जापानमा हिउँमा परेर १३ जनाको मृत्यु, सयौँ घाइते

मंगलबार, २८ पुष, २०७७
डिजिटल संस्करण

जापानको समुद्री तटीय क्षेत्रमा भएको बाक्लो हिमपातमा परेर कम्तीमा १३ जनाको मृत्यु भएको जापानी उद्धारकर्मीहरूले जनाएका छन् । जापानी अग्नि तथा विपत् व्यवस्थापन निकायका अनुसार उक्त घटनामा परेर दुई सय ५० भन्दा बढी व्यक्ति घाइते भएका छन् । 

स्थानीय सञ्चारमाध्यमले फुकुई प्रिफेक्चरमा ६० र ८० को आसपास उमेरका तीन व्यक्तिको मृत्यु भएको जनाएका छन् । हिउँसँग सम्बन्धित दुर्घटनामा यहाँ ४७ जना घाइते भएका छन् । यस्तै, निगाता प्रिफेक्चरमा पनि हिउँ फाल्ने क्रममा चारजनाको मृत्यु भएको छ । हिमपातले सर्वाधिक प्रभाव परेका तीनवटा प्रिफेक्चरमा उद्धार र सहायताका लागि जापानी सेनालाई पनि परिचालन गरिएको छ । 

यसबाहेक, हिमपातका कारण सडक यातायात पनि नराम्रोसँग प्रभावित भएको छ । होकुरिकु द्रुतमार्गमा एक हजार दुई सयभन्दा बढी सवारीसाधन अलपत्र परेका छन् । जापानको मौसम विभाग (जेएमए) ले प्रशान्त महासागरतर्फको पूर्वी क्षेत्रमा मंगलबारसम्म हिमपात हुने जनाएको छ । किन्की, टोकाई र शिकोकु क्षेत्रमा मंगलबार साँझसम्म पहाडी इलाकामा २० सेन्टिमिटरसम्म हिउँ पर्ने जेएमएले बताएको छ । 
 

सुझावित समाचार