याचलर अफ आर्ट्स र सन् १९६५ मा कानुनमा स्नातक उपाधि हासिल गरिन् । विश्वविद्यालयको पढाइपछि पिल्लेले कानुन व्यवसायीका रूपमा आफ्नो पेसागत जीवन सुरु गरिन् । उनले रंगभेदी शासनकालमा आफ्नो मानव अधिकारसम्बन्धी काम सुरु गरिन् ।

पिल्लेले सन् १९६७ मा आफ्नै ल फर्म खोलेर न्यायिक क्षेत्रमा करिअर सुरु गरिन् । गृह प्रान्त नटालमा फर्म खोल्ने पहिलो महिला हुन् । अध्ययनमा मेघावी पिल्ले सन् १९८१ मा ‘हार्वर्ड–दक्षिण अफ्रिका छात्रवृत्ति कार्यक्रम’अन्तर्गत हार्वर्ड विश्वविद्यालयमा अध्ययनका लागि छनोट भइन् र कानुनमा स्नातकोत्तर उपाधि हासिल गरिन् । सन् १९८८ मा उनले हार्वर्ड ल स्कुलबाट कानुनमा विद्यावारिधिको उपाधि हासिल गरिन् । अध्ययन र करिअरलाई सँगसँगै अगाडि बढाइन् ।

उनले सन् २००८ देखि २०१४ सम्म राष्ट्र संघको मानव अधिकारसम्बन्धी उच्च आयुक्तको रूपमा सेवा गरिन् । उच्च आयुक्तको रूपमा उनको चारवर्षे कार्यकाल १ सेप्टेम्बर २००८ मा सुरु भयो र सन् २०१२ मा यसलाई थप दुई वर्षका लागि बढाइयो । अप्रिल २०१५ मा पिल्ले ‘मृत्युदण्डविरुद्धको अन्तर्राष्ट्रिय आयोग’की १६औँ आयुक्त बनिन् । उनले अन्तर्राष्ट्रिय फौजदारी अदालतको न्यायाधीश र रुवान्डाका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणको अध्यक्षको रूपमा पनि काम गरेकी छिन् ।

सन् १९९५ मा दक्षिण अफ्रिकी न्यायिक सेवा आयोगले पिल्लेलाई उच्च अदालतको न्यायाधीशका लागि मनोनयन गरेको थियो । सन् १९९९ देखि २००३ को अवधिमा उनले रुवान्डाका लागि अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरण आइसिटिआरमा सेवा गरिन् र त्यहाँ प्रधानन्यायाधीशका रूपमा निर्वाचित भइन् । सन् २००३ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतको रोम विधानका पक्षधर राष्ट्रहरूको सभाले उनलाई आइसिसीको न्यायाधीशका रूपमा निर्वाचित गर्यो र उनले सन् २००८ सम्म पुनरावेदन इजलासको सदस्यका रूपमा सेवा गरिन् । सन् २००८ मा संयुक्त राष्ट्र संघको महासभाले मानवअधिकारका लागि संयुक्त राष्ट्र संघको उच्च आयुक्तका रूपमा उनको पदलाई अनुमोदन गर्यो । पिल्लेले अन्तर्राष्ट्रिय कानुनका संस्थालाई मजबुत बनाउन योगदान दिएकी छिन् । आफ्नो भूमिका निर्वाह गर्ने क्रममा नेताहरूलाई जवाफदेही बनाउनुका साथै द्वन्द्वपीडितमा आशा जगाएकी छिन् ।

पिल्लेले हालसालै मात्र ‘अधिग्रहण गरिएको प्यालेस्टिनी भूभाग’सम्बन्धी संयुक्त राष्ट्र संघको स्वतन्त्र अन्तर्राष्ट्रिय जाँच आयोगको अध्यक्षता गरेकी थिइन् । उनी अहिले म्यानमारमाथि नरसंहारको आरोप लागेको मुद्दामा अन्तर्राष्ट्रिय न्यायालयको न्यायाधीशका रूपमा कार्यरत छिन् ।

गत वर्ष भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई यो पुरस्कार दिइएको थियो । माचोडाले अन्ततः जनवरीमा आफ्नो पदक ट्रम्पलाई प्रदान गरिन् । नोबेल समितिले यस वर्षको शान्ति पुरस्कारका लागि २८७ जना उम्मेदवारहरूको मनोनयन प्राप्त गरेको थियो । अन्य दाबेदारमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन, सुडानका आपत्कालीन टोलीहरू, युक्रेनमा बालबालिकाको पक्षमा वकालत गर्ने अभियानकर्ताहरू र दुईवटा प्रमुख अन्तर्राष्ट्रिय अदालत समावेश थिए ।

इरानविरुद्ध जारी द्वन्द्वका बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामो समयदेखि यो पुरस्कारको चाहना राख्दै आएका छन् र आफू यसको हकदार रहेको बारम्बार बताउँदै आएका छन् । हालसम्म ११३ जना व्यक्ति र ३१ संस्था नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत भएका छन् । 

डाइसेरोथ, हेगेमान र नागेल (चिकित्साशास्त्रतर्फ)
चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘लाइट–गेटेड आयन च्यानल’ र ‘अपटोजेनेटिक्स’सम्बन्धी आविष्कारका लागि कार्ल डाइसेरोथ, पिटर हेगेमान र जर्ज नागेललाई संयुक्त रूपमा प्रदान गरियो । आयन च्यानल विशेष झिल्ली प्रोटिन हुन्, जसले आकार परिवर्तन गर्छन् र प्रकाशको विशिष्ट तरंगले खुला वा बन्द हुन्छन् ।

यी पुरस्कार विजेता जैविक–भौतिकशास्त्री, स्नायु–वैज्ञानिक र मनोचिकित्सक हुन्, जसले महत्वपूर्ण वैज्ञानिक अनुसन्धान गरेका छन् । उनीहरूलाई मस्तिष्कका तन्त्रिका कोषिकाको गतिविधि प्रकाशको माध्यमबाट नियन्त्रण गर्ने ‘अप्टोजेनेटिक्स’ प्रविधिको विकासमा योगदान पुर्याएकोमा सम्मानित गरिएको हो ।

यसअघि मस्तिष्कमा रहेका कुन कोषिका कुन कामका लागि जिम्मेवार छन् भन्ने छुट्याउन वैज्ञानिकलाई गाह्रो हुने गरेकोमा अप्टोजेनेटिक्सको विकासपछि सहज हुने भएको छ । यो प्रविधिले मस्तिष्कको कार्यप्रणाली बुझ्न, मानसिक रोगको अनुसन्धानमा सहयोग पुर्याउनुका साथै दृष्टि पुनर्स्थापित गर्ने अध्ययनमा सहयोगी सिद्ध हुने विश्वास गरिएको छ ।

५४ वर्षीय अमेरिकी नागरिक डाइसेरोथ क्यालिफोर्नियास्थित स्ट्यानफोर्ड विश्वविद्यालयमा कार्यरत छन् भने हेगेमान बर्लिनको हम्बोल्ट विश्वविद्यालयमा र नागेल जर्मनीको वुर्जबर्ग विश्वविद्यालयमा आबद्ध छन् ।

त्यस्तै, अर्का विजेता पिटर हेगेमानले हरियो लेउमा प्रकाशको पहिचानसम्बन्धी अध्ययन गरे, जसले ‘च्यानलरोडोप्सिन्स’को आविष्कारमा महत्वपूर्ण भूमिका खेल्यो । जर्मनीको मुन्स्टरमा सन् १९५४ मा जन्मिएका उनले सन् १९८४ मा म्याक्स प्लांक इन्स्टिच्युट अफ बायोकेमिस्ट्रीबाट बायोकेमिस्ट्रीमा पिएचडी हासिल गरे र सन् २००४ मा बर्लिनको हम्बोल्ट विश्वविद्यालयमा प्राध्यापक बने ।

तेस्रो विजेता जर्ज नागेलले हेगेमानसँगको सहकार्यमा च्यानलरोडोप्सिन प्रोटिनले कोषहरूमा प्रकाशप्रेरित विद्युतीय परिवर्तनलाई प्रमाणित गरे, जसले ‘अप्टोजेनेटिक्स’को आधार खडा गर्यो । जर्मनीको वाइनगार्टेनमा सन् १९५३ मा जन्मिएका नागेल अनुसन्धानकर्ताबाहेक पेसाले प्राध्यापक हुन् । उनले सन् १९८८ मा गोथे विश्वविद्यालय फ्य्रांकफर्टबाट विद्यावारिधि गरे ।

फ्रान्सिस हल्जेन (भौतिकशास्त्रतर्फ)
यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार बेल्जियन मूलका अमेरिकी वैज्ञानिक फ्रान्सिस हल्जेनलाई प्रदान गरियो । रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले आइसक्युब न्युट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान र उच्च–ऊर्जायुक्त न्युट्रिनो पत्ता लगाउने कार्यका लागि यो पुरस्कार प्रदान गरेको हो । ८२ वर्षीय हल्जेन अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सिनमा प्राध्यापक हुन् । उनी ‘आइसक्युब न्युट्रिनो अब्जर्भेटरी’मा पनि आबद्ध छन् । हल्जेन सन् १९८० को दशकदेखि नै भौतिकशास्त्रको अध्ययन तथा अनुसन्धानमा सक्रिय छन् ।

उनको टिमको अनुसन्धान र अवधारणाअनुरूफ आइसक्युब न्युट्रिनो अवलोकन केन्द्र सन् २०१० देखि अन्टार्टिकाको दक्षिण ध्रुवमा सञ्चालनमा आएको थियो । केन्द्रले न्युट्रिनोबारे अनुसन्धान गर्छ । न्युट्रिनो अत्यन्तै कम अन्तर्त्रिया गर्ने सूक्ष्म कण हुन् । यस्ता कणको अध्ययनमार्फत ब्रह्माण्डका अत्यन्त ऊर्जावान् खगोलीय घटनाबारे नयाँ जानकारी प्राप्त गर्न सकिन्छ ।

हेन्री बी कागान र केन्सो सोआई (रसायनशास्त्रतर्फ)
फ्रान्सेली वैज्ञानिक हेन्री बी कागान र जापानका केन्सो सोआईले संयुक्त रूपमा यस वर्षको रसायनशास्त्रतर्फ नोबेल पुरस्कार पाउने भएका छन् । नोबेल समितिले उनीहरूलाई जीवहरूको अस्थित्वसँग जोगिएको रासायनिक रहस्य पत्ता लगाएकाले सो पुरस्कार प्रदान गर्ने भएको हो । उनीहरूले प्रकृतिमा केही निश्चित अणुहरूको एउटा मात्र रूप किन देखिन्छ भन्ने रहस्य पत्ता लगाएका छन् । यो आविष्कार औषधि उत्पादनका लागि निकै निर्णायक मानिन्छ । रसायनशास्त्रका लागि नोबेल समितिका अध्यक्ष हेइनर लिंकेलेका अनुसार कागन र सोआईले एक शताब्दीभन्दा पुरानो रासायनिक रहस्यको समाधान गरेका छन् । उनीहरूले विकास गरेका रासायनिक प्रतिक्रिया उत्कृष्ट छन् । उनीहरूले प्राणीहरूको अस्तित्वका लागि किन ती दुई स्वरूपका अणुमध्ये एउटा मात्र उपयुक्त छ भन्ने प्रश्नको उत्तर पनि दिएका छन् ।

‘कागन र सोआईले एक शताब्दीभन्दा पुरानो रासायनिक रहस्यको समाधान प्रस्तुत गरेका छन्, ‘होमोकाइरालिटी’ कसरी स्वतः उत्पन्न हुन सक्छ भन्ने रहस्य । उनीहरूले विकास गरेका रासायनिक प्रतिक्रिया असाधारण छन्,’ रसायनशास्त्रसम्बन्धी नोबेल समितिका अध्यक्ष हाइनर लिन्केले भनेका छन् ।

सन् १९८० को दशकको सुरुतिर फ्रान्सेली रसायनशास्त्री कागनले विभिन्न प्रकारका उत्प्रेरक प्रयोग गरी रासायनिक प्रतिक्रियालाई नियन्त्रण गर्ने विधि पत्ता लगाए, जसले वैज्ञानिकलाई ‘मिरर–इमेज’ (ऐनामा देखिने प्रतिबिम्बजस्तै) अणुहरूमध्ये कुनै एकको अत्यधिक मात्रा उत्पादन गर्न सम्भव बनायो । त्यसपछि, टोकियो युनिभर्सिटी अफ साइन्समा कार्यरत जापानी वैज्ञानिक सोआईले यसै कार्यलाई आधार मानी एउटा यस्तो रासायनिक प्रतिक्रियाको विकास गरे, जसमा सम्भावित दुई रूपमध्ये एउटा मात्र रूप बन्ने गर्थ्यो ।

१५ डिसेम्बर १९३० मा फ्रान्सको बुलोन–बिलानकोर्टमा जन्मिएका कागनले ‘असिमेट्रिक सिन्थेसिस’ विधिको थालनी गरे । उनले सन् १९६० मा कलेज द फ्रान्सबाट विद्यावारिधि गरे । उनी फ्रान्सको पेरिस–सुद विश्वविद्यालय (ओर्से) का प्राध्यापक र युनिभर्सिटी अफ पेरिसका प्राध्यापक इमिरेट्स हुन् ।

सोआईको जन्म सन् १९५० मा जापानको हिरोसिमामा भएको हो । उनले सन् १९७९ मा टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन् । उनी टोकियो विज्ञान विश्वविद्यालयमा प्राध्यापक इमिरेट्स हुन् ।

एन कार्सन(साहित्यतर्फ) 
नोबेल समितिले यस वर्ष साहित्य विधातर्फको पुरस्कार क्यानडाकी एन कार्सनलाई दिने घोषणा गर्यो । उनको साहसिक तथा नवीन कृतिहरूका लागि यो पुरस्कार प्रदान गरिएको हो ।

सन् १९५० मा टोरन्टोमा जन्मिएकी कार्सन हाल मिसिगनमा बसोवास गर्छिन् । उनीसँग आइसल्यान्डको नागरिकता पनि छ । कविता लेखनसँगै उनले अनुवाद र विभिन्न विश्वविद्यालयमा अध्यापन गर्दै आएकी छिन् ।

उनले टोरन्टो विश्वविद्यालयबाट स्नातक गरिन् र सन् १९७९ देखि विभिन्न विश्वविद्यालयमा शास्त्रीय अध्ययन, साहित्य तथा सिर्जनात्मक लेखनको प्राध्यापन सुरु गरिन् । उनले क्यालगरी विश्वविद्यालय, म्याकगिल विश्वविद्यालय, मिसिगन विश्वविद्यालय, न्युयोर्क विश्वविद्यालय र प्रिन्सटन विश्वविद्यालयमा अध्यापन गरेकी छिन् । कार्सनले प्राचीन ग्रिक त्रासदी अनुवादलगायत बीसभन्दा बढी पुस्तक लेखेकी छिन् ।

कार्सनले सन् १९९० को दशकमा कैयौँ महत्वपूर्ण कृति प्रकाशित गरिन् । तीमध्ये सन् १९९५ मा प्रकाशित ‘ग्लास, आइरनी, एन्ड गड’ले एक समाजको सशक्त आवाजको प्रतिनिधित्व गर्छ । यस पुस्तकलाई न्युयोर्क टाइम्सले आफ्नो एक समीक्षामा ‘प्रभावशाली कृति’ भनेर टिप्पणी गरेको थियो । एक असाधारण (शास्त्रीय साहित्यकी विदुषी) का रूपमा परिचित कार्सनले ‘ग्लास, आइरनी एन्ड गड’मा समकालीन र प्राचीन काव्यिक धारालाई अद्भूत शैलीमा बुनेकी छिन् ।

सन् १९९८ मा उनको अर्को कृति ‘अटोबायोग्राफी अफ रेड ः अ नोभल इन भर्स’ प्रकाशित भयो । यो उपन्यास कार्सनका उत्कृष्ट कृतिमध्ये एक मानिन्छ र यसैले उनलाई चर्चित बनाएको थियो । समकालीन अंग्रेजी साहित्यमा समलिंगी पात्रको चित्रण गरिएका जटिलतम उदाहरणमध्ये यसलाई पनि एक मानिन्छ । सन् २०१० मा प्रकाशित उनको कृति ‘नक्स’को पनि निकै प्रशंसा हुँदै आएको छ । ‘नक्स’ पुस्तकको रूपमा रहेको एक शोक–स्मृति हो, जुन आफ्नो दाजुको निधनपछि लेखेकी थिइन् ।

(एजेन्सीको सहयोगमा)

सुझावित समाचार